कुकर र भड्डु हानेर श्रीमतीको हत्या,भाग्दाभाग्दै पक्राउ

कुकर र भड्डु हानेर श्रीमतीको हत्या,भाग्दाभाग्दै  पक्राउ
सुन्नुहोस्

श्रीमतीको विभत्स हत्या गरी भारत भाग्न खोज्ने एक युवकलाई प्रहरीले समातेको छ । पक्राउ पर्ने उदयपुरगढी ७ नागबेलीका ३१ वर्षीय पिटर भन्ने सन्तोष राई हुन् । उनले हिजो राती २९ वर्षीया श्रीमती छविमाया राईसँग विवाद भएपछि खाना पकाउने प्रेसर कुकर र भड्डु भाँडा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घाइते श्रीमतीलाई तत्कालै उपचारको लागि उदयपुर अस्पताल ल्याइएपछि चिकित्सकहरुले साढे १० बजे राती मृत घोषित गरेका थिए । कुकर र भड्डुले टाउको,नाक र मुखमा चोट लागी गम्भिर घाइते बनाएको जानकारी पाएलगत्तै सक्रिय भएको प्रहरीले पिटरलाई भाग्दै गरेको अवस्थामा त्रियुगा.न.पा.–८ राजाबास बैरेनीबाट पक्राउ गरेको हो ।

उनीहरु दसैं मनाउनको लागि भारतको नयाँ दिल्लीबाट त्रियुगा नगरपालिका वडा नं. ५ श्रीपुरस्थित दिदीको घरमा आई बसेका थिए । उनीहरु ९ महिना भारतमा काम गरी फर्केको बताइन्छ । हत्याअघि अभियुक्त राईले अत्यधिक मदिरा सेवन गरेको बताइन्छ । राई दम्पतीबीच ३ वर्षदेखि पारिवारिक रुपमा विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

श्रीमतीको हत्या गरेपछि राईलाई गाउँलेहरुले लखेटेका थिए । त्यसपछि लुक्दै हिडेका उनलाई त्रियुगा न.पा.९ बैरेनीमा प्रहरीले पक्राउ गर्न सफलता पाएको हो । उदयपुर प्रहरी प्रमुख थापाको नेतृत्वमा खटिएको टोलीले करिब २ घण्टाको खोजपड्तालपछि फेला पारेको हो । भारत भाग्न सक्ने अनुमान गरी सम्भावित नाकाहरुमा प्रहरी व्यापक रुपमा परिचालन गरिएको थियो । उनले चिनेजानेका र आफन्तहरुको घरमा पनि प्रहरीहरु खोजीमा खटिएका थिए ।

अभियुक्त राईसँग जम्माजम्मी एक सय रुपैयाँ मात्र रहेको र पैसा खोज्दै आफन्तको घर जान सक्ने प्रहरीको अनुमान सही सावित हुन पुगेको थियो । भारत भाग्नको लागि खर्च खोज्न उनी आफन्तको घरतर्फ जाँदै थिए ।

टिप्पणीहरू