संवैधानिक पद बाँड्ने के हो सहमति !

संवैधानिक पद बाँड्ने के हो सहमति !

हल्ला एउटा, सम्झौता अर्कै । राष्ट्रियसभा निर्वाचन नजिकिँदै जाँदा सत्तारुढ गठबन्धनभित्र पुरानो सम्झौताको कुरालाई लिएर रस्साकस्सी शुरु भएको छ । 

देउवाले कांग्रेसभित्रको आन्तरिक समीकरण मिलाउने मेसोमा कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, आनन्दप्रसाद ढुंगानाजस्ता नेतालाई राष्ट्रियसभाभित्र व्यवस्थापन गर्दै लैजाने नीति लिनुभएको भनी बाहिरी चर्चा चुलिएको बेला सत्तारुढ दलका मुख्य नेताबीच राष्ट्रियसभा अध्यक्षका सन्दर्भमा पुरानो सहमतिको स्मरण गरिएको हो ।

गत वर्ष मन्त्रिपरिषद् विस्तार र उपराष्ट्रपति निर्वाचनको बेला शीर्ष नेताबीच सबै संवैधानिक पदमा समान उपस्थिति सुनिश्चित गर्ने कुरा भएको थियो । तत्काल उपराष्ट्रपति जसपालाई दिने र त्यसपछि प्राप्त हुने संवैधानिक पद एकीकृत समाजवादीले पाउने कुरा थियो । उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालले त आफ्ना नेताहरूसँग लिखत नै गरिएको भन्नुभएको थियो ।

अस्ति सोमबार आलोकनगरमा बसेको उक्त पार्टीको सचिवालय बैठकमा एक जना उपाध्यक्ष भन्दै थिए, ‘यदि त्यो कुरा सत्य हो भने अहिले किन चूपचाप बसिँदै छ ?’ भनिन्छ, यो कुरालाई अग्रभागमा राखेर सम्झौता गर्न जाँदा कांग्रेस बिच्किने र पाइने कुराहरू पनि नदिनेतिर लाग्ने खतरा भएका कारण सानो स्वरमा कुरा भइरहेको छ । माधव नेपालको चाहना छ, झापा आन्दोलनदेखि कोअर्डिनेशन केन्द्र, माले, एमाले हुँदै आजसम्म आफ्नो साथमा रहेका र राजनीति गरेर निरन्तर दुःखमात्रै पाइरहेका एकजना नेताको व्यवस्थापन । उनी हुन्, घनेन्द्र बस्नेत ।

कोशी प्रदेशबाट रिक्त हुने खस आर्य पुरुष कांग्रेसका छन् । त्यसको बदलामा अन्य प्रदेशको रिक्त हुने आफ्नो सीट छाडेर घनेन्द्रलाई भिœयाउने माधवको मनशाय बुझिन्छ । तर, धर्मनाथप्रसाद साह, प्रमेश हमालहरूको व्यवस्थापन कसरी गर्ने भन्ने अर्को चिन्ता छ ।

अर्कातिर, महाधिवेशनबाट केन्द्रीय नेतृत्व चयनको विधिलाई लिएर फरक फरक धारणा आएका छन् । उपाध्यक्ष तथा कृषि मन्त्री बेदुराम भुषाल केन्द्रीय कमिटीको पदाधिकारी हलबाट हैन, सहमतिबाट छान्नुपर्ने पक्षमा छन् । अरु सबैले हलले नै छान्ने कुरा गर्दा उनले त्यस्तो भनेका हुन् । ‘ओलीले जस्तो सूची टाँसेर जबरजस्ती लाद्ने काम नगरौं’, एकजना पदाधिकारीले भने, ‘हामी विधि र प्रक्रियामा जनवादी हुन सकेनौं भने विद्रोहको औचित्य पनि पुष्टि हुँदैन ।’ बेदुरामले चाहिँ हलबाट छानिने पदाधिकारीबाट हिटलर जन्मिने खतराका कारण आफूले त्यस्तो भनेको सुनाए । 

सम्मानित नेता झलनाथ खनालचाहिँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार हुने गरी अगाडि बढेको र त्यहीअनुसारको तयारीमा व्यस्त रहेको बताइन्छ । 
 

टिप्पणीहरू