लुम्बिनीका तत्कालिन प्रदेश सचिवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

लुम्बिनीका तत्कालिन प्रदेश सचिवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

लुम्बिनी प्रदेशका तत्कालिन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित तत्कालिन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशन राजाराम तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

प्रदेश सरकारबाट कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७५÷०७६ मा विभिन्न कृषि समूह, सहकारी संस्थामार्फत किसानलाई कृषि यन्त्र उपलब्ध गराउने भनिएको थियो । 

कृषि यन्त्र आपूर्ति गर्न स्वीकृति प्राप्त आपूर्तिकर्ता कृषि किसान संसार प्रालि भरतपुर चितवनले इन्डियन कम्पनीको यन्त्र उपकरण उपलब्ध गराउने भनी फाराम भरेर रकम लिई सम्झौता विपरीत कम क्षमता र गुणस्तरको कृषि यान्त्रिक उपकरण वितरण गरेको अख्तियारको आरोप छ । 

अख्तियारका अनुसार उनीहरुको मिलेमतोमा कम गुणस्तर र फरक ब्राण्डको कृषियन्त्र वितरण गरी प्रदेश सरकारलाई एक करोड ३१ लाख ६० हजार रुपैयाँ बदनियतपूर्वक हानीनोक्सानी पुर्याइएको छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिमको कसुरमा चारै जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा एक करोड ३१ लाख ६० हजार बिगो कायम गरी सजाय र जरिवाना हुन मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।

टिप्पणीहरू