सशस्त्रका डिएसपीमाथि आक्रमण, छ पुरुष र चार महिला पक्राउ

सशस्त्रका डिएसपीमाथि आक्रमण, छ पुरुष र चार महिला पक्राउ

काठमाडौंको शंखरापुर नगरपालिका–३, लप्सीफेदीमा सशस्त्र प्रहरीका डिएसपी देवराज राईमाथि आक्रमण भएपछि १० जना स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बोझेनीस्थित अपर तामाकोशी सबस्टेसन संघर्ष समितिले गरेको विरोध कार्यक्रममा डिएसपी राईमाथि आक्रमण भएको हो ।

आक्रमणपछि समितिका अध्यक्ष रञ्जित तामाङसहित छ जना पुरुष र चार जना महिलालाई प्रहरी वृत्त बौद्ध लगिएको छ । उनीहरु रञ्जितको घरमा छलफल गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताइएको छ ।

सवस्टेसन सुरक्षाको निम्ति प्रहरी पोष्ट राख्ने क्रम अघि बढेपछि स्थानीले प्रहरी टोलीमाथि आक्रमण गरेको प्रहरीको भनाई छ । आक्रमणमा डिएसपीसहित केही प्रहरी घाइते भएका छन् । ढुंगा प्रहारबाट सशस्त्र प्रहरी जवान बैकुण्ठप्रसाद शर्माको नाक भाँचिएको छ । शर्मालाई राति नै उपचारार्थ अस्पताल लगिएको थियो ।

बोझेनीमा तामाकोशी, सुनकोशीलगायतका सहायक नदीमा निर्माण भएका र हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ४०० केभीको सब–स्टेसन निर्माण गर्न लागिएको हो । त्यसका लागि ७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ । मुआब्जा तथा क्षतिपूर्ति वापत करिब ५० करोड रुपैयाँ वितरण गरिएको नेपाल विद्युत प्राधिकरणको भनाई छ । 

तरा, विभिन्न माग राख्दै मुआब्जा लिएका बाहेकका व्यक्तिले आन्दोलन गरेपछि प्रहरी परिचालन गर्नुपरेको प्राधिरकरण स्रोतले जानकारी दिएको छ । यसअघिको ठेकेदारको सट्टा नयाँ ठेकेदार छनौट भएपछि विरोध भएको बताइन्छ ।

टिप्पणीहरू