प्रलोभन सस्तो ग्रीन टीको, लुटपाट निकै महँगो

प्रलोभन सस्तो ग्रीन टीको, लुटपाट निकै महँगो
सुन्नुहोस्

सस्तोमा ग्रीन टी मिलाइदिने प्रलोभनमा दुई भारतीय नागरिक लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बिहीबारदेखि काठमाडौंको ठमेलस्थित वाल्डो होटलमा बस्दै आएका भारतीय नागरिकहरुलाई लुटेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । 

नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ७, घर भई बालाजु, माछापोखरीस्थित किङ्स अकबरे मःम रेष्टुरेष्ट सञ्चालन गर्दै आएका २७ वर्षीय उमेश लामासहित तीन जनालाई पक्राउ गरिएको प्रहरी वृत्त, बालाजुले जनाएको छ । 

उनीहरुको छ जनाको समूहले सस्तोमा ग्रीन टी मिलाइदिने भन्दै भारतीयलाई माछापोखरीस्थित रोयल लाउन्ज एण्ड बारमा पुर्याएका थिए । त्यहाँ पुर्याएपछि उनीहरुलाई निर्घात कुटपिट गरेको बताइन्छ । 

कुटपछि पीडितहरुलाई तीन जना नेपालीले ४९ हजार नेपाली र ५० हजार भारतीय रुपैयाँ बैंक खातामा ट्रान्सफर गर्न लगाएको देखिन आएको छ । प्रहरी वृत्त, बालाजुबाट खटिएको टोलीले उनीहरुलाई हिजो बालाजु चोकबाटै समातेको हो । 

उनीहरुको साथबाट बा.८६ प २१४२ नम्बरको मोटरसाइकल, ५९ हजार ३५५ रुपैयाँ, चार थान मोबाइल, १२ थान सिमकार्ड बरामद गरिएको छ ।

टिप्पणीहरू