कुटपिटपछि हत्यामा संलग्न आठ जना पक्राउ, तीन जना फरार

कुटपिटपछि हत्यामा संलग्न आठ जना पक्राउ, तीन जना फरार

बर्दियामा कुटपिटपछि हत्या गरेको अभियोगमा आठ जना पक्राउ परेका छन् । गुलरिया नगरपालिका–६ गुलरिया बजारका २० वर्षीय वरुण घिमिरेलाई विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेहरुमा गुलरिया बजार बस्ने २३ वर्षीय सुलभ थापा, ज्योति नगरका २४ वर्षीय धिरज ठाकुर, कृष्णसार टोलका १८ वर्षीय किशोर, सोही नगरपालिका–५ बंगलामुखीटोल बस्ने १९ वर्षीय दिपेश बुढामगर रहेका छन् ।

त्यस्तै, सोही नगरपालिका–८ कोठियाका १९ वर्षीय सन्दिप थारु तथा गंगानगरटोल बस्ने १९ वर्षीय दिनानाथ चौधरी, सोही नगरपालिका–४ गणेशचोकका १८ वर्षीय किशोर र ठाकुरबाबा नगरपालिका–३ बिदुरपुरका २३ वर्षीय तर्क भण्डारी पनि समातिएका छन् । 

उनीहरुले गत कात्तिक २७ गते राति गुलरिया नगरपालिका–५ सुहेलवामा विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गर्दा वरुण गम्भीर घाइते भएका थिए । वरुणको उपचारको लागि अस्पतालबाट नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । 

प्रहरीले घटनामा प्रयोग भएको चक्कु, नोखलगायत विभिन्न हातहतियार समेत बरामद गरेको बताएको छ । त्यस्तै, घटनामा संलग्न हाल फरार अन्य तीन जनाको खोजी भइरहेको छ ।

टिप्पणीहरू