पुसभित्र कर तिर्नेलाई महानगरपालिकाको आकर्षक छुट

पुसभित्र कर तिर्नेलाई महानगरपालिकाको आकर्षक छुट

पोखरा महानगरपालिकाले पुस मसान्तभित्र कर तिर्ने करदातालाई छुट दिने भएको छ । महानगरले आर्थिक ऐनबमोजिम बुझाउनुपर्ने कर तोकिएको समयावधिभित्र पालिकाको कार्यालय वा वडा कार्यालयमा दाखिला गर्नेलाई छुट दिन लागेको हो । 

महानगरले सूचना जारी गर्दै चालु आर्थिक वर्षको सम्पत्ति कर, भूमिकर, व्यवसाय कर पुस मसान्तभित्र तिरेमा १० प्रतिशत छुट हुने जनाएको छ । त्यस्तै, घर निर्माण गर्दा अण्डरग्राउण्ड पार्किङ भएमा नक्सापास दस्तुरमा ५० प्रतिशत छुट दिने महानगरको भनाई छ । 

सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संस्थानलगायत संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भएका मुनाफारहित सामाजिक संस्थाहरुले तिर्न बाँकी रहेको बक्यौता रकमसहित चालु आर्थिक वर्षसम्मको सम्पत्ति कर, भूमिकर तोकिएको समयमा दाखिला गरेमा ५० प्रतिशत छुट दिइनेछ । 

दर्ता नभएका व्यवसायहरुको हकमा महानगरले भनेको छ,‘पोखरा महानगरपालिका क्षेत्रभित्र आर्थिक वर्ष २०७७–७८ भन्दा अघिदेखि नै व्यवसाय गरेको तर महानगरपालिकामा दर्ता नभएको व्यवसायले यस चालु आर्थिक वर्षमा दर्ता गरेमा आर्थिक वर्ष २०७६–०७७ सम्मको सबै बक्यौता छुट हुनेछ । तर चालु आर्थिक वर्ष समाप्त भएपश्चात् त्यस्ते छुट सुविधा दिइने छैन् ।’

कर महानगरपालिकाको बेभसाइट तथा ई–सेवाबाट पनि तिर्न सकिने महानगरले जानकारी दिएको छ । त्यसैगरी, आर्थिक वर्ष २०८०–०८१ सम्मको सम्पत्ति कर, भूमिकर, घरजग्गा बहाल कर र व्यवसाय करको सम्पूर्ण रकम असार मसान्तसम्म भुक्तानी नभएमा १५ प्रतिशत जरिवाना गरिने महानगरको चेतावनी छ । 

अनुमति नलिई मेसिन प्रयोग तथा प्लटिङ गरेमा, सार्वजनिक स्थल तथा फुटपाथमा व्यवसाय गरेमा, प्राकृतिकजन्य सामानको उत्खनन वा निकासी गरेमा, नक्सापास नगरी संरचना निर्माण गरेमा, रुख कटानी गरेमा आर्थिक ऐनमा तोकिएबमोजिम जरिवाना गरिने स्पष्ट पारिएको छ । 

महानगरले दर्ताबिना सञ्चालन गरेका व्यवसाय जुनसुकै बेला बन्द हुन सक्ने भन्दै सचेतसमेत गराएको छ । साथै, घर नक्सा पास नगरी वा अनुमति नलिई निर्माण गरिएको भवन यथाशीघ्र राजश्व तिरेर अभिलेखीकरण गर्न सूचित गराइएको छ ।

टिप्पणीहरू