पत्रकार महासंघमाथि सौता लागेपछि....

पत्रकार महासंघमाथि सौता लागेपछि....

व्यवसायिक पत्रकारितामाथि ‘वैकल्पिक तथा अनौपचारिक पत्रकारिता’ को चुनौति बढिरहेकै बेला नेपाली पत्रकारको साझा एवं एकमात्र छाता संगठन नेपाल पत्रकार महासंघका निम्ति नेतृत्वमै रहेका व्यक्तिहरू ‘सौता’ बनिदिँदा समस्या परेको छ । 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी अभियानमा संलग्न आइएफजे र आइफेक्सजस्ता संस्थासँग नेपाल पत्रकार महासंघले वर्षौंदेखि कायम राख्दै आएको आवद्धतालाई बिच्छेद गर्दै फ्रिडम फोरम नामक संस्थाले आफ्नो एकल आवद्धता स्थापित गर्न खोजेपछि यस्तो चुनौती थपिएको हो ।

महासंघकै पूर्वसभापति तारानाथ दाहालले स्थापना गरेको उक्त एनजिओले विश्वस्तरका संस्थाबाट प्राप्त हुने आर्थिक तथा भौतिक स्रोतमाथि एकलौटी गर्नका निम्ति महासंघकै पदाधिकारीलाई प्रयोग गरेको आरोप छ । नेपाली कांग्रेससँग सम्बन्धित नेपाल प्रेस युनियनले पत्रकार महासंघको वर्तमान नेतृत्वमा वर्चस्व कायम गरेकै बेला सोही धारका पत्रकारहरूको एनजिओले महासंघका विश्व सम्बन्धमाथि धावा बोलेको हो ।

कांग्रेस पत्रकारमध्ये पनि शेरबहादुर देउवा र शेखर कोइरालापक्षीय पत्रकारको अलग अलग मोर्चाबन्दी छ । त्यसमध्ये फ्रिडम फोरममा कोइरालापक्षीय पत्रकारमात्रै छन् । महासंघ नेतृत्वमा पनि उक्त पक्षको बाहुल्य छ । अध्यक्ष विपुल पोखरेल, उपाध्यक्ष बाला अधिकारी, कोषाध्यक्ष कलेन्द्र सेजुवालहरू फ्रिडम फोरमसँग पनि सम्बन्धित छन् । उनीहरूकै कारण महासंघले आइएफजे र आइफेक्ससँगको आवद्धता गुमाएको आरोप देउवापक्षीय पत्रकार नेता तथा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले लगाएका छन् । ती संस्थालाई महासंघले तिर्नुपर्ने वार्षिक शुल्क बुझाउन बारम्बार ताकेता आयो ।

ढिलो गरी महासंघले तिर्ने निर्णय त ग¥यो, तर जसले भने पनि आफूले उक्त चेकमा सही नगर्ने अडान कोषाध्यक्षले लिँदै आएका छन् । कोषाध्यक्षको हस्ताक्षर अनिवार्य हुने कारण त्यसैको अभावमा महासंघले ती संस्थालाई बुझाउनुपर्ने वार्षिक शुल्क बुझाउन सकेन । फलतः आवद्धता गुमाएको हो । महासंघले ती संस्थाको अभिलेखमा उल्लेख हुने गरी आफ्ना १५ सय केन्द्रीय पार्षद्को संख्या पेश गरेको छ । आइएफजेलाई प्रति सदस्य ३७ रुपैयाँका दरले वार्षिक रु. ५५ हजार पाँच सय रुपैयाँ बुझाउनुपर्ने हुन्छ । उसले अन्तिम चेतावनी दिएको एक वर्ष पुग्दा पनि यताबाट पैसा गएन । अहिले यो आन्तरिक मामिला भएको भन्दै कुरा सुन्नै चाहँदैन । 

आइफेक्स सन् १९९२ मा स्थापना भएको संस्था हो । संसारका एक सय ५०–६० संस्था त्यसमा आवद्ध छन् । यसको मुख्य काम भनेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लेख्ने, बोल्ने र गतिविधि सञ्चालन गर्ने हो । महासंघ आइफेक्सको स्थापनाकालदेखि नै सहयात्रीका रुपमा रहँदै आएको छ । उसले अघिल्लो वर्षको शुरुमै शुल्क तिरेन भनेर पत्राचार गरेको थियो । एक लाख रुपैयाँ नतिरेपछि निलम्बन गर्दै मंसिर २९ गते त सदस्यताबाट ‘रिमुभ’ नै गरेको छ र चेतावनी दिएको छ, ‘अब यस विषयमा तिमीहरूले गरेको पत्राचारको हामीले रेस्पोन्स गर्नुपर्छ भन्ने छैन !’ 

नेपालबाट आइफेक्समा दुई–तीन वर्षअगाडि मात्रै फ्रिडम फोरम जोडिएको हो । आइएफजेमा भने कांग्रेसको भगिनी संस्थाका रुपमा रहेको नेपाल प्रेस युनियन धेरै वर्ष अघिदेखि आवद्ध छ । अब महासंघबाट आइएफजेको आवद्धता टरेर प्रेस युनियन र आइफेक्सले सदस्यता खारेज गर्दा फ्रिडम फोरममात्रै रहने भए । यसमध्ये आइफेक्स अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लडिरहेको संसारको सबैभन्दा बलियो संस्था हो । समय–समयमा चल्ने गरेका ‘इन्टरनेशनल मिडिया मिशन’ सोही संस्थाको आर्थिक र भौतिक सहयोगमा सम्पन्न हुने गरेको थियो । 

उता, आइएफजेलाई भने यो महिनाभित्र दुई लाख पाँच हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । कोषाध्यक्ष मरिगए तिर्ने पक्षमा नहुँदा केही दिनमै उसले पनि महासंघलाई निलम्बन गर्दै आइफेक्सले झैं ‘रिमुभ’ हानिदिने खतरा छ । आइएफजेको सदस्यता कायम रहे पनि केही वर्षयता उसले महासंघलाई कुनै कार्यक्रम दिएको थिएन । दिइएका कार्यक्रम र रकम पनि प्रेस युनियनमार्फत आएको बताइन्छ ।

अर्कातिर, आगामी फागुनमा महासंघको महाधिवेशन गरी चैतमा नयाँ नेतृत्व छान्न चुनाव गराउनुपर्ने छ । तर, त्यसलाई धकेल्नका लागि भरमग्दुर प्रयत्न भइरहेको बताइन्छ । अहिलेसम्म सदस्यता शुद्धिकरणको विवादै सुल्झिएको छैन । त्यो विवाद सुल्झाएरमात्रै महाधिवेशन गर्ने भनिएको छ । विवादलाई सुल्झाउनेभन्दा दिनदिनै बल्झाउने काम हुँदा महाधिवेशन धकेलिने सम्भावना देखिन्छ ।
 

टिप्पणीहरू