नक्कली भिसा बनाउने गिरोहका चार जना प्रहरी नियन्त्रणमा

नक्कली भिसा बनाउने गिरोहका चार जना प्रहरी नियन्त्रणमा

भिजिट भिसामा विदेश पठाई दिने प्रलोभनमा नक्कली कागजात बनाउँदै आएको गिरोहका चार जना पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको बताइएको छ ।

पक्राउ परेकामा नवलपरासी–पूर्व मध्यबिन्दु नगरपालिका–५ घर भई काठमाडौं बालाजु बस्ने ४५ वर्षे जयराम श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका–८ घर भई बसुन्धारा बस्ने ३४ वर्षका भक्त बहादुर थापा, काठमाडौं महानगरपालिका–१ नक्सालका ३८ वर्षीय दिपक केसी र सल्यानको कालीमाटी रामपुर गाउँपालिका–३ घर भई अहिले नागार्जुन बस्ने ४२ वर्षका बल बहादुर रावत छन् । 

भिजिट भिसामा विदेश जाने व्यक्तिहरूको कागजात जाँच गर्ने क्रममा गिरोहले संगठित रुपमा नक्कली काम गरेको तथ्य फेला परेपछि प्रहरीले खोज्दै जाँदा उनीहरु समातिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले राहदानीसहित एक हजार ३२ थान कागजपत्र बरामद गरेर थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन पठाएकोमा ती कागजातहरू नक्कली भएको पुष्टी हुन आएको छ ।

प्रहरीले पक्राउ परेकाहरूबाट विभिन्न कलेज तथा विद्यालयका शैक्षिक प्रमाणपत्र र लेटरप्याड, जन्मदर्ता कागजातहरु, विभिन्न बैंकको स्टेटमेण्ट तथा चेक, एचएसईबी लेखिएको होलो ग्राम, सीटीईभीटीको स्टिकर, सवारी चालक अनुमतिपत्र, राहदानी, मतदाता परिचयपत्र, भारत सरकारको आधार कार्ड नागरिकताका कागजातहरू, विभिन्न सरकारी तथा निजी कार्यालयहरूको छापहरु, लेमिनेसन मेसिन, ल्यापटप, प्रिन्टर र पेन्ड्राइभ बरामद गरेको छ ।

उनीहरूलाई लिखत सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज काठमाडौं पठाइएको छ ।
 

टिप्पणीहरू