सात र सत्र साल सम्झे हुन्छ साथी !

सात र सत्र साल सम्झे हुन्छ साथी !
सुन्नुहोस्

उचाइमा पुगेपछि एक दिन तल झर्नुपर्छ र त्यही उचाइमा पुग्न लामै प्रयास गर्नुपर्छ । लामो संघर्ष र त्यागको परिणाम स्वरूप मात्रै त्यो उचाइ प्राप्त हुन्छ तर तल झर्न केही बेर लाग्दैन । हजार प्रयत्न र मिहिनेतले मान्छे सगरमाथा चढ्छ तर त्यसरी सगरमाथा चढेको मान्छे सधैँ त्यहीँ बसिरहन सक्दैन । फोटो खिचाएर एकै छिनमा तल झर्नैपर्छ । 

भर्खरै विवादास्पद कोशी प्रदेशमा नयाँ नाटक मञ्चन भयो । कांग्रेसमा ०५१ साल दोहोरियो भने नेकपाको राजनीतिमा ०७८ साल । एकाएक कोइराला परिवारका मियो शेखर कोइरालाले अस्त्र हाने र आफ्नो लाइन सोझ्याउन खोजे । यसै त शेरबहादुर खेमाबाट थिचिएको महसुस गरेका कोइरालाहरूले एमालेसँग गरेको गठजोडले कोशीतिर निक्कै तरंग फैलियो मात्र होइन पुरै देशै हल्लियो । तर आजको राजनीतिमा यो प्रयोग उचित हो या होइन ? यो प्रश्न महत्वपूर्ण भएर पनि राजनीतिमा कतिपय यस्ता सवालको दूरगामी असर पर्ने हुन्छ । कोइरालाहरूले गुमाउँदै गएको साख यस्ता कदमले फर्काउला त ? 

गत वर्ष कांग्रेसमा प्रदेश १ को चुनाव भएको थियो । त्यो बेला उद्धव थापा २ भोटले जिते । शेखर कोइराला पक्षका गुरु घिमिरेले हारे । कृष्ण सिटौला पक्षका थापा २ मतले चुनाव जितिरहँदा उनै शेखर कोइराला र सुजाता कोइरालाहरू मत हाल्न नै आएनन् । त्यसपछि उद्धव थापा संसद् छिरे र संसदीय दलको नेता भए अनि मुख्यमन्त्रीको दावेदार बने । २ पटकसम्म आफ्नो दावी पेश गरे तर आफ्नै २ भोटले पछाडि परेको शेखर पक्ष यसै भुट्भुटिइरह्यो । र, आज त्यहाँ त्यही पीडा प्रकट भइरहेको छ । 

कुनै समय एकछत्र राज गरेको कांग्रेसआईलाई भारतमा आज बत्ती बालेर खोज्नुपर्ने अवस्था छ । महात्मा गान्धीका परिवारको लिगेसीले मात्र सोनिया र राहुलहरूले कांग्रेसको विरासत जोगाउन सकेनन् । राजनीतिमा विचार मात्र सबथोक होइन, प्रचार पनि उत्तिकै चाहिने रहेछ । नेपालमा कांग्रेसभित्र एउटा उर्जा थियो, विचार थियो । तर आज यो स्खलित भइरहेको छ । र, त्यो सत्ता राजनीतिको मियोभित्र कांग्रेसले बेलाबेला चाल्ने कदम र उसका विद्रोही चेतले हुर्काएको मनोविज्ञानले कताकता नेपाली राजनीतिलाई नै दिग्भ्रमित पारेको प्रतीत हुन्छ । 

शेरबहादुर–शेखर द्वन्द्वको परिणामले अब मुलुक कता जाला ? यो प्रश्नको उत्तर खोज्न २००७ सालदेखि २०१७ सालतिर फर्कन सकिन्छ । मातृका र बिपीबीच अन्तद्र्वन्द्वको परिणाम के भयो ? सबैलाई थाहै छ । र, यो पनि सम्झना छ, ०५१ सालमा गिरिजाप्रसाद र शेरबहादुरबीच चर्केको द्वन्द्व । यी दुबै घटनाको अन्त्य हो वा त्यसको निरन्तरता ? कताकता यस्ता दृश्यले नेपाली राजनीतिलाई खतराको मोडतिर त लैजाने होइन ? राजनीति र प्रेममा सबैथोक जायज हुन्छ भनिन्छ । तर, राजनीति र प्रेमको डोरी नचँुडिञ्जेल मात्र हो । जसरी धान दाइँ गर्दा मियो लगाइन्छ, त्यसरी नै त्यो मियो भत्काइयो भने के हुन्छ ? मूलतः कांग्रेसभित्र यस्ता विषयले धेरै बहस गर्दैन, छलफल र अन्तत्र्रिmया गर्दैन । त्यहाँका युवाहरूले चलाएको अल्प बहसले खास दिशा लिन सक्दैन । 

शेखर कोइरालाको यो कदमलाई कतिले ठीक बेठिक भने होलान् । कतिले काखी बजाए होलान् । तर, परिणामतः शेखर पक्षलाई प्राप्त भएको शक्ति कति दिगो होला ? यो यक्ष प्रश्न बन्न सक्छ किनभने सगरमाथाको उचाइमा पुगेको एमाले त्यहाँबाट झरेपछि रन्थनिएको छ र उसले आजको राजनीतिमा धेरैथोक गुमाउँदै लगेको छ । ओत लाग्दा र भर पर्दा पनि दह्रो आश्रयको जरुरत पर्छ । चुहिएको घरमा ओत लाग्दा त भिज्ने नै हो । कतै आफ्नो घरमा आगो लगाएर खरानीको ब्यापार गर्ने मूर्ख विद्वान्को साहसी कदम यो नबनोस् । 

अब अलिकति एमालेको कुरा गरौं । भएभरका सरकार गुमाएर, एकछत्र शासन गर्ने रहरले संविधानमाथिको हस्तक्षेपले थिल्थिलिएको ऊ यतिबेला कोशीको किनारबाट बिना डुंगा पारी तर्न खोज्दैछ । त्यो डुंगाको सहारा बनेको कांग्रेसको एउटा पक्ष सधैँ सारथि बन्ला ? भनिँदैछ, कोशीको सत्ता अभ्यास त एउटा पहिलो परीक्षण मात्र हो । त्यसपछि त पालैपालो बम र मिसाइलहरू हानिनेछ । क्रमशः पूर्वदेखि पश्चिमसम्म नै र मुटुमा पनि । के यो सम्भव होला त ? 

कांग्रेसभित्र चर्किएको द्वन्द्वको आगो ननिभाउने हो भने त्यो दिन आउन टाढा छैन । तर, सत्ताको रापतापबाट केही समय पर सरेको एमालेले यो सब नगर्ला र कोइरालाहरूभित्र हुर्केको दमित मनस्थितिले यो परिस्थिति ननिम्त्याउला भन्न पनि सकिन्न । तर यो पक्कै हुनेछ, कोशीको कदमले कांग्रेसभित्र कोइरालाहरूको छाति अलिकति फुल्नेछ अनि एमालेजनहरूमा सत्ता बाहिर बस्नुको पीडामाथि अलिकति मल्हमपट्टी लाग्नेछ । 

टिप्पणीहरू