कम्युनिष्टले लोयल खोज्ने कि रोयल खोज्ने ?

कम्युनिष्टले लोयल खोज्ने कि रोयल खोज्ने ?

एमाले कार्यकर्ताहरू अध्यक्ष केपी शर्मा ओलीको निर्देशन र पार्टीको नीतिप्रति ‘लोयल’ देखिनुपर्नेमा ‘रोयल’ देखिएको चर्चा छ । प्रसंग जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित जिल्लातिर उद्धार तथा पुनर्निर्माणमा सहयोग गर्न कार्यकर्ताको टोली खटाउने निर्णयको हो ।

एमालेले भूकम्प पीडित क्षेत्रमा प्रत्येक जिल्ला कमिटीबाट २५ जना खटाउनुपर्ने निर्णय गरेको थियो । जसअनुसार काठमाडौंबाहेक अन्यत्र जिल्लाबाट एका–दुई टोली खटिए पनि धेरैजसो पेशागत महासंघको तर्फबाट जम्माजम्मी एक जनाले खटिएर एमालेको नाक जोगाएका छन् । राष्ट्र बैंकको जागिरबाट भर्खरै सेवानिवृत्त भएका प्रकाश भट्टराई नामका ती कार्यकर्ता अहिले उपत्यका विशेष कमिटीमा आबद्ध छन् ।

उनी केही महिनाअघिसम्म विशेष कमिटीको सचिव थिए । शक्तिशाली श्रमिक संगठन जिफन्टको तर्फबाट विनोद श्रेष्ठहरु गएका छन् । त्यसैगरी विद्यार्थीबाट राजीव सापकोटालगायत थोरै विद्यार्थीलाई सम्मिलित टोली खटिएको बताइन्छ । यसलाई एमाले क्याडरबेस्ड र अनुशासित पार्टीको हैसियतबाट चिप्लँदै गरेको संकेतका रूपमा लिइएको छ । 

काठमाडौंको रामकोट, दहचोक, डाँडा पौवा र खोकना गई ०७२ सालको भुइँचालोमा जोखिमयुक्त घर भत्काउने काममा खटिएको भन्दै सूर्य चिह्न अंकित रातो टोपी र पहेंलो ज्याकेट लगाएका विष्णु पौडेल र राजन भट्टराईहरू यस पटक जाजरकोटमा देखिएका छैनन् । त्यसबेला २७ हजार घर बनाएर जनतालाई सहयोग गरेको भन्न चाहिँ छाडिएको छैन । 

किन खटिएनन् त कार्यकर्ता ?

यसरी खट्दा बिहानपख उठ्नेबित्तिकै ट्वाइलेटको ठेगान नहुने, नुहाउने ठाउँ नहुने, लञ्च र डिनरको अत्तोपत्तो नहुने र भनेजस्तो होटलमा बसेर कफी अर्डर गर्न नपाइने अवस्थासँग यसलाई दाँजिँदैछ । टेन्ट निर्माणमा जुट्नुपर्ने, भत्किएको घरका भग्नावशेष पन्छाउनुपर्ने, जाडोबाट पीडितलाई जोगाउन दाउरालगायत सामग्रीको जोहो गर्न सघाउनुपर्ने झन्झट उस्तै छ । पार्टीको निर्देशनबमोजिम श्रम गर्न जान नसक्ने अवस्थामा अरु कुनै सहयोगीलाई पठाउन वा रकम सहयोग गरेर भए पनि पर्मको परम्परालाई निभाउनुपर्ने चलन गाउँघरमा व्याप्त थियो । 

 

टिप्पणीहरू