अमेरिकाको नाममा ११ लाख उठाएर भागेका कुलबहादुर भेटिए

अमेरिकाको नाममा ११ लाख उठाएर भागेका कुलबहादुर भेटिए

वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने प्रलोभनमा पारेर ठगी गर्दै आएका एक व्यक्ति पक्राउ परेका छन् । अमेरिका पुर्याएर आकर्षक तलबको जागिर लगाइदिने वाचा गरेर सर्वसाधारण ठगेका कुलबहादुर पन्तलाई प्रहरीले समातेको हो । 

दैलेखको दुल्लु नगरपालिका-११ घर भई हाल काठमाडौंको नागार्जुन बस्दै आएका ४० वर्षीय पन्तले वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने र त्यहाँ आकर्षक तलब हुन्छ भनी प्रलोभनमा पारेर साढे ११ लाख ठगेको खुल्न आएको छ । पैसा हात पारेपछि उनी बेपत्ता भएका थिए । 

अमेरिका जान प्रतिव्यक्ति १६ लाख लाग्छ भनी पटक-पटक गरी ११ लाख ५० हजार बुझाएका पीडितले आफू ठगिएको थाहा पाएपछि पीडितले वैदेशिक रोजगारी विभागमा उजुरी हालेका थिए । विभागकै अनुरोधमा प्रहरीले खोजतलास अघि बढाउँदा उनी काठमाडौंको बसुन्धराबाट आज पक्राउ परेको बताइएको छ । 

यसबारे थप अनुसन्धान तथा कारबाहीका निम्ति प्रहरीले पन्तलाई विभागको जिम्मा लगाएको छ ।

टिप्पणीहरू