खुकुरी हानेर भागेका बलात्कार आरोपीलाई समात्न गोली प्रहार

खुकुरी हानेर भागेका बलात्कार आरोपीलाई समात्न गोली प्रहार
सुन्नुहोस्

बाँकेको जानकी गाउँपालिका–४ मा प्रहरीले गोली हानेर एक जनालाई समातेको छ । 

विभिन्न अपराधमा संलग्न कोहलपुर नगरपालिका–११ का ३० वर्षीय आकाश रानालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । रानाको दाहिने खुट्टामा एक राउण्ड गोली लागेको र उनी खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले जानकारी दिए । 

भाइटीकाको दिन कोहलपुरका मीनबहादुर विकलाई खुकुरी हानेर भागेका रानालाई प्रहरीले खोजिरहेको थियो । सोही क्रममा उनी जानकी गाउँपालिकामा लुकीछिपी बसेको सूचना प्राप्त भएपछि प्रहरी टोली पक्राउ गर्न त्यहाँ पुगेको थियो । 

तर, राना भाग्न खोजेपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ । राना यसअघि पनि लागूऔषध मुद्दामा पाँच वर्ष जेल बसेर छुटेको प्रवक्ता डाँगीले बताए । 

गत कात्तिक २८ गते पनि १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा रानाविरुद्ध उजुरी परेको थियो ।

टिप्पणीहरू