दशैँ नलाग्दै ठाउँ-ठाउँमा जुवाको खाल, एक दर्जन बढी पक्राउ

दशैँ नलाग्दै ठाउँ-ठाउँमा जुवाको खाल, एक दर्जन बढी पक्राउ

ललितपुरमा सात जना जुवाडे खालबाटै समातिएका छन् । महालक्ष्मी नगरपालिका ४, गजान्द टोलस्थित रेनुका राईको खाजा घरमा जुवा खेलिरहेको अवस्थामा गोदावरी नगरपालिका-१२ ठैवका ४५ वर्षीय सुब्बा तामाङसहित सात जना समातिएका हुन् । 

विशेष सुराकीको आधारमा प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई हिजो साँझ नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुको साथबाट ८३ हजार ५० रुपैयाँ नगद र तासबुक बरामद गरेको बताइएको छ । 

यस्तै, काठमाडौंको चन्द्रागिरीमा पनि जुवा खेलिरहेको अवस्थामा ८ जना जुवाडे पक्राउ परेका छन् । 

चन्द्रागिरी नगरपालिका-१४ नैकाप आर्केट कोलोनीस्थित निर्माणाधीन घरमा जुवा खेलिरहेको अवस्थामा मकवानपुरका ४० वर्षीय मानबहादुर देउलासहित ८ जना समातिएका हुन् । 

प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई १ हजार ८३५ रुपैयाँ नगद र २ तासबुकसहित पक्रेको जनाइएको छ । 

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू