यस्तालाई पनि शीतल निवासले दिएको थियो आममाफी

यस्तालाई पनि शीतल निवासले दिएको थियो आममाफी
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर छुटेको महिना दिन नपुग्दै महिलाको हत्या गरेपछि लोकबहादुर विक भनिने लोकेन्द्र पुनः पक्राउ परेका छन् । 

रुकुमको सानाभेरी गाउँपालिका वडा नम्बर ९, सिम्लीका ३३ वर्षीय लोकेन्द्रलाई प्रहरीले हत्याको आरोपमा पक्रेको छ । खलंगाको सत्कार होटेलमा उनले आफ्नी प्रेमिका मुसिकोट नगरपालिका वडा नम्बर ७ साँखकी २८ वर्षीया भावना विकको चक्कु प्रहार गरी हत्या गरेका हुन् । 

होटलमा महिलाको शव घाँटी रेटेको अवस्थामा फेला परेपछि जिल्ला प्रहरी कार्यालय, रुकुमले अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा प्रहरीले लोकेन्द्रलाई पक्राउ गरेको हो । 

कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार मंगलबार बिहान होटलको कोठा नम्बर १ मा भावना मृत अवस्थामा भेटिएकी थिइन् । 

माइतीमा बस्दै आएकी भावना र लोकेन्द्रबीच अनैतिक सम्बन्ध देखिएको डिएसपी भट्टराईले जानकारी दिए । प्रहरीले घटनास्थलबाट रगत लागेको धारिलो हतियार, त्यसको खोल र मोबाइल बरामद गरेको छ । 

त्यस्तै, लोकेन्द्रको घरबाट ८५ हजार ८३५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुले होटलमा त्रिवेणी गाउँपालिकाका विकास केसीको नाममा कोठा बुक गराएका थिए । नातामा श्रीमान श्रीमती उल्लेख गरेका उनीहरुले दिएको विवरण सबै झुठो रहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू