नाम राष्ट्रपतिको, मनोमानी मेयरको

नाम राष्ट्रपतिको, मनोमानी मेयरको

म्याग्दीको बेनी नगरपालिकामा सञ्चालित ‘चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता, २०८०’ मा चर्को विवाद सिर्जना भएको छ । मेयर सुरत केसीले मनोमानी चलाउँदै निर्देशिका संशोधन गरेपछि विद्यालयहरूले असन्तुष्टि जनाएको पाइयो । 

नगरपालिकाले मंसिर १९ गते सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई तीन बुँदे पत्र पठाउँदै सबै विधाका खेलहरूमा कम्तीमा पाँच ठाउँको सहभागिता हुनुपर्ने र सोभन्दा कम आए खेल सञ्चालन नहुने जानकारी गराएको थियो । 

सरोकारवालाहरुले उक्त निर्णयको विरोधसमेत गरेका थिए । बेनीबजारस्थित न्यू वेष्ट प्वाइन्ट आवासीय विद्यालयले भने पत्र लेख्दै निर्णय सच्याउन माग गरेको थियो । 

उक्त निर्णयले विद्यार्थीको नैसर्गिक अधिकार खोसेको प्रिन्सिपल डिबी दाहालको भनाइ छ । मंसिर २८ गतेदेखि राष्ट्रिय कप सञ्चालन गर्ने भनिएतापनि दुई दिनअगावै मार्शल आर्ट्स प्रतियोगिता गरिएको थियो । 

पाँच वटा विद्यालय समावेश नभए पनि पछि खेल भने खेलाइयो । यद्यपि, त्यसलाई राष्ट्रपति रनिङ शिल्डमा गणना भने गरिएको छैन । न्यू वेष्टकै विद्यार्थीहरूले मार्शल आर्ट्सका विभिन्न विधामा १६ वटा स्वर्ण पदक जितेका छन् । त्यस्तै, १० वटा रजत र चार वटा काश्य पदकसमेत हात पार्न सफल भएका छन् । 

तर, एउटाबाहेक अन्य पदक गणना भएको छैन । यता, वडा नम्बर ६ स्थित जमुनाखर्क माध्यमिक विद्यालयका विद्यार्थीले उसुमा पाँच वटा स्वर्ण जितेका छन् । उनीहरूले जितेकोमध्ये एउटा पनि गणना नभएको स्रोतको भनाइ छ । मार्शल आर्ट्सतर्फ कराँतेको १२, तेक्वान्दोको १२, उसुको १२ र महिला भलिबलको एक गरी ३७ पदक अंकविहिन भएको छ । 

पदक गणना नहुँदा विद्यार्थीले पाएको मेडल औचित्यहीन बनेको छ । एक अभिभावकले भने, ‘नगरपालिकाले कि त खेल नै नखेलाएको भए हुन्थ्यो । खेलाइसकेपछि नियमबमोजिम खेलाउनुपथ्र्यो । खेलमा पदक पाएका विद्यार्थीहरूको पदक नै गणना भएको छैन । त्यसो गर्नुको कारण के ? नगरप्रमुखले जे मनलाग्यो, त्यही गर्न पाउँछन् र ? पदक त दियो तर बजारबाट किनेर ल्याएकोजस्तो । ’

आफ्नो विद्यालयका विद्यार्थी नजित्ने भएपछि मेयरले जालसाजी गरेको आरोप छ । स्रोतका अनुसार उनको माउण्ट एभरेष्ट नामको निजी स्कुल छ । उनको स्कुलका विद्यार्थी खेलकुदमा खासै राम्रो नभएकाले छलकपटको बाटो रोजेको बताइन्छ । 

विद्यार्थीसँगै विद्यालय पनि मर्कामा 

न्यू वेष्ट प्वाइन्ट विद्यालयका सञ्चालक सुवास श्रेष्ठले भने, ‘मेयरले आफ्नो विद्यालयले नजित्ने भएपछि निर्देशिका नै संशोधन गर्नुभयो । रनिङ सिल्ड भन्नेबित्तिकै संघदेखि स्थानीय पालिकासम्म सञ्चालित खेलमा संघद्वारा निर्धारित निर्देशिकाबमोजिम खेलाइनु पर्दैन र ? यदि, आफ्नै नीति तथा निर्णयले खेल सञ्चालन गर्ने भए नाम रनिङ सिल्ड किन राख्नुप¥यो ? मेयर कप राखेर त्यसैअनुरुप कार्यविधि बनाएको भए हुन्थ्यो नि !’ उनले भने । 

यता, जमुनाखर्क माध्यमिक विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगानाले नगरपालिकामा प्रतियोगिताबारे प्रश्न उठाइएको बताए । नगरपालिकाले विद्यार्थीको माथि जान पाउने अधिकारमा अंकुश लगाउन खोजेको उनको भनाइ छ । 

खेलाडीलाई प्रोत्साहनमा तगारो

केन्द्र सरकारले खेलकुदको विकास गर्न खोजिरहँदा स्थानीय तह अड्चन बनिदिएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले गत असोज ८ गते सबै प्रदेश खेलकुद विकास परिषद्लाई पत्राचार गर्दै ‘राष्ट्रपति रनिङ सिल्ड निर्देशिका, २०७९’ संशोधनबारे जानकारी गराएको थियो ।

मार्शल आर्ट्सतर्फ कराँते, तेक्वान्दो, उसु र काता एकल थप गरी प्रत्येक तौल समूह र एकल कातामा प्रथम स्थान हासिल गर्ने खेलाडीलाई केन्द्रस्तरीय प्रतियोगितामा सहभागिता गराउन र भलिबल–कबड्डी खेलतर्फ एक–एक जना खेलाडीको संख्या थप गर्न निर्देशन दिइएको थियो । 

बढीभन्दा बढी खेलाडीलाई कौशल प्रदान गर्ने अवसर दिन र खेललाई प्रतिस्पर्धामूलक बनाउन सरकारले प्रयत्न गरिरहँदा स्थानीय सरकार पदकको अंक कटौतीतर्फ लाग्नु लज्जास्पद विषय हो । 

निर्देशिकाबमोजिम नै निर्णय गरिएको दाबी 

मेयर केसीले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको हरेक खेल विधामा पाँच विद्यालयले सहभागिता जनाउनुपर्ने निर्णय निर्देशिकाबमोजिम भएको दाबी गरे । 
‘पाँच वटा विद्यालय सहभागी हुनुपर्ने निर्णय निर्देशिकाबमोजिम नै हो । मार्शल आर्ट्समा मात्र होइन, अन्य खेलमा पनि त्यही नै लागु गरेका थियौं । सहभागिता एकदमै न्यून थियो । पहिले नै पाँच वटा विद्यालय पुगेन भने पदक गणना नहुने भनी स्पष्ट पारेका थियौं । त्यसैले यसमा विवाद गर्नुपर्ने कुरा छैन,’ उनले भने । 
 

टिप्पणीहरू