ह्योजु काण्ड दोहोर्‍याउने भूल नगरौँ !

ह्योजु काण्ड दोहोर्‍याउने भूल नगरौँ !
सुन्नुहोस्

कात्तिक १७ गते जाजकोट बारेकोटको रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पपीडितलाई मुलुकभित्र र बाहिरबाट सहयोगको ओइरो लागेको छ । कतिपय सहयोग एकद्वार प्रणालीमार्फत गएका छन् भने कतिपयले आफ्नै खुशी गरेको पनि देखिएको छ ।

अरुका दुःख–पीडामा रमाउनेहरूले भने फेसबुकमा दानी भएर फोटो पोस्ट्याउने काम गरिरहेकै छन् । कतिलाई रमाइलो त कतिलाई समाजसेवी देखाउने अवसर बनेको छ । यो प्रकृति प्रकोप देखिएको छ । यस्ता गतिविधिले मानवीय संवेदना हराउँदै गएको अनुभूति पनि जगाउन सक्छ । अहिले भूकम्प पीडित क्षेत्रमा आधारभूत आवश्यकता पूरा गर्नेतर्फ राज्य र सरोकारवालाहरु गम्भीर ढंगले अग्रसर हुनुपर्ने हो ।

किनभने जाडोका कारण भूकम्पपीडित दर्जनभन्दा बढीको मृत्यु भएको खबर बाहिरिएको छ । घर भत्किएपछि त्रिपालमा बास बस्न बाध्य यी पीडितमा बृद्धबृद्धा, बालबालिका र महिलाको संख्या उल्लेखनीय छ । उठेको राहत सामग्री र नगदहरूको राम्रोसँग परिचालन गर्ने हो भने मात्रै पनि यस्तो दुःखद घटनालाई टार्न निकै सहयोग मिल्छ । तर, राहत सामग्रीको सहयोग दलको स्वार्थअनुकूल हुन थाल्यो भने पीडितहरूचाहिँ झनै पीडामा पर्ने पक्का छ ।

गएका राहत सामग्री पनि सडकको पहुँच भएका, नजिकका प्रभावित क्षेत्रमा मात्रै ‘उफ्रिमाथि थुप्री’ लाग्ने गरेको गुनासो सुनिन्छ । यो भूकम्प कसैको लागि कमाउने भाँडो त कतिपयका लागि काम बिगार्ने ठाँडोजस्तो हुन नपाओस् भन्नेतर्फ सचेत हुनै पर्छ । यो सबै गुनासोका कारक चुस्तदुरुस्त व्यवस्थापनको अभाव नै हो । अहिले भौगोलिक कठिनाइ नै राहतका लागि सम्पूर्ण रूपमा बाधक होइन । राजनीतिकरण भने पक्कै बाधक हो ।

जनतालाई भोट बैंकको रूपमा मात्र व्यवहार गर्ने काम हुनुहुन्न । पार्टीको हानथापमा, साँढेहरूको जुधाइमा जनता बाच्छा बन्दै पेलिनु कसैका निम्ति पनि श्रेयस्कर हुँदैन । यसका निम्ति राहत र पुनर्निर्माणमा खटिएका सबैले निष्पक्ष, तटस्थ र स्वच्छ मनले खटिनुका साथै सामाजिक सेवाको भावलाई अग्रस्थानमा राख्नु र प्रदर्शन गर्नु आवश्यक छ ।

किनभने कुनै पनि प्राकृतिक विपद देश, जात, धर्मलगायत अनेकन विभाजनका रूपरेखा लिएर आउँदैन । भनिन्छ नि प्राकृतिक विपद र दशा बाजा बजाएर आउँदैन । यस्तो जो कोहीलाई पनि हुन सक्छ । जो–कोहीमाथि पनि घट्न सक्छ । तसर्थ विपद्का बेला जसलार्ई सहयोग आवश्यक छ उसलार्ई बिनाकुनै भेदभाव उपलब्ध गराउनु स्वयंसेवी र सहयोगीहरूको जिम्मेवारी र दायित्व पनि हो । अन्यथा ०४५ सालको भूकम्पमा भक्तपुरको राहत वितरणका बेला हुलदंगा उठेर तत्कालीन रा.पं.स. कर्ण ह्योजुको जस्तै दुःखदायी घटना नहोला भन्न सकिन्न ।

यस्तो आपत आउँदैन भनेर कसले भन्न सक्छ ? किनकि अति भएपछि जहाँ पनि खती हुन्छ । तसर्थ बिनाकुनै रंग, जात, धर्म, समुदाय र राजनीतिक स्वार्थ भूकम्प पीडितको जीवनको रक्षा गर्नेतर्फ सबै सचेत बन्न आवश्यक छ । 
 

टिप्पणीहरू