पैसाको प्रलय छ बालेनका पालामा

पैसाको प्रलय छ बालेनका पालामा

कराउनेको मुखमा पैसाको बुझो लागेपछि केसम्म हुँदोरहेछ भन्ने कुरा देशको राजधानी काठमाडौं महानगरमै छर्लङ्ग छ । महानगरपालिकाले २९ औं दिवश मनाउने क्रममा गरेका अनेकौं खर्चको शीर्षकभित्र एउटा रमाइलो शीर्षक भेटिन्छ, ‘सरसफाई’ को । सडक र विभिन्न भौतिक संरचनामा झार उम्रिएर राजधानीको रुप बिग्रिएको भन्दै महानगर दिवसको पूर्वसन्ध्यामा झार उखेल्ने कामलाई उक्त शीर्षकभित्र समेटियो । प्रत्येक वडालाई १ लाख ५० हजार रुपैयाँका दरले बजेट पठाइयो । तर झार उखेलेको खासै देखिएन । त्यही नाममा ३२ वटा वडामा ४८ लाख रुपैयाँ ‘खर्च’ भइसक्यो । त्यही तरिकाले प्रत्येक वडालाई एक–एक वटा झाँकी ल्याउनु भन्दै १ लाख ५० हजारकै दरले त्यत्तिकै रकम पठाइयो । सबै वडाले झाँकी ल्याए/ल्याएनन्, कुन्नि पैसाचाहिँ सबैले पाए । अन्यत्र र अरुले यस्तो गरेको भए ‘भ्रष्टाचार’, ‘पारदर्शिता’ का नाममा ठुल्ठूला स्वर निस्कन्थे ।

तर, दू्रततर सूचना प्रवाहमा सबभन्दा अगाडि मानिने काठमाडौंवासीले आफ्ना जनप्रतिनिधिले गरेका यस्ता हर्कतबारे केही सुन्न, बुझ्न पाएका छैनन् । जनताले त थाहा नपाएर कुरा उठाएनन्, थाहा पाएका पूर्वमेयर विद्यासुन्दर शाक्यले पनि एक्लै बर्बराउनुबाहेक केही गर्न सकिरहेका छैनन् । उनी भन्ने गर्छन्, ‘एक्लो मेयर बालेन आफूखुशी गर्छन्, कार्यपालिकाका बहुमत सदस्य कांग्रेस र एमालेका छन् । कोही केही बोल्दैनन् ।’ हुन पनि बालेनले गर्नै पर्ने काममध्येको फोहोरमा ८५ र ट्राफिक व्यवस्थापनमा १५ प्रतिशत काममध्ये सिन्को पनि भाँचेका छैनन् । तर, देशभरका मेयरमध्ये उनकै ‘हाईहाई’ छ । उनको बेवास्ताका कारण फोहोर व्यवस्थापन गर्नुपर्ने टेकुस्थित वातावरण विभागका कर्मचारी दिक्दार छन् । ट्राफिक व्यवस्थापन गर्नका लागि सल्लाहकार नियुक्त भूपू एसपी जगतमान श्रेष्ठको कुरा सुनिँदैन, महानगर प्रहरीकै एसपी राजु पाण्डे आफैं ‘बालेन’ भएर दौडिरहेका हुन्छन् । ३० वर्षको जागिरमध्ये २० वर्ष उपत्यका ट्राफिकमा बिताएका जगतमानलाई चोक–चोक र गल्ली–गल्लीका कथा थाहा छ, राजुचाहिँ दरबारमार्ग, न्यूरोडतिरका व्यापारी तर्साउने काममा मात्रै ध्यान दिन्छन् । तर, यति हुँदा पनि जनप्रतिनिधिबाटै विरोधको स्वर निस्कँदैन । कारण हो, पैसा । 

एउटा वडाध्यक्षसँग पाँच लाखभन्दा कमका आयोजनालाई टेण्डरबिना नै बाँड्न पाइने सुविधा हुन्छ । त्यसैले कार्यपालिकाले दिएको बजेटबाट चार लाख ९९ हजार ९ सय ९९ रुपैयाँका आयोजना बाँडचुड गर्न अग्रसर हुन्छन् । अघिल्लो कार्यकालका मेयर विद्यासुन्दरले वडाहरूलाई आठदेखि दश करोडसम्म बजेट दिने गरेका थिए । तर, अहिले बालेनले १८ देखि २० करोडसम्म दिएका छन् । विद्यासुन्दरले बजेटमात्रै थोरै दिएका थिएनन्, बजेट दुरुपयोग होला भनेर तनाव पनि धेरै लिन्थे, दिन्थे । अहिले बालेनले भन्ने गरेका छन्, ‘चाहिन्छ भने अझै माग्नुस्, तर हल्ला गरेर नबस्नुस् !’ धेरैजसो वडाध्यक्ष दोेहोरिएका छन् । अब तेहे¥याएर उठ्न पाइन्न । अन्तिम अवसर यही हो । उनीहरूलाई अघिल्लो कार्यकालमा चाहेर पनि ‘बजेट व्यवस्थापन’ गर्न नसकिएको दुःख छ । त्यसैले अहिले बालेनले ‘मिलाएर गर्नुस्’ भनेपछि ‘मिलाउन’ मै मग्न छन्, कराउनेतिर मन लगाउँदैनन् । त्यसमाथि बेलाबेलामा ‘झार उखेल्न’ सहितका ‘बोनस बजेट’ पाइने भएपछि जनप्रतिनिधि त्यसै दंग !

महानगरमा उपमेयरसहित एमालेसँग १३ सीट छ । ३२ वडामध्ये १५ मा एकीकृत समाजवादी, बाँकी १७ जना कांग्रेसका वडाध्यक्ष छन् । कांग्रेससँग हुनुपर्ने १८ सीट हो, १६ नम्बरका मुकुन्द रिजालको निधनपछि एमालेका पुष्प महर्जनलाई कावा दिइएको छ । बालेनको गलत कार्यशैलीविरुद्ध बोल्नमा विद्यासुन्दर एक्ला किन भएका हुन् भने, दोहोरिने एमालेका बढी छन्, जो बालेनबाट प्राप्त आर्थिक सुविधामा मख्ख छन् । १ का भरतलाल श्रेष्ठ, २ का राजेन्द्र श्रेष्ठ, १८ का न्हुच्छेकाजी महर्जन, २१ का उदयचुडामणि बज्राचार्य, २२ का चिनकाजी महर्जन, २३ का मचाराजा महर्जन, ३२ का नवराज पराजुली दोहोरिएका हुन् । ३ का प्रेम थापा भने नयाँ हुन् ।

यसरी मनोमानीविरुद्ध बोल्नुपर्ने जनप्रतिनिधिको मुखमा बुझो लागेपछि अरु त अरु, कोहीसँग नडराउने नेपाली सेना पनि बालेनसँग हच्कियो । अघिल्ला वर्ष बसन्तपुर डबलीमा मनाइँदै आएको महानगर दिवस यस वर्ष आफूखुशी टुँडिखेलमा मनाउने घोषणा गरेपछि सेना रुष्ट थियो । जंगी अड्डाको हाताभित्र पर्ने टुँडिखेलको सैनिक मञ्चमा महानगर दिवस मनाउन सेनाले आनाकानी गरेपछि बालेनले ‘जनप्रतिनिधिसहित जनतालाई जंगी अड्डा घेर्न ल्याएँ भने के गर्नुहुन्छ ?’ भन्दै तर्साए । त्यसपछि लफडा गर्नुभन्दा सैनिक मञ्च खोलिदिनु उपयुक्त मानियो । 

यसबीच, न फोहोर, न ट्राफिक व्यवस्थापन भएको छ । भत्काएका संरचनाहरू जस्ताका तस्तै छन् । भित्री सडक, गल्लीमा खाल्डाखुल्डी उस्तै छन् । खन्दाखन्दैको टुकुचा नखन्न अदालतले आदेश दियो । खनेका भाग पुरिएको छैन । वर्षामा पो पानी बग्थ्यो, अहिलेको हिउँदमा ढल गन्हाएर बसिसक्नु छैन । आफैं गाँजा खानुपर्ने, उनैले सार्वजनिक रुपमा सुर्तिजन्य वस्तुको बिक्रिमा रोक लगाए । त्यो पनि अदालतले खारेज गरिदियो । यसरी अदालतले उनका एक दर्जनभन्दा बढी आदेश खारेज गरिसकेको छ । उनीजस्तै बहुलठ्ठी, मदिरा र महिला मामिलामा बद्नाम एसपी राजु पाण्डेले जे–जे भन्यो, त्यही त्यही मान्ने कारण बालेनका आदेशहरू खारेजीमा पर्दै गएको कर्मचारीहरू बताउँछन् । राजुका लागि उनले एउटा अत्याधुनिक गाडी नै खरिद गरिदिएका छन् । 

आफ्ना कामको प्रचार गर्नुपरे ८–१० वटा युट्युबर लिएर हिँड्ने गरेका छन् । हालै बन्द भएको अत्यधिक लाइक प्राप्त फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ मा १० प्रतिशत लगानी रहेको दावी गर्थे । शुक्रवार साँझ पर्नासाथ ट्वीटरमा लेखेर ‘सिंहदरबारमा आगो लगाउने’ सम्मका उत्तेजना झम्सिखेल, गैह्रीगाउँ र मुड्खु भञ्ज्याङतिरका रिसोर्टबाट आउने गरेका छन् । उनी गाँजा र मदिराका शौखिन हुन्, त्यसका निम्ति उक्त गन्तव्य रोजेका छन् । मुड्खुमा कलाकार ‘पाँडे बूढा’ को चरित्रमा कहलिएका अर्जुन घिमिरेले लैजाने र खानपानको समेत व्यवस्थापन मिलाइदिने गरेका छन् । उनी त्यहीँका बासिन्दा र व्यवसायी हुन् । भनिन्छ, बालेन कार्यकालको एउटै कुरा राम्रो छ, डरै डरमा राजश्व उठ्ने क्रम बढ्नु ।
 

टिप्पणीहरू