राणाकालीन सुत्र अझै निरन्तर
– डा. प्रशान्तध्वज अधिकारी
प्रविधिको विकासले आज संसार सानो गाउँजस्तै भइसकेको छ । त्यसैले लाग्छ, सम्पूर्ण ब्रह्माण्ड नै मानवको कब्जामा छ । तर, त्यही प्रविधि–विकासको उन्नत यात्रा अघि बढ्दै कहिलेकाहीँ निम्तिने भयंकर दुर्घटनाबाट हुने धन–जनको क्षति देख्दा लाग्छ र अनि भनिन्छ पनि प्रकृतिलाई कहिले पनि जित्न सकिँदैन । त्यही भएर होला हामी प्रकृतिलाई पूजा गर्छौं । हामीले गाउँघरमा गरेका पूजा, जस्तैः वनदेवता, जलदेवता, बाजे–बज्यै, भंगेर, माई, आदि मात्र सम्झने हो भने पनि प्रकृतिसँगको सम्बन्ध कति निकट छ जस्तो लाग्छ । यस्ता संस्कृति बचाउने दायित्व हामी सबैको हो ।
तिनै प्राकृतिक सरोफेरोमा रहेको गाउँघरका जंगलमा सिकार खेल्न आजकाल वर्जित छ । सिकार केही नपाई घर फर्किने बेलामा आज मृग मेरै छेउबाट जाँदा पनि गोली हानिन, किनकि त्यो मृग गर्भबाट भ्रुण निकाल्दै थिइन् भनेका थिए । आजका शिकारीले यो कुरा लागू गर्ने कल्पना गर्न सकिन्छ होला ? आजको मान्छे आफ्नैलागि मात्र सोच्ने हुँदै छ । आजको युवाले स्वदेशमा भविष्य देख्दैन । ती स्वदेशमै नभएपछि आमाबुबाले कसरी भावनात्मक माया पाउने ?
विकसित देशमा शरणार्थी भएर बसेका नेपाली धेरै छन् । तर, नेपाली पहिला नक्कली भुटानी हुने र त्यसपछि शरणार्थी हुने बाटो बनाउन राज्यको संवेदनशील अंगमा रही काम गर्नेहरू नै लाग्नु भनेको देशप्रति जनताको विश्वास–भरोसा छैन र यहाँ आस गर्ने ठाउँ पनि छैन भन्ने आममानिसको अनुभूतिलाई थप टेवा दिनु हो ।
जब देश सुगौली सन्धिमा बाँधिन पुग्यो, अनि नेपालीका दुर्भाग्यका दिन शुरु हुन थालेको हो जस्तो लाग्छ । राणाकालमा लाहुरे संस्कृति थप भित्र्याइयो, उँधो गतिको यात्रा यहीँबाट शुरु भयो । यदि, यसो नगरिदिएको भए स्वदेशमै गरी खाने वृत्ति–विकासको थालनी हुन्थ्यो होला । हुन त त्यो बेला राणाहरूले युवालाई विदेश पठाए, आफ्नो शासनलाई खतरा नहुने महसुस गरे, त्यसबापत गुमेका केही भू–भाग फिर्ता पनि पाइएको छ ।
तर, हाम्रोमा शासकले रैतीको शिकारको थालनी यहीबेलाबाट शुरु भयो । यो सस्कृतिले पञ्चायतकालमा पनि निरन्तरता पायो । यहाँसम्म आइपुग्दा त लाहुरे संस्कृति हाम्रोमा सम्पन्नतासँग दाँज्ने कडी भइसकेको थियो । तर, पञ्चायतकालको अवसानपछि सुनौलो भविष्यको आश गरेका नेपालीमाझ लाहुरे हुन जाने मात्र हैन विदेश जाने बाढी नै आयो । पञ्चायतकालमै रुग्ण हुँदै र केही चल्दै आएका कलकारखानातिर प्रजातान्त्रिक नेताहरूको पहिला आँखा गयो । पहिला आफ्ना कार्यकर्ता भर्ना अनि घाटा देखाई त्यस्ता कारखाना भटाभट निजीकरण हुन थाले ।
अब दुग्ध विकास संस्थान निजीकरण भए आश्चर्य नमाने हुन्छ । देशलाई परनिर्भर बनाउने विदेशी डिजाइन र शासक वर्गलाई आउने कमिसनले गर्दा पहुँचमा हुनेहरू गौँडा–गाैँडामा अर्थोपार्जनका लागि भइरहेकै छन् । हरेक क्षेत्रमा आफू र आफन्त, आसे–पासे वा त्यो नभए आर्थिक चलखेलले मात्र काम हुने परिस्थिति निर्माण गरी आममानिसको आसलाई छिन्नभिन्न पार्ने कोसिसले निरन्तरता पाइरहेकै छ । देशमा आज उत्पादन छैन, उद्योग छैन, रोजगार छैन, अनि इमान्दार र मिहिनेती मान्छेलाई काम गरी खाने वातावरण पनि छैन । श्रम गर्ने युवा जो देशका लागि अपरिहार्य छन्, तिनीहरूलाई गौँडा–गाैँडामा फसाउन वा ठगिन बाध्य पारिँदै छ । यी ठगिने क्रम स्वदेशमा मात्र हैन, विदेशमा पनि अपवादबाहेक भइरहेकै छ ।
आज हामीले चाहेर पनि राणाले थालेको विदेशी भर्ती केन्द्र बन्द गर्न सक्ने स्थिति छैन । किनकि रोजगारी दिन नसकेर हामीले हाम्रा नागरिकलाई त्योभन्दा तल्लो स्तरको काममा विदेश पठाइरहेका छौँ भने भर्तीकेन्द्र किन बन्द गर्ने भन्ने प्रश्न ठडिन सक्छ । त्यसैले लाग्छ, यो ३४ वर्षमा नेपालको समग्र अर्थतन्त्र ब्रोइलर अर्थतन्त्रमा रुपान्तरण भइसकेको छ । जसरी ब्रोइलर कुखुराले बाहिरबाट दिएको आहाराबाहेक अरु खान, खोज्न सक्दैन, त्यस्तै बाहिरबाट रेमिट्यान्स नआए समग्र अर्थतन्त्र चल्न नसक्ने आधार निर्माण भइसकेको छ । अहिले सुन्निएको अर्थतन्त्रबाट बाहिर निस्कन आममानिसलाई यहीँ गरिखान सक्ने वातावरण बनाउन नसके भोलि अचानक खुम्चने अर्थतन्त्रले देशमा ठूलै कम्पन लिएर आउने निश्चितजस्तै छ ।
सिंगापुरका लिक्वान युलाई त्यहाँका जनताले सम्मानित नेताको रुपमा चिन्छन् । उनले थिति बसाल्ने क्रममा अरु त के आफ्नै छोरा र श्रीमतीलाई पनि बाँकी राखेनन् । युवालाई स्वदेशमै आश देखाउन ढिलो नगराैँ, किनकि आशले बनाउनेतिर र निराशाले भत्काउनेतिर मानिसलाई डोर्याउँछ । समाज बदल्ने हो भने नीति–निर्मातादेखि आमनागरिक सबैले अध्ययन गर्ने संस्कार बसाल्नुपर्छ ।
टिप्पणीहरू