राष्ट्रसंघीय महासचिव पुग्नुअघि श्रीलंकन नागरिक प्रहरीको फन्दामा

राष्ट्रसंघीय महासचिव पुग्नुअघि श्रीलंकन नागरिक प्रहरीको फन्दामा

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस आज पोखरा पुग्नुभएको छ । उहाँ चार दिने भ्रमणको क्रममा आज दिउँसो काठमाडौंबाट त्यहाँ जानुभएको हो ।

उहाँ भोलि बिहान अन्नपूर्ण बेस क्याम्प पुगेर जलवायु परिवर्तनले नेपालको उच्च हिमाली क्षेत्रमा पारेको असरलाई नजिकबाट नियाल्दै हुनुहुन्छ । आज बिहान सोलुखुम्बुको स्याङबोचे जानुभएको थियो ।

आजै उहाँ ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ (युएन) भवनमा आयोजित स्वागत कार्यक्रममा सहभागी हुनुभयो । मध्यान्ह पौने १२ बजे महासचिव त्यहाँ पुग्नुअघि युएन भवनको मुख्य गेटबाट एक जना विदेशी नागरिकलाई प्रहरीले पक्रेको बताइन्छ ।

‘महासचिव महामहिम एन्टोनो गोटेरेस सवरी हुने क्रममा युएन भवनको गेटबाट ललितपुर जिल्ला प्रहरीले एक जना विदेशीलाई पक्रेको हो,’ प्रत्यक्षदर्शीलाई उल्लेख गर्दै स्रोत भन्छ, ‘शरणार्थी भनिएका ती व्यक्ति श्रीलंकन नागरिक भएको बुझिएको छ ।’

महासचिव दिउँसो १ बजे त्यहाँबाट विमानस्थल पुगेर पोखरा गए पनि बिहान पौने ११ बजेको हाराहारीमा पक्राउ परेका स्टालन एञ्जेलो रथनायक अझै प्रहरी हिरासतमा छन् । प्रहरीले थप अनुसन्धानको निम्ति आवश्यक सोधपुछ गरिएको जानकारी दिएको छ ।

श्रीलंकन नागरिक बताउँदै उनले महासचिवलाई आफू मुलुकमा असुरक्षाको कारण बस्न नसकेकाले शरणार्थीको दर्जा उपलब्ध गराइदिन आग्रह गर्दै युएन गेटमा गएको बताएका छन् । पक्राउ परेका रथनायकलाई प्रहरीको जाउलाखेल परिसरले पर्यटक प्रहरीको जिम्मा लगाएको बुझिएको छ ।

पक्राउ परेका २७ वर्षे श्रीलंकनको भीसाको म्याद अझै तीन साता बाँकी छ । नेपालअघि भारत, मलेसिया, थाइल्याण्ड, कतारलगायत मुलुक घुमिसकेको उनको पासपोर्ट नम्बर एन ५४९२२३० बाट खुलेको बताइन्छ ।

टिप्पणीहरू