कसैका धर्म, कसैका मर्म

कसैका धर्म, कसैका मर्म

माघमा हुने राष्ट्रियसभा निर्वाचनदेखि वैशाखको उपचुनावसम्मलाई तरंगित गर्ने घटना भयो, कोशी प्रदेशमा । यद्यपि, एमालेले चाहेजसरी घटनाको विकास हुन सकेन । 

एमालेले ‘धर्म’ सम्झिएर आफ्नो काम गर्‍यो, कांग्रेसले ‘मर्म’ सम्झिँदै भित्रभित्रै मिलायो । यसर्थ, माघदेखि वैशाखसम्म पुग्दा एमालेअनुकूलको राजनीतिक वातावरण बनिहाल्छ भन्ने स्थिति छैन । अहिले एमालेका निम्ति कांग्रेस नेतृत्वको गठबन्धन भत्काउनु थियो, भत्कियो पनि । यो धाँजा फाट्दै जाओस् र माथिसम्मै हानोस् भन्ने उसको चाहना थियो । तर, कांग्रेस र ऊ नेतृत्वको गठबन्धनले आ–आफ्ना ‘मर्म’ सम्झिँदै अगाडि बढेपछि एमालेले अब के गर्छ भन्ने अन्यौल बाँकी नै छ । कांग्रेसका निम्ति जुनसुकै बाटोबाट भए पनि सत्ता हातमा आएको छ । त्यसैले एमालेका कारण पार्टीभित्रै गज्याङगुजुङ हुने कुरालाई उसले व्यवस्थापन गरेको छ । अब उनीहरू भित्रभित्रै आलोचना, आत्मालोचना गर्छन् । किनभने, डा.शेखर कोइरालाको पक्षमा कांग्रेसभित्र शक्ति जत्रो भए पनि देउवापक्ष तर्सिनुपर्ने भयो ।

हो, शेखरपक्ष सिंगो कांग्रेसभित्र कमजोर नै छ । एमालेले पनि सकेसम्म कांग्रेसलाई कमजोर बनाउन खोजेकै हो । शेखरहरूलाई पार्टीले कारवाही गर्ला, त्यहाँभित्रबाट एउटा शक्ति आर्जन गरौंला भन्ने चाहना थियो, पूरा भएन । स्वयं एमालेले पनि राप्रपाबाट धोका पाएको छ । अन्तिम अवस्थामा राप्रपा तटस्थ रहने भनेपछि मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिनुपर्‍यो । उनीहरूको सम्बन्ध कस्तो रहेछ भने, ऋषि तर्पणी पूर्णिमाका दिन बाहुनले बाँधेको धागोजत्तिको मात्रै ! 

राप्रपाका नेताहरूले दशैं–तिहारको बीचमा संघीय सरकार ढल्ने भनेका थिए । यसैबीच, कांग्रेस महामन्त्री गगन थापा ‘समाजवादी मोर्चालाई सरकार चलाउन दिऔं, हामीले छाडिदिऔं’ भन्दै थिए । कोशीको घटनापछि न राप्रपाले दशैं–तिहारमा संघीय सरकार ढाल्ने कुरा गरेको छ, न त गगन थापाहरूले नै ! बरु, गगनहरू आन्तरिक शक्ति सन्तुलनभित्र कसरी खेल्ने भन्दै चूप छन्– न देउवातिर, न शेखरतिरै ! 

कोशी प्रदेशमा एमालेले एउटा समस्याको समाधान त गर्‍यो । तर, फेरि अर्को समस्यामा फसेको छ । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र डा.शेखरबीच बालुवाटारमा भएको सहमति कोशी प्रदेशमा पनि लागू हुने हो भने एमाले गत वर्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएर एक महिनामै हात टक्टक्याउँदै बाटो लाग्नु परेझैं हालतमा पुग्छ । अर्थात्, मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएपछि सरकारमा माओवादी, समाजवादी र जसपा सामेल हुने, एमालेले २ वटाबाहेक मन्त्रालय नपाउने स्थिति देखिँदैछ । एमालेले समर्थन फिर्ता लियो भने एक मतको तलमाथि भएको उक्त प्रदेशमा अर्को सरकार बन्छ र त्यसले मध्यावधि निर्वाचन गराउनुपर्छ । त्यसो गर्दा पनि घाटा एमालेलाई नै छ । किनभने, यसको संख्या घट्ने सम्भावना रहन्छ । कांग्रेसले मध्यावधिबाट आफ्नो संख्या बढ्ने अनुमान गरेको छ । तर, यो कुरा ‘पिसाबको न्यानो’ भनेजस्तो क्षणभरको तुष्टिमात्रै हुने खतरा छ । प्रदेशमा दुईपटक धारा २ असफल भएपछि तेस्रोपटक जसले दावी गर्दा पनि हुन्छ । 

अहिले कोशीबाट विकास भइरहेको कांग्रेसको आन्तरिक विग्रह यही बेला हल भएन भने माघमा हुने राष्ट्रियसभा अध्यक्षसहित १९ सदस्यको निर्वाचन र वैशाखमा हुने उपचुनाव प्रभावित हुने खतरा छ । यद्यपि, भागबण्डा मिल्दा कांग्रेसभित्रको कटुता हल नहुने अवस्था छैन । यस्तो जटिल राजनीतिक गणितभित्र एमाले कसरी अगाडि बढ्छ भन्ने कुरा प्रतीक्षाकै विषय छ । अहिलेचाहिँ दुबै आँखा नभएको मान्छेले बरदान माग्दा दुबै आँखा भएका दाजुले बरु मेरो दुईटै जाओस् भनेजस्तो भएको छ, एमालेका निम्ति । आफूलाई चाहिएन, गठबन्धनचाहिँ टुटोस् । 

 

टिप्पणीहरू