कम्युनिष्ट सकिन कतिबेर लाग्छ र कठै !
अन्तको त भन्न सकिन्न तर नेपालमा कम्युनिष्टको पतन कम्युनिष्ट पार्टीको नेतृत्वबाटै हुने गरेको ठोकेरै भन्न सकिन्छ । कस्तो बिचित्रको दोग्ला चरित्र रहेछ, द्वैध चरित्र रहेछ भने ‘...लाई भन्दा देख्नेलाई लाज’ भनेजस्तो । ती गाउँको छट्टुभन्दा पनि छट्टु देखिन्छन् ।
बुर्जुवाहरूले समेत कुरीकुरी गर्न सक्ने तहमा स्खलित भइसकेका यिनीहरूलाई कम्युनिष्ट पार्टीको नेता भन्न लाज लाग्ने अवस्था बनेको छ । बुर्जुवाहरूले बरु सादा जीवन उच्च विचार भनेर कुरा गर्न सक्छन् तर नैतिक रुपले यो भन्न नसक्ने अवस्थामा हामी पुगेका छौँ । एकदमै सामान्य कुरा गरी हेरौं । एमालेका लगभग सबै केन्द्रीय नेता, एकीकृत समाजवादीको मूल नेतृत्व र माओवादी केन्द्रका पनि अधिकांश केन्द्रीय नेता यो देशका अत्यन्तै हुनेखाने वर्गमा रुपान्तरित भएका छन् ।
यिनीहरूको पासमा राम्रो घर छ, गाडी छ र चुरिफुरी हेर्दा पैसा पनि प्रशस्तै छ भन्ने देखिन्छ । यिनीहरू काठमाडौंबाट जिल्लातिर झर्दा साथमा चार–छ जना मान्छे हुन्छन् । काठमाडौंमै पनि वरिपरि मान्छे लिएर हिँड्ने गर्छन् । यिनले ती सबैको यातायात, बास र खाना खर्च व्यहोर्छन् । यो सबै गर्ने पैसा कहाँबाट आयो होला ? यो प्रश्न मैले किन गरेको भने यिनीहरू आफू गरिब थिए, खान लाउनकै निम्ति आम नेपालीलाई जत्तिकै समस्या थियो । यो कुराको प्रमाण वर्षमान पुन र ओनसरी घर्तीको भाइरल तस्बिर छ । कुनै रोजगारी छैन, कुनै व्यवसाय छैन, कुनै प्रकारको उत्पादनमा सहभागिता छैन, कुनै प्रकारको व्यापार छैन तर यिनको उठबस, चालढाल, लवाईखवाई हेर्दा ठूला धनी, साहु–महाजनजस्ता लाग्छन् । के यस्तै हुन्छ कम्युनिष्ट नेताको चरित्र !
हिन्दीमा ‘आशियाना अपनों का’ भन्ने भनाइ छ । त्यो भनेको ‘ओैलाद के लिए बाप वहाँ भी हात फैला देता हे जहाँ वो पाँव रखना भी पसन्द नहिँ करता’ यस्तो हो । आम मान्छेलाई आफ्नै समस्याहरूसँग जुध्न फुर्सद छैन । घर कसरी चलाउने ? केटाकेटीको फिस कहाँबाट ल्याएर तिर्ने ? स्कूलको ड्रेस केले किन्दिने ? जाडोको लुगा कसरी किन्ने सबैलाई ? मरमसला कसरी किन्ने? विवाहको निम्तोमा गोडधुवा कहाँबाट ल्याएर हाल्नेजस्ता यावत् समस्याको बीचमा बाँचेको छ हामी सबैको जिन्दगी । हिजैबाट हामीलाई सिकाइएको के थियोे भने जाँडरक्सी खान हुन्न, सुर्ति चुरोट पनि खान हुन्न । काम नगरिकन खान हुन्न । ढाँट्न, छल्न, चोर्न हुन्न, फजुल खर्च गर्न हुन्न । नकमाएको खान हुन्न । कम्युनिष्टका यिनै नेताबाट यस्ता कुराहरूको प्रशिक्षण पाएका धेरै कार्यकर्ता अझै पनि यिनै कुरालाई आफ्नो जीवनको मार्गदर्शक सिद्धान्त मानेर निरन्तर लागि रहेका छन् । तर यही कुराको प्रशिक्षण दिँदै हिँडेका तिनै मान्छे आज कहाँ पुगे र तिनले कस्तो जीवन बाँचेका छन् भनेर नाङ्गो आँखाले देख्न सकिन्छ । हिजो पञ्चायतले समेत एकाउन्न जनाभन्दा बढीलाई भोजभतेर खुवाउन निषेध गरेको थियो ।
सामन्ती राजमा समेत सामाजिक विभेद देखिन हुन्न भन्ने चेत देखिन्थ्यो । तर आफूलाई सर्वहारा वर्गको नेता, कम्युनिष्ट पार्टीको क्रान्तिकारी नेता ठान्ने र प्रधानमन्त्री जस्तो मान्छेले परिवारकै सदस्यको विवाह यसरी तामझाम, भड्किलो र खर्चिलो गर्नु अथवा गर्न लगाउनु सिद्धान्त र आदर्श दुबैले नदिने कुरा थियो । प्रचण्डले त एउटा उदाहरण प्रस्तुत गर्नुपर्ने थियो । रेणुले पनि यो कुरामा ध्यान पु¥याउनुपर्ने थियो । धेरैलाई थाहा छ प्रचण्डकी उत्तराधिकारी यिनै हुन् पार्टीमा । यिनले पनि नमुना पेश गर्नुपर्ने थियो आफूले अँगालेको अथवा निर्माण गर्न चाहेको साँस्कृतिक, राजनीतिक आस्थाको । नवविवाहित दम्पतीलाई सुखद दाम्पत्य जीवनको धेरै धेरै शुभकामना तथा बधाई छ । देशको प्रधानमन्त्रीकी नातिनी, मेयरकी छोरी भएको नाताले उनको शुभविवाह धुमधामका साथ भएकोमा भावनात्मक हिसाबले कसैको दुख मनाउ छैन र हुनु पनि हुन्न ।
ती नानीको चाहना हुनु पनि स्वाभाविक छ किनभने उनको वरिपरि उसैगरी भएको हो । तर एउटा क्रान्तिकारी नेताले यस्तो गरेर आफ्नो सिद्धान्त, विचार र आस्थाले अनुमति नदिने, एक प्रकारको साँस्कृतिक बिचलन भन्न सकिने काम किन गरेको होला ? दुःख यस कुरामा रहेको छ । विचारधाराकै कारणले सुट लगाएरै दागबत्ती दिने, किरिया नै नबस्ने, कपाल नखौरिनेले आफ्नै आस्था र आफैले स्थापित गर्न चाहेको मान्यताविपरीत यस्तो तामझाम गरेर मान्छेलाई जिब्रो टोक्ने बनाउनु ठीक थिएन । यो पाँचतारे संस्कृतिको बिजारोपण प्रचण्ड र रेणु दहालले मिलेर जसरी गरे त्यसले कम्युनिष्ट हुँ र मेरो नेता हो प्रचण्ड भन्नेहरूको शीर निहुरिएको छ । चारैतिर सबैका मुखमा जनवादी विवाहको खिल्लि उडेको सुनिन्छ र सबैले धनवादी विवाह भनिरहेका छन् । प्रचण्ड र रेणुको राजनीतिसँग असहमत पनि हुनसक्ने ती बेहुला बेहुलीको स्वतन्त्रतापुर्बक विवाह गर्न पाउने अधिकारलाई समेत राजनीतिक आस्थाभित्र पारेर विवादित बनाउने काम भयो ।
यसको अर्को पाटो पनि छ । यो समारोहमा भएको खर्चको स्रोत के हो ? प्रचण्डको सम्पत्ति भनेको तीनकठ्ठा जमिन हो । त्यो बिक्री गरेका छैनन् । रेणुको पनि मेराबाबै भन्नमिल्ने जायजेथा छैन । दुवै जना उत्पादनमा संलग्न छैनन् । दुवैको जीविकाको आधार तलब नै हो । यति धेरै पैसा कहाँबाट आयो ? आफैले खर्च गरेको भए पनि अथवा ठेकेदार व्यापारीले स्पोन्सर गरेको हो भने पनि अथवा यति वाला आङछिरिङको होटलले नै आयोजना गरिदिएको हो भने पनि त्यो अनैतिक हो, भ्रष्टाचार हो र सामाजिक विकृति हो ।
कस्तो पाखण्ड छ, हाम्रो कुरा र काममा अरूलाई जनवादी गीत सुन्नुपर्छ भन्ने, प्रगतिशील गीत सुन्नुपर्छ भन्ने, क्रान्तिकारी गीत सुन्नपर्छ भन्ने तर आफूभने अरेली काँढैले भन्ने गीत सुन्ने र नाच्ने । कुन गायक मनपर्छ भन्दा नारायण गोपाल अरे । यस्तो हो भने जनताको गीत किन सुन्नु अरूले पनि ? अरूलाई जनताका घरगोठमा सुत्न भन्ने तर आफू भने एसी भएको कोठामा सुत्ने । टंक कार्कीलाई याक चुरोट, त्यो पनि मागेर, खाँदा कारबाही भएको थियो भन्छन् कुनै बेला । आज यो संस्कृति कहीँ छैन । माके मात्रै होइन कुनै पनि वामपन्थी दलमा छैन ।
अन्त्यमा, वामपन्थमाथि अन्तबाटभन्दा ज्यादा खतरा वामपन्थी नेतृत्वबाटै छ । विकास र समृद्धिको कुनै खाका नभएको वामपन्थले समाजवादको गोरेटो खन्ने कुरा काकाकुलले पानीको आशा गरेजस्तै हो । यथार्थमा यो ढोंगी वामपन्थ हो । त्यसकारण यो कहिले गेरुवावस्त्रमा प्रकट हुन्छ, कहिले हरिकीर्तन र आरतीमा प्रकट हुन्छ, कहिले गलामा रुद्राक्षको मालामा प्रकट हुन्छ त कहिले पाँचतारे होटलमा प्रकट हुन्छ । मलाई पनि डाक्टर बाबुराम भट्टराईको भनाइमा सहमत हुन मन लाग्यो ‘निजी सम्पत्तिको भोकले नै कम्युनिष्टलाई सक्नेछ ।’
टिप्पणीहरू