कलियुग हो हजुर, अविवाहित भन्दै फसाउनेको कमी छैन

कलियुग हो हजुर, अविवाहित भन्दै फसाउनेको कमी छैन
सुन्नुहोस्

प्यारमा जब म्याच फिक्सिङ हुन्छ त्यसले कहिल्यै भलो गर्दैन । एउटासँग केही पाउनलाई एउटा प्रपञ्च रच्ने र अर्काेबाट पनि केही लिनका लागि अर्कै नौटंकी अपनाउने । तर, जब दुवै पक्षबाट लाभ लिएको पत्ता लाग्छ त्यसले आखिर सिध्याउने भनेकै त्यही ‘खेलाडी’लाई नै हो । सच्चा खेलाडी मैदानमा जुनसुकै परिस्थितिको पनि सामना गर्छ, हारे पनि एउटा उदाहरणीय बन्छ । फाइदा र स्वार्थ लिएर मैदान छिरेको खेलाडीले सच्चा खेल प्रेमीको भविष्य नै बिगारिदिनेरहेछ ।

बोलीमा एकरूपता छैन तैपनि मायामा नक्कली जोगीले खरानी घसेझैँ औधी नाटक छ । भनाइ नै छ कि ‘त्रिया चरित्रं, पुरुषस्य भाग्यम, देवौ ना जानाति कुतो मनुष्यः’ अर्थात् केटीको चरित्र र पुरुषको भाग्य भगवान्ले पनि जान्दैनन् भने मानिसको त के कुरा ? कुन स्त्री कस्तो स्वभावकी छ, कुनसँग प्यार गाँस्दा जीवन सप्रिन्छ, कुनसँग अंकमाल गर्दा सुन्दर जीवन गाँसिएको फूलको मालाजसरी चुँडिन पुग्छ । कसैसँग भेटेपछि, चिनापर्चीपछि चोखो माया लगाउनु त पाप होइन होला ? कि यसो हो भने प्रकृतिमा स्त्री र पुरुष नै नभइदिनुपर्‍यो नत्र दुइटैको योगदानले सृष्टिको रक्षा त भएकै हो । र, त्यसको जिम्मेवारी दुवैमा छ । तर, यो कसले बुझिदिने ? जब सम्बन्धमा दुर्घटना हुन्छ तब मात्र यस्तो महसुस हुने हो कि ? या यस्तो कसैलाई मात्र हुने हो ? 

भविष्य सबैको आ–आफ्नै हुन्छ । तल्लो वर्ग र माथिल्लो वर्गबीचको समानता उही हुँदैन । तर, यी दुईबीचको चेपुवामा पर्ने उही मध्यम वर्ग हो कि ! गुरुङ जाति सबै धनी हुँदैनन्, सबै गरिब पनि हुँदैनन्, सबै जातिमा यही होला । म मध्यम वर्गीय परिवारबाट काठमाडौं छिरेँ भविष्यको रंग भर्न । २०७० मा एसएलसी परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि कास्कीबाट प्लस टु सकेर काठमाडौंमा पहिलोपटक पाइला टेकें । मामा माइजूसँग धापासीमा बस्थेँ । प्लस टु सकेर काठमाडौं आउनुको एउटै उद्देश्य थियो वैदेशिक यात्रा । र, चहार्न थालें काठमाडौंभित्रका कन्सल्टेन्सी । 

अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण अर्थात् आइएलट्स उत्तीर्ण गरेर अष्ट्रेलिया जाने धोको थियो । केही दिनको डुलाइपछि बागबजारस्थित पद्मकन्या क्याम्पसअगाडिको एउटा कन्सल्टेन्सीमा पढ्ने निधो भयो । पढाइ राम्रै भएकाले खासै समस्या थिएन । आइएलट्स परीक्षामा ८ ल्याएर अष्ट्रेलिया जाने पहिलो खुड्किलो त तय भयो तर पैसाको जोहो गर्नु थियो । त्यसो गर्न मामा माइजू र घरपरिवारतिर भनसुन भइसकेकाले कुनै समस्या थिएन । केवल अष्ट्रेलिया कहिले उड्ने अनि भविष्य बनाउने एउटै पीर थियो । 

कन्सल्टेन्सीमा डकुमेन्ट मिलाउने सिलसिलामै सीमासँग चिनजान भयो । ब्राह्मण समुदायकी उनी रिसेप्सनिष्ट (सोधपुछ) को रूपमा कार्यरत थिइन् । कन्सल्टेन्सीमा पढ्न आउनेलाई फाराम भराउने, कक्षा देखाउने र रकम लिने उनकै जिम्मा थियो । शुरुमा त खासै सम्बन्ध जमेन । किनकि कक्षा सकिनेबित्तिकै म घर जान्थें र अध्ययनमै घोटिन्थें । दायाँबायाँ सोच्ने, हिँड्ने, डुल्ने र मोजमस्ती गर्ने त फुर्सद नै मिल्दैन थियो । फुर्सद मिले पनि आफूअनुकूल साथीसँग भेट्थें, उनीहरूसँगै कक्षासम्बन्धी छलफल हुन्थ्यो । र, केवल एब्रोड स्टडी कसरी सफल बनाउन सकिन्छ भन्ने नै ध्याउन्न हुन्थ्यो ।

दृढ संकल्प लिएर हिँडेको त्यो योजना सफल पनि भयो । कोरोनाको त्रास विस्तारै मत्थर हुँदै थियो । एब्रोड स्टडीका लागि भिसा आइसकेकाहरूको हकमा जाने बाटो खुल्दै थियो । लगभग ३ महिनाभित्र अष्ट्रेलिया पुग्दै थिएँ । मनमा एक खालको छटपटी र आनन्द त थियो नै तैपनि कहिले उड्ने भन्ने नै थियो । यही सिलसिलामा कन्सल्टेन्सी जानु, आउनु गर्नुपथ्र्यो । कक्षा लगभग पूरा भए पनि दिनमा एकपटक कन्सल्टेन्सी गइएकै हुन्थ्यो । एउटा बहाना बनाएर पनि दैनिक त्यता धाइन्थ्यो । यसरी धाउनुको कारण उनै सीमा थिइन्, जसले मनमा मायाको सिमाना गाडिदिएकी थिइन् । 

शनिबार सीमासँग रम्ने, घुम्ने दिन । फोन गरेँ, लागेन । फेरि सम्पर्क गरेँ, भएन । म्यासेञ्जरमा म्यासेज गरेँ, अफलाइन छ । घण्टौँसम्म म्यासेज सिन छैन । मनमा छट्पटी हुन थाल्यो, अब के गर्ने ?

मायाको सिमाना जति नजिक हुँदै गयो उति सम्बन्धको गति गोलपोष्टमा पुग्न लागेको फुटबलजस्तै लाग्ने रहेछ । सच्चा प्रेम गर्नेलाई आत्मघाती गोल होला र आफैँ मैदानमा ठहरै परिन्छ भन्ने के चेतना हुन्छ र ? मायामा पर्नेलाई न हावाहुरी न घामपानी ! अन्धो मायामा डुबेपछि समुद्र नै भइनेरहेछ । मायाको समुद्रको गहिराइमा डुबुल्की मार्दै थियो, हल्काफुल्का मायाको रसपान पनि शुरु भइसकेको थियो । चुरोट, बिंडी खान तलतल लाग्नेलाई जस्तै मलाई पनि मायाको प्यासले एकछिन कोठामा बस्नै नसक्ने आदत परिसकेको थियो । 

कहिले बौद्ध, कहिले स्वयम्भूतिर शान्तिको माया पाउन दौडिन्थ्यौँ । शीतल माया पाउन कहिले तारेभीर त कहिले जगडोलको वन थियो । मायामा छुट्टै तरंग ल्याउन कहिले सिनेमा, कहिले क्याफे जान्थ्यौँ । बिहान १० बजे शुरु हुने सीमाको जागिर कहिले शनिबार होला भन्ने एउटै चिन्ता हुन्थ्यो । अष्ट्रेलिया जानभन्दा पनि अब त सीमाकै मायामा डुबेर संसार खोज्न थालिसकेको थिएँ । अष्ट्रेलियाको रंगीन संसार केवल तस्बिरमा देखेको थिएँ तर सीमाको रंगीन सौन्दर्य अनि कोमल माया नजिकैबाट छामिसकेको थिएँ । त्यसैले पनि अष्ट्रेलियाभन्दा सीमाको मायाको देश नै जान दैनिक आतुर हुन्थें । र, त्यो अवसर पाइनै रहेको थिएँ । 

सीमाको प्रेमको देशमै डुबुल्की मारिरहँदा अष्ट्रेलिया जाने समय छोट्टिँदै थियो । एक महिना मात्र बाँकी रह्यो अब । जाने समय जति पातलिँदै थियो, उति सीमासँग दिनरात बाक्लिन खोज्थेँ । अष्ट्रेलिया जाने समयको घडीसँगै सीमाले पनि मायाको घडी कताकता घटाएजस्तो महसुस हुन थालिरहेको थियो । तैपनि दैनिक भेटघाट भने भइनै रह्यो । सोच्थें– गाढा मायामा यस्तै हुँदै हो । 

सच्चा मायाको पुजारी मलाई सीमामाथि कहिल्यै शंका थिएन । घरमा अन्तरजातीय विवाहको ढोका बन्द हुँदाहुँदै जसरी पनि आग्लो भाँचेर सीमालाई भित्र्याउने दह्रो आँट कसिसकेको थिएँ । उनले पनि जुनीभर साथ दिने वचन दिएपछि मैले आफूप्रति उनको भरोसालाई टुट्न नदिने नै बाचा गरेको थिएँ । तर, सम्बन्ध, आँट, भरोसा, महत्वाकांक्षा पानीको फोकाजस्तै भएपछि फुट्न कति समय लाग्नेरहेछ र ? दुवैले योजना बनाएका थियौँ– पहिले म अनि सीमा अष्ट्रेलिया, त्यसपछि बेग्लै संसार । शनिबार सीमासँग रम्ने, घुम्ने दिन । फोन गरेँ, लागेन । फेरि सम्पर्क गरेँ, भएन । म्यासेञ्जरमा म्यासेज गरेँ, अफलाइन छ । घण्टौँसम्म म्यासेज सिन छैन । मनमा छट्पटी हुन थाल्यो, अब के गर्ने ? उनले यसबीच आफ्नो घर लगेकी थिइनन् । जे सोच्यो सबै असम्भव । त्यो दिन सीमाको यादमै झोक्रिएर बित्यो, राति भयो न म्यासेज, न कल । अब त अति भयो, के गर्ने ? विकल्प केही छैन । खान मन छैन, दुई बोतल बियर तोडेपछि कतिखेर निद्रा प¥यो पत्तै भएन । 

बिहानको ९ बजिसकेको रहेछ । हत्तपत्त उठेर सीमाकै म्यासेज र कल आयो कि भनी मोबाइल अनलक गरें । नभन्दै म्यासेज आएको देखेँ । एकपटक औधी खुशी भएँ । चैतमा परेको पानीजस्तै भएको मन राम्रोसँग भिज्नै नपाई सुक्खा भयो । सपना कि विपना ठम्याउन सकिनँ । ‘धेरै भन्न खोजेको, भन्न सकिन । तिमीले मलाई भन्ने मौका पनि दिएनौ । तिम्रो प्यारमा डुब्दा मैले मेरो प्यार भुलिसकेको पत्तै भएन । विगत जे थियो एउटा सपना भनिदेऊ, विपनामा जे छौँ यादमा नतड्पियौँ । आज अष्ट्रेलिया उड्दै छु । तिमीलाई पनि अष्ट्रेलिया यात्राको शुभकामना ! हामी सदैव एउटा निकट साथी भइरहनेछौँ । गुड बाई निश्चल !’ बेस्सरी रोएँ, चित्त बुझाउन खोजेँ, कसरी यस्तो सम्भव हुन्छ ? अन्त्यमा आफैँले आफैँलाई सम्हालेँ ‘उसले छाडी भने म पनि उसको याद छाड्दिउँला’ भनेर कैयौँ दिन मनलाई सम्झाएँ, अहँ सक्दै सकिनँ । 

छाडेर जानेले छाडेपछि सधैँ निष्ठुरीको यादमा डुबेर कतिञ्जेल चल्छ जीवन ? अष्ट्रेलिया जाने समय हप्ता दिन बाँकी थियो । किनमेल गरेँ । र, उड्नु एक दिनअघि कन्सल्टेन्सी जाँदा थाहा भयो, उनी त विवाहित रहिछन् । श्रीमान् अष्ट्रेलिया गएको ५ वर्ष कटिसकेको रहेछ । र, उनी पनि डिपेन्डेन्टमा उडेकी रहिछन् । उनले त मलाई फुर्सदको समय कटाउने साधन पो बनाएकी रहिछन् । 

– निश्चल गुरुङ, घान्द्रुक, कास्की
 

टिप्पणीहरू