एनसेलले कसरी बढायो नाफा ?

एनसेलले कसरी बढायो नाफा ?

फेरि एकपटक देश एनसेल मोबाइलले गर्माएको छ । यससँगै अस्वाभाविक मूल्यमा शेयर बिक्रि गर्ने कारोबारका कथाहरु उधिन्ने क्रम पनि शुरु भएको छ ।

एनसेलको मुख्य लगानीकर्ता एक्जिएटा युकेले नियामक निकाय दूरसञ्चार प्राधिकरणलाई समेत पत्तो नदिई गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइटलाई गुपचुपमा शेयर बिक्रि गर्नुका पछाडि कुनै राजनीतिक वा अन्तर्देशीय व्यापारिक सञ्जालको हात हुनसक्ने भनी चर्चा चुलिएको हो ।

शुरुमा आठ करोड डलर, अर्थात् नेपाली रकम १० अर्बमा व्यवसाय शुरु गरी एउटा कम्पनीले एक सय ४३ अर्बमा शेयर बेच्ने अवस्था कसरी भयो ? यो सबभन्दा गम्भीर प्रश्नका रुपमा खडा भएको छ । पुरानो हिसावले उसको नाफा हेर्दा वर्षमा १५–१६ अर्ब हुन्छ ।

अहिले त ४० अर्ब भयो । २५ प्रतिशत कर काट्दा खुद नाफा १२ अर्ब हुन्छ । त्यसको ८० प्रतिशत एक्जिएटाले पाउने हो र २० प्रतिशत नेपाली शेयर होल्डरले पाउने हुन् । त्यसैले टड्कारो रुपमा प्रश्न उठेको हो कि, ‘१० अर्ब रुपैयाँमा नाफा कमाउने कम्पनीलाई १ सय ४३ अर्बमा कसरी किने ?’ त्यसो त नेपाली मुद्राको विनिमय दर पनि उच्च छ । अहिले डलरको मूल्य फरक छ । एनसेल चलाउँदाभन्दा नाफा पनि घट्दो छ ।

हिजोको १० अर्ब र आजको त्यति नै रकमको मूल्यांकन उति नै हुँदैन, घट्दो हुन्छ । शेयर किन्ने स्पेक्ट्रलाइट कम्पनीले एक्जिएटा मलेसियासँग पैसा सापट लिएको छ । शेयर बेच्ने एक्जिएटा युके आफैंमा घाटा गएको कम्पनी हो ।

तर, मलेसियासँग धेरै पैसा छ । नेपालको सञ्चय कोष, नागरिक लगानी कोष भनेजस्तो एक्जिएटा मलेसियाको पब्लिक शेयरमा सरकारी कार्यालयका लगानी छन् । र, उक्त कम्पनी पछिल्लो समय विवादास्पद मानिन्छ ।

अहिले भ्रष्टाचार मुद्दामा जेल सजायँ पाएका पूर्वप्रधानमन्त्री नजिब रजाककी कान्छी पत्नी कम्पनीकी अध्यक्ष हुन् । रजाक सरकारी कोषबाट एक करोड डलर निजी खातामा राखेका कारण भ्रष्टाचारी ठहर भई जेल गएका छन् । त्यसैले एनसेलका लागि ल्याइएको लगानीदेखि शेयर बिक्रि गर्नेसम्मको चरण शंकास्पद हुँदा त्यसभित्र देशी–विदेशी चलखेलबारे चर्चा भएको हो ।

भनिन्छ, राजनीतिक दलसम्म मिलाएर कारोबार गरेको हुनसक्छ । नेपालीमात्र हैन, विदेशीसम्मको संलग्नता हुने सम्भावना छ । मलेसियाको कम्पनीले स्पेक्ट्रलाइटलाई सापटी दिएको हेर्दा १ सय ४३ हैन, १ सय ५५–५६ अर्बमा लिएजस्तो बुझिन्छ । खर्ब–खर्बको कुरा गर्दा १२–१३ करोड हेरेनन्जस्तो छ ।

–    बुद्धिकुमार वन्त, गोरखा
 

टिप्पणीहरू