सेनाका हाकिमले नियत बिगारेपछि

सेनाका हाकिमले नियत बिगारेपछि
सुन्नुहोस्

गलत मनशायले महिला कर्मचारीलाई फोन तथा सामाजिक सञ्जालमा म्यासेज पठाउने एक जना विवाहित मेजर कारबाहीमा परेका छन् । शिक्षार्थीको रुपमा सैन्य आधारभूत तालिम गरिरहेकी कर्मचारीलाई पदीय प्रभावमा पारेर दुव्र्यवहार गर्ने सूर्यबहादुर क्षेत्रीको दुई वर्षसम्मका लागि बढुवा रोक्का गरिएको छ । 

‘अनुशासन तथा आचरणसम्बन्धी कसूर’ अन्तर्गत उनलाई सजायँ सुनाइएको हो । श्री नम्बर २ सैन्य तालिम केन्द्रमा कार्यरत क्षेत्रीले ती महिला सैनिकलाई कोठा सफा गर्ने बहानामा निषेधित इलाका (पुरुष अधिकृतको कोठा) मा प्रवेश गर्न लगाएर दुव्र्यवहार गर्न खोजेका थिए । 

उक्त हर्कतविरुद्ध उजुरी परेपछि मध्य पश्चिम पृतना हेडक्वार्टरका सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा समरी जनरल सैनिक अदालत गठन गरिएको थियो । उनले सैनिक ऐन, २०६३, दफा ४५ को खण्ड (क), दफा ५२ को खण्ड (६) र खण्ड (झ) बमोजिमको कसूर गरेको ठहर गर्दै अदालतले दुई वर्षका लागि बढुवा रोक्का गरेको हो । 

प्रधानसेनापतिले भर्खरै उक्त फैसलालाई सदर गरेका छन् । त्यस्तै, आफूखुशी भाग्ने मेजर विवेक कार्कीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको छ । ०७० जेठ ३० गते कसैलाई जानकारी नगराई सुइँकुच्चा ठोकेका उनीउपर भएको कारबाहीसमेत प्रधानसेनापतिले सदर गरेका छन् । उनीविरुद्ध परेको ‘भगौडासम्बन्धी कसूर गरेको’ मुद्दा पुर्पक्ष गर्नका लागि विशेष फौज बाहिनीका सहायक रथी भुवन खत्रीको अध्यक्षतामा सैनिक अदालत गठन भएको थियो ।

 

यसबीच, कसैलाई जानकारी नदिई वर्षौंअगाडि बेपत्ता भएका सिपाही खेमराज उपाध्यायलाई ३० दिन कैद र सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी जागिरबाट हटाइएको छ । 

उत्तरपश्चिम पृतना हेडक्वार्टर (तत्कालीन श्री मध्यपश्चिम पृतनामा कार्यरत उनलाई ‘भगौडासम्बन्धी कसूर गरेको’ अभियोगमा सजायँ गरिएको हो । २०५१ जेठ ४ गते हाजिर हुने गरी घर बिदामा छोडिएका उनी एकचोटि २९ वर्षपछि कार्यालयमा देखा परेका थिए । भदौ २४ गते हाजिर हुन आएका उनलाई सैनिक ऐन, २०६३, दफा ४२, उपदफा (१) को खण्ड (क) बमोजिम गत असोज १८ गतेबाट गणना हुने गरी ३० दिन कैद र २०५९ जेठ ४ गतेबाट लागू हुनेगरी सेवाबाट हटाइएको सेनाले जनाएको छ । 

इन्द्रध्वज गणका सिपाही धनबहादुर राई पनि सोही कसूरअन्तर्गत कारबाहीमा परेका छन् । उता जानकारीबिना बेपत्ता भएका सिपाही अशोक रोकाको पाँच वर्ष बढुवा नहुने भएको छ । नम्बर २३ बाहिनी अड्डामा कार्यरत उनको अनुपस्थित भएको आठ दिनको तलबसमेत काटेर राजस्व दाखिला गरिएको छ । 

उता, अर्काको एटीएम चोरेर पैसा निकाल्ने सिपाही नरबहादुर कटुवालले ‘सम्पत्तिसम्बन्धी कसूरसमेत गरेको’ अभियोगमा सजायँ पाएका छन् । श्री महावीर सौर्य गण (रेञ्जर) मा रहेका उनले सैन्य सञ्जनकुमार यादवको झोलाबाट एटीएम निकालेर पटकपटक गरी ७० हजार रुपैयाँ झिकेका थिए । परीक्षा सञ्चालन नहुँदै आफ्नालाई प्रश्नपत्र बाँड्ने सिपाहीको तीन वर्षसम्मका लागि बढुवा रोकिएको छ । उनी नम्बर ३ बाहिनी अड्डा पोखरामा कार्यरत राज कोइराला हुन् । 

त्यस्तै, विनायक दल गणमा कार्यरत कृष्ण पाण्डे २०६१ साउन २ गते हाजिर हुनेगरी निस्किएर एकैचोटि गत भदौ २१ गते कार्यालयमा उपस्थित भएका थिए । उनलाई असोज २१ गतेबाट गणना हुने गरी ३० दिन कैद र सेवाबाट हटाइएको छ । 

१८ दिन बेपत्ता भएका अमल्दार दलबहादुर रानाको पद घटुवा गर्नुका साथसाथै तलब पनि काटिएको छ । श्री शिवदल गणमा कार्यरत उनी गत साउन १४ गतेबाट २२ दिन घर बिदामा थिए । तोकिएको समयमा नआएपछि श्रीमती लक्ष्मी रानाले बुझाउन ल्याएकी हुन् । 

जगदल गणमा कार्यरत गनर छविलाल भट्टराई र सन्तोष राउतलाई २०७१ असार ३२ र २०७२ पुस ८ गतेबाट लागु हुनेगरी सेवाबाट निष्कासन गरिएको छ । तारबार नाघेर भागेका अमल्दार भीमकुमार राई पनि सेवाबाट हटाइएका छन् । श्री रिपुमर्दन गणमा रहेका उनलाई कल्याणकारी योजना निर्देशनालय, ऋण शाखाबाट लिएको सहुलियतपूर्ण ऋण पनि चुक्ता गर्न लगाइएको थियो । 

चिट सारिरहेको अवस्थामा फेला परेकी प्यूठ मीना न्यौपाने ‘अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको’ अभियोगमा कारबाहीमा परेकी छिन् । रुरु भैरवदल गणमा कार्यरत उनले तालिमको मध्यावधि लिखित परीक्षामा चिट लगेकी थिइन् । 

यसैबीच, घरायसी तथा व्यक्तिगत कारण देखाएर राजीनामा दिएका तीन सेनानी र एक सह–सेनानीको राजीनामा स्वीकृत गरिएको छ । श्री नम्बर १४ बाहिनी अड्डाका आशिष बस्नेत र श्रीनाथ गणका शिवशरण गुरुङ्गको निवृत्तिभरणमा राजीनामा स्वीकृत भएको हो । त्यस्तै, श्री नयाँ गोरखगणका सेनानी दुर्गा सिजापती र नम्बर १६ बाहिनी अड्डाका सह–सेनानी रोश्री श्रेष्ठले उपदानमा दिएको राजीनामा स्वीकृत भएको बुझिएको छ ।
 

टिप्पणीहरू