सुनको पदक चाहिँदैन

सुनको पदक चाहिँदैन

चीनमा एशियाली ओलम्पिक गेम भर्खरै सम्पन्न भयो । गेम चीनमा भएको थियो । गेमका अधिकांश स्वर्ण पदक चीनले नै जित्यो । आफ्नो देशमा गेम भएपछि त्यति त जित्नै प¥यो । गेममा नेपाल पनि थियो । नेपालले चाहिँ दुइटा पदक जितेको रहेछ । एउता रजक, एउटा काँस्य । स्वर्ण त एउटा पनि जितेन । नेपालले स्वर्ण नजितेकोमा खेलप्रेमीहरू दुःखी भएका होलान् । आफ्नै छिमेकी देशमा गेम भएको छ, तर एउटा स्वर्ण पनि जितेन । 

तर केही छैन । स्वर्ण जितेन भनेर कसैले पनि दुःख मनाउ नगर्दा हुन्छ । किनभने हाम्रा खेलाडीहरूले स्वर्ण नजिते पनि हामीसँग स्वर्णको कुनै कमी छैन । एउटा स्वर्ण पदकमा कति नै सुन होला र ? एक तोला पनि होला कि नहोला । तर हामी अहिले त्यस्तो तोला, दुई तोला सुन ल्याउने देश होइनौँ । हामीकहाँ त एकै लटमा सय किलो सुन आउने गर्छ त गाँठे ।

अहिले त झन् आलुको बोरामा समेत सुन आउन थालेको छ । हामीलाई सुनको कुनै कमी छैन । एअरपोर्टमा अहिले दिनकै किलोका किलो सुन आइरहेको छ । कुनै पक्रन्छन्, कुनै छोडिन्छन् । हामी अहिले यति धेरै सुन ल्याउने मुलुक भइसकेका छौँ । अस्ति एअरपोर्टमा जति सुन समातियो नि, त्यति त एशियाली गेमका जम्मै स्वर्ण पदकहरू एकै ठाउँमा राख्दा पनि भ्याउन सक्दैन । 

जब देशमै यति धेरै सुन आइरहेको छ भने एशियाली गेममा एउटा सुन जित्न सकेन भनेर केको चिन्ता लिनु !
    

टिप्पणीहरू