कम्तिमा छोराछोरीले त बुझिदिए हुने नि !
माकुराले त के जाल बुन्छ र यहाँ, त्यस्तो जाल बुन्दा रहेछन् मान्छेहरूले ! तिनै जालीका जालमा पर्दा आज घर न घाटको भएको एक पीडित हुँ । साथीको विश्वास गर्दा न साथमा छ श्रीसम्पत्ति, न त सन्तान नै ! सोझो लिम्बूको छोरो ! संगत गर्न पुगेँ राजधानीको चतुर क्षेत्रीसँग । उसैले लुटुपुटु पारेर सडकमा पुर्याएको छ । भए भरको सम्पत्ति कीर्ते र जालसाजी गरेर हत्याइदिएसँगै आज सन्तान टाढा भएका छन्, मैविरुद्ध मुद्दा मामिला गर्दै छन् ।
भन्नेहरू त भन्छन् नि दुःख साट्यो भने घट्छ तर आफ्नो वास्तविक कहानी कसैसँग खोल्न हिम्मतसमेत छैन, अहिले मसँग । म देवराज लिम्बू, जन्मिएँ, हुर्किएँ ताप्लेजुङको थेचम्बुमा । सन्तानहरूका शिक्षा दीक्षाको खातिर भित्रिएँ राजधानी । कहरले कम र रहरै रहरले छिरेको हुँ यो शहरमा । यही शहरमा भेटिएका तिनै मित्रले नजिक बनेर पछाडिबाट यसरी छुरा हाने कि उनकै कारण घर न घाटको जिन्दगी बिताउँदै छु ।
राजधानी भित्रिएसँगै देखियो, साथीभाइ, इष्टमित्रमध्ये अधिकांशले बैंक तथा आफन्तबाट ऋण लिएरै भए पनि घर ठड्याएको । अरूको जस्तै मेरो पनि रहर जाग्यो काठमाडांै शहरमा चिटिक्कको घर होस् । भन्छन् नि, मान्छे आफ्नो दुःखले कम र अरूको सुखले बढी दुख्छ । मलाई पनि साथी भाइले घरले पीडा दिन थाले । त्यही पीडा कम गर्न भनौं वा रहर पूरा गर्न बेचियो ताप्लेजुङ्गको पैतृक सम्पति छोरा बुहारीहरूकै सल्लाहमा छोराबुहारी रोजगारीको सिलसिलामा विदेश हुत्तिएका थिए । त्यहाँबाट आएको रकममा अरू थपथाप पारेर झौखेल– ६ मा खरिद गरियो जग्गा । छुट्टाछुट्टै दुई वटा कित्ता गरी आठ आना जग्गा लिएको थिएँ । मालपोत कार्यालय नजिकैको जग्गा श्रीमतीको नाममा पास गरियो । आमाको नाममा जग्गा पास भएको खबर छोराबुहारीलाई सुनाउँदा खुशीको सीमा रहेन । थाहा छैन, जीवनमा खुशीको आयु किन छोटो हुन्छ ? दुई दिनको पाहुना झैं आउँछ खुशी जीवनमा । स्थायी साथी त उही पीडा र दुख हुँदो रहेछ ।
हाम्रो खुशीमाथि कुन दुष्टको आँखा लाग्यो ? एक्कासी आयो भुँइचालो । मेरो हराभरा जिन्दगीलाई उजाड बनाइदिने माफिया निस्किए महेश खड्का । उनैको योजनामा मेरो सम्पत्ति लुटियो, घरबारविहीन बनाइयो । उनकै कारण सन्तान टाढिए । उनले कीर्ते गरेको दसी प्रमाण हुँदाहुँदै कालोकोटले बदमासी कर्मलाई ‘सेतो’ करार गरिदियो र मलाई दोषी ठहर्यायो । अरूको करोडौंको सम्पत्तिमा तर मार्न पाएपछि कानुनलाई हातमा लिएर उसले मेरो घरबार उजाड बनाइदिए । जन्मथलो छोडेर राजधानी भित्रिएपछि ललितपुरको इमाडोलमा डेरा लिएर बस्थेँ, त्यहीं भेटिएका हुन् महेश । अहिले विगतका पत्र पत्र केलाउँछु, आफैंलाई लाग्छ ‘यो सपना हो कि विपना !’
महेशकै सल्लाहअनुसार ८ आना जग्गा किनेको, सोही जग्गासँगै जोडिएको थियो अर्काे दुई आना । सँधियारले जग्गा बेच्न खोजे । किन्ने अवस्था थिएन । त्यही दुई आना जग्गाको पछि लाग्दा आज मेरो दुर्गति हुन पुगेको छ । उही महेशकै जोडबलमा खरिद गरिएको थियो, थप जग्गा । आफ्नो जग्गासँगै जोडिएको जग्गा उम्कन दिनु हुँदैन भनेर उकासे, कुरा ठीकै थियो । तर दामबिना काम हुनेवाला थिएन । मसँग पर्याप्त रकम नभएकाले खरिद गर्न नसकिने समस्या तेस्र्याउँदा उनैले भने, ‘के को चिन्ता लिनुहुन्छ, तपाईंको जग्गा बैंकमा धितो राख्ने र त्यहीँबाट ऋण निकाल्ने । माल पाएपछि चिन्न सक्नुपर्छ ।’ शुरुमा बैंकबाट थप २० लाख ऋण निकालियो । पछि त्यही जग्गामा घर बनाउँदा फेरि ३५ लाख थपियो । खड्का र मेरो सम्बन्ध यस्तो थियो कि उनले उठ् भने उठ्ने, बस भन्दा बस्ने ! थप ऋण लिन दुवै कित्ता जग्गा आफ्नो नाममा राजीनामा पास गरिदिनुपर्ने शर्त थियो । जग्गा फिर्ताको करारनामा कागज गरेर पास गरिदिएँ ।
म सोझो लिम्बूको छोरा, ऊ परेछ चतुर क्षेत्री । अगाडिबाट आफ्नो बनेर पछाडिबाट छुरा हान्छ भन्ने कल्पना पनि गर्न सक्दिनथेँ । यसरी लुटुपुटु पार्दै नियतवश मेरो श्रीसम्पत्ति हडप्यो । एकातिर जग्गा खरिद गर्दाको ऋण थियो । त्यहीँमाथि घर बनाउँदाको ऋण । ऋणमाथि ऋणमा थिएँ । आफ्नो समस्या उनैलाई पोख्थेँ । आइडिया दिए, पुरानो करार फिर्ता गर्ने दोस्रो कागज गरेर उनैलाई राजीनामा पास गर्ने । ०७६ चैतमा सल्लाहबमोजिम जग्गा राजीनामा पास गरियो । दुई आना तीन पैसा जग्गा उसैलाई राजीनामा पास गरेर ७ लाख रुपैँयाँ ऋण लिएँ । फेरि उनकै सल्लाहमा अघिल्लो दुई कित्ता गरी आठ आना जग्गा श्रीमतीलाई १ करोड ११ लाखमा बिक्री गर्न लगायो । ऋण तिरेर बाँकी रहेको ७६ लाख रकम केही महिना ऋणस्वरुप चलाउने भनेपछि कपाली तमसुक गरेर दिएँ । ऋण लिएको भाका नाघ्यो तर तिर्ने र फिर्ता दिने कुरा गर्दैनन् । उनीसँग जग्गा र नगद फिर्ता माग्न थालें । दुई महिनाको भाका राखे । दुई महिना गुज्रियो, अर्काे तीन महिना भाका सारे । विस्तारै फोन उठ्न छाड्यो । पहिलो घण्टी जानेबित्तिकै काट्ने, स्विच अफ गर्दै सम्पर्कमा नआउने । त्यसपछि म रनभुल्लमा परेँ ।
पछि चाल पाएँ मलाई करार फिर्ता गर्नुपर्ने दुई आना तीन पैसा जग्गा अरूलाई बेचिसकेछन् । त्यो जग्गा अरू तीन जनाबीच क्रय विक्रय भइसकेको रहेछ । त्यसपछि छाँगाबाट खसेजस्तो भएँ । के गर्ने कसो गर्ने केही भेउ पाइनँ । नचिनेको र अपरिचितले छुरा हानेको सहन सकिन्थ्यो होला तर आफ्नै बनेर गद्दारी गरे उनले । जाने ठाउँ अदालत थियो । अदालतप्रति अगाध आशा र भरोसा पनि थियो । रकम तथा करार फिर्ताको मुद्दा दायर गरेँ तर नदी सधैं ओरालो मात्र कहाँ बग्दो रहेछ र ? सम्पत्तिमै हो सबैको हाइहाई हुने, विपत्तिमा आफन्त पनि पराइ हुँदा रहेछन् । छोरा, छोरीले अंशबण्डाको माग दाबी गर्दै म र श्रीमतीविरुद्ध मुद्दा दायर गरे । सोच्न केही सकिनँ । आफ्नै छोराछोरीसित पराइ भए । छोराछोरीले लगाएको लिखत बदर नहुने ठहर गर्दै जिल्ला अदालतले मेरो करार फिर्ताको आधार प्रमाण हुँदाहुँदै पनि विरुद्ध फैसला सुनायो ।
मसँग खड्काले गरेको रकमको कपाली तमसुक र जग्गा करार फिर्ता गर्ने बलियो कागज सुरक्षित थिए । हार खाइनँ, जिल्ला अदालतबाट न्याय नपाएपछि उच्च अदालत (पुनरावेदन) पाटनमा मुद्दा दायर गरेँ । उच्च अदालतले पनि मलाई नै दोषी करार गर्दै जिल्लाकै फैसलालाई सदर ग¥यो । मलाई फसाएर घरजग्गा आफ्नो बनाउने ती खड्कासहितका भूमाफियाले तीन जना न्यायाधीशलाई आफ्नो बनाए । अदालतको यस्तो फैसलापछि उनीहरूले अपरिचित व्यक्ति (गुण्डा) प्रयोग गरेर ज्यान मार्ने धम्की दिइरहेका छन् । कतिबेला के हुन्छ केही थाहा छैन । मनमा लाग्छ, पुख्र्यौली घर ताप्लेजुङ नछाडेको भए हुन्थ्यो । अहिले पछुताएर के गर्नु ? न्याय र अन्याय छुट्टयाउन न्यायको तराजु हातमा लिएका न्यायमूर्तिहरूबाटै अन्यायमा परेँ । अब जानु कहाँ ? भन्नु कसलाई ? आज म र मेरो परिवारले जीवनभर कमाएको रकम खड्काले सकिदिए । कुन दिनमा उनीसँग लहसिएँ ? अब कसरी त्यो घरजग्गा आफ्नो बनाऊँ ? जब न्याय दिने अदालत नै उनीहरूको पछि लागेको छ । अहिले खड्काहरू मात्र हैन आफूले जन्माएका छोराछोरीसमेत मविरुद्ध मुद्दा दायर गर्न अदालत पुगिसकेका छन् । जग्गा र आफूले चलाएको रकम फिर्ता गर्छु भन्ने खड्काको स्पष्ट औँठा छापसहितको तमसुक हुँदाहुँदै श्रीमान्हरूले खड्काको धनमा बिकेरै त होला यस्तो फैसला सुनाएको !
– देवराज लिम्बू
टिप्पणीहरू