प्रहरी नै जुवाडे, सई थापा खालबाट पक्राउ

प्रहरी नै जुवाडे, सई थापा खालबाट पक्राउ

- टेकसिंह धामी

कञ्चनपुरमा नेपाल प्रहरीका एक जना जुवाखालबाट पक्राउ परेका छन् । प्रहरी नायव निरीक्षक (सई) लाई जुवा खेलिरहेको अवस्थामा अरु जुवाडेसँगै नियन्त्रणमा लिइएको बताइएको छ । 

कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालस्थित खोला किनारमा हिजो जुवातास खेलिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरमा कार्यरत सई पदम थापासहित आठ जना पक्राउ परेका हुन् ।

थापासहित पारस भट्ट, सञ्जय विष्ट, भक्तबहादुर धामी, जयबहादुर बोहरा, किसी ठाकुर  डम्बर कुँवर र नरेन्द्र पाण्डे पक्राउ परेको प्रदेश प्रहरी सुदूरपश्चिमका प्रवक्ता एसएसपी प्रज्वल महर्जनले जानकारी दिए ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनीहरूलाई एक लाख १४ हजार ११० रुपैयाँ नगद, एक बुक तास, मोटरसाइकल छ थान र स्कुटी एक थानसहित उनीहरुलाई प्रहरी कार्यालय पुर्याइएको हो ।

पक्राउ परेका थापालाई निलम्बनको तयारी भएको प्रहरी स्रोतले बताएको छ । यसअघि बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा राम्रो काम गरेको भन्दै थापाको बढुवा भएको थियो । 

बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीस्थित सनातन माध्यमिक विद्यालयमा अध्ययनरत भागरथी २०७७ माघ २२ गते मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको तथ्य खुलेको थियो ।

टिप्पणीहरू