माफिया जोगाउँदै वनमन्त्री

माफिया जोगाउँदै वनमन्त्री

- टेकसिंह धामी 

सुदूरपश्चिममा पछिल्लोसमय वन मास्ने र अतिक्रमण गर्ने माफियाहरुको रजगज थप मौलाएको पाइएको छ। प्रदेशका विभिन्न सामुदायिक वनमा समितिकै मान्छे र अन्यबाट पनि वन सखाप पार्न अतिक्रमण व्यापक भैरहेको पाइएको हो।

हालैमात्र कैलालीको एक घटना सार्वजनिक भएको छ। प्रदेश सरकारका वनमन्त्री रमेशसिंह धामीले नै वन अतिक्रमणकारीलाई छुट दिएर जोगाएको खुलेको हो।

समाचार स्रोतका अनुसार हिजो (मंगलबार) मात्र मन्त्री धामीले आफ्नै पार्टीका कार्यकर्तासमेत रहेका वन अतिक्रमणकारी भजनी नगरपालिका-२ आमवारीका जितबहादुर बडैलालाई मन्त्रीले जोगाएका हुन्।

बडैला सयपत्री सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्षसमेत हुन्। उनी वन अतिक्रमण गरेको अभियोगमा पक्राउ परेका थिए। तर, बडैलालाई मन्त्री धामीले मन्त्रालयमा छलफल गर्ने भन्दै आफैँ हिरासतमा पुगेर रिहा गरेको बताइएको छ।

बडैलालाई डिभिजन वन कार्यालय पहलमानपुरका कर्मचारीहरूले करिब ३ रोपनी वन क्षेत्र अतिक्रमण गरेको आरोपमा मंगलबार पक्राउ परेका थिए। त्यसपछि आवश्यक अनुसन्धान लागि सशस्त्र वन सुरक्षा शाखा (वन हिरासत) मा राख्न नपाउँदै मन्त्री धामीले उनलाई लिएर गएको स्रोतको दाबी छ।

बडैलालाई वन मन्त्रालयसँगै रहेको वन हिरासत राख्दै गर्दा मन्त्रीले निकालेर घर पठाएको बुझिएको छ। अनुसन्धान गरेर कारबाही गर्नुपर्ने व्यक्तिलाई मन्त्रीले नै रिहा गरेपछि अहिले वन कर्मचारीहरू रनभुल्लमा परेका छन्।

यता मन्त्री धामीले भने पक्राउ नगरिएको र आफैंले छलफलका लागि बोलाएको दाबी गरेका छन्। अतिक्रमणको विषयमा त्यहाँका स्थानीयको सहमतिमा कारबाही गर्ने वा नगर्ने भन्ने कुरा थाहा हुने मन्त्री धामीको भनाई छ।

उता, वन उपभोक्ता समितिका अध्यक्ष पदम चौधरीले पनि माओवादीका कार्यकर्तासमेत रहेका बडैलाले वन अतिक्रम गरेको पुष्टि गरे। राजनैतिक पहुँचका आधारमा उनले वनमा रजगज गरिरहेको अध्यक्ष चौधरीको भनाई छ। मन्त्रीले नै यसरी अतिक्रमणकारी र वन मास्ने माफियालाई संरक्षण दिन थालेपछि उनको कार्यशैलीमाथि प्रशासन उठेको छ।

टिप्पणीहरू