अत्याधुनिक हतियार बोकेर हिंड्दा हिंड्दै

अत्याधुनिक हतियार बोकेर हिंड्दा हिंड्दै

अत्याधुनिक हतियारसहित सिराहामा तीन जना समातिएका छन् । सशस्त्र प्रहरी बलको विशेष टोलीले उनीहरुलाई हतियार र नगदसहित हिजो साँझ लहान नगरपालिका-१ सिङ्गराहीबाट नियन्त्रणमा लिएको हो ।   

पक्राउ पर्नेहरुमा सप्‍तरीको सुरुङ्गा-८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गा-५ बस्‍ने ३० वर्षे जीवानन्द चौधरी र खड्क-४ का ३५ वर्षीय सन्जयप्रसाद चौधरी  रहेका छन् । उनीहरुको साथबाट ९ एमएमको ब्राउण्‍डिङ पेस्‍तोल १ थान,सोको म्‍याग्‍जिन १ थान,२ राउण्‍ड गोली, नगद १ लाख ८४ हजार २५३ का साथै चार थान मोबाइल सेट र बिभिन्न कम्पनीको रु.चार लाख ६४ हजार पाँच सय मूल्य बराबरको रिचार्ज कार्ड  बरामद भएको सशस्त्र प्रहरी बल सिराहाले जनाएको छ । 

सशस्त्रको ईन्‍टेलिजेन्‍स ब्‍युरोले दिएको विशेष सुराकीमा गस्ती टोलीले स.९ प. ४९७१ नम्बरको यामाहा सोलुटो मोटर साइकलमा सवार उनीहरुको चेकजाँच गरेको थियो । सो क्रममा उनीहरुले शंकास्पद व्यवहार देखाएपछि थप अनुसन्धान गर्दा नगदसहित हतियार र ठूलो परिमाणमा रिचार्ज कार्ड भेटिएको जनाइएको छ ।  

पक्राउ परेका तीनै जना अपराघिक गतिविधिमा संलग्न रहेको र भविष्यमा अप्रिय घटना घटाउन सक्ने ठहर गर्दै नियन्त्रणमा लिई थप अनुसन्धानका लागि सम्‍बन्‍धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू