हामीलाई दण्ड दिनुपर्छ, जेल हाल्नुपर्छ

हामीलाई दण्ड दिनुपर्छ, जेल हाल्नुपर्छ

– राजेन्द्र महतो, वरिष्ठ नेता लोकतान्त्रिक समाजवादी पार्टी

०४७ देखि तत्कालीन गजेन्द्रनारायण सिंहको साथ लागेर मधेश राजनीतिमा होमिएका राजेन्द्र महतो अहिले गुमनामजस्तै छन् । जिम्मेवारीका हिसाबले लोसपा पार्टीमा महन्थ ठाकुरपछिको वरिष्ठ नेता भनिएको छ तर महन्थकै पेलानका कारण असन्तुष्ट छन् उनी । ३० औं वर्षदेखि साथमा रहेका तीन दर्जन बढी नेतालाई महन्थले केन्द्रीय कमिटीबाट आउट गरिदिएसँगै राजेन्द्रको मन कुँढिएको छ । सोही कारण २४ मंसिरमा डाकिएको बैठक बहिष्कार गरे । गत वर्षको संघीय निर्वाचनमा आफ्नै पूर्वसहकर्मी महेन्द्र राय यादवबाट पराजित भएदेखि उनको भूमिका छायाँमा परेको बताइन्छ । गुमेको भूमिका फिर्ता ल्याउन राष्ट्रि«य सभाका लागि गरेको बार्गेनिङ हो भन्छ, महन्थ पक्षधरचाहिँ । महतो ०४८ सालदेखि चुनावी प्रतिस्पर्धामा सामेल हुँदै ०५६, २०६४ र २०७४ मा गरी तीन पटक निर्वाचित भएर ०६४ सालमा गिरिजाप्रसाद कोइराला, ०६५ मा प्रचण्ड, ०६६ मा माधवकुमार नेपालको सरकारमा वाणिज्य तथा आपूर्तिमन्त्री चलाए । ०६८ मा बाबुराम नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री खाए भने केपी शर्मा ओलीले संसद विघटन गरेपछि ०७८ मा १३ दिने उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री गरी ५ पटक मन्त्री भए । पुराना दलबाट काम नलाग्ने भएका कारण अब नेपाललाई ‘बहुल राष्ट्रिय राज्य’ बनाउनुपर्छ भन्न थालेका छन् । 

– हरि गजुरेल 

० जसरी नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘बाको छोरा खोरमा, भाउजूको देवर चौरमा’ पुगे ठीक उही ढंगले असई थमन बिक हत्या प्रकरणमा एमाले सांसद लक्ष्मी कोइरी महतोलाई सफाइ र तपाईंहरूकै पार्टीका सांसद अभिराम शर्मालाई जन्मकैदको फैसला सुनाइएकोलाई कसरी लिनुभएको छ ? 

– अदालतको फैसला भनेको एक थान फैसला हो । मुख्य विषय जनताले न्याय पाए वा पाएनन् भन्ने हो । न्यायालयले नियम कानुनमा टेकेर फैसला गरेको छु भन्छ । तर, फैसलामा न्याय देखिनुपर्छ विश्वभर यस प्रकारको आन्दोलन हुँदा अप्रिय घटना घट्छन् । चाहे राज्यपक्षबाट हुने दमन होस् वा आन्दोलनकारीको तर्फबाट । मधेश आन्दोलनमा प्रहरीले आन्दोलनकारीलाई दुश्मन देशका नागरिकलाई जस्तो व्यवहार ग¥यो । प्रचण्ड आफैँंले स्विकार्नुभएको छ कि, माओवादी आन्दोलनमा हजारौं प्रहरीको ज्यान गएको छ । ०४६ सालको जनआन्दोलन हुँदा काठमाडौंकै नयाँ सडकमा सुरक्षा निकायका मान्छेहरू मारिएको अवस्था छ । यस्ता घटनालाई लिएर अपराधीसरह दण्डित गर्नु कत्तिको जायज हुन्छ ? अन्य आन्दोलनमा सुरक्षा निकायका मानिस मारिँदा जन्मकैदको सजायँ सुनाइएको थाहा छैन तर मधेश÷ थरुहट आन्दोलनको क्रममा मात्रै छुट्टै व्यवहार गरिएको छ । राज्यले नै तोकी तोकी नेता–कार्यकर्ताको नाम हालेर अदालतबाट दण्डित गराउँदै आएको छ । चाहे थमन बिकको हत्या प्रकरण होस् वा जलेश्वर टीकापुर प्रकरण । यो नश्लवादी चिन्तन हो । पछिल्लो फैसला दुर्भाग्यपूर्ण छ ।

० तर, महोत्तरी जिल्ला अदालतको यो फैसलालाई लिएर सरकारलाई दिएको समर्थन फिर्ता हुनुपर्ने माग राख्ने मधेशका नेतामा तपाईं एक्लो देखिनुभयो नि!

– संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा भएको मधेश, थरुहट आन्दोलनका क्रममा प्रहरी मारिएका छन् भने आन्दोलनको आह्वानकर्ता अपराधी हुन् । यसनिम्ति सात दलका नेता महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव र शरत्सिंङ भण्डारीलगायत नेतालाई दण्ड दिनुपर्छ, जेल हाल्नुपर्छ । तर, हामीलाई नछोएर आमकार्यकर्तालाई आजीवन कारावासको सजायँ गर्नु घोर अन्याय भयो । हाम्रो आह्वानमा भएको आन्दोलन हामीले जिम्मा लिनुपर्छ । राज्यबाट त्यसरी फैसला आउँदा मधेशी मोर्चाका सबै घटक आज जो जहाँ छन् तिनले त्यसको विरोध गर्नुपर्छ । सत्ताको चास्नीमा डुब्ने होइन कि जनता तथा कार्यकर्तालाई साथ दिनुपर्छ । अदालत स्वतन्त्र छ भनिए पनि न्यायालय आफैँँले गरेको फैसला होइन यो । सरकारले नै घटनालाई अपराधीकरण गरेर राज्य पक्ष (प्रहरी)ले आजीवन कारावास दिनुपर्छ भनी माग गरेपछि न्यायालयले फैसलासम्म गरिदिएको हो । उनीहरूले क्लेमअनुसार फैसला सुनाइदियो अदालतले । यो आन्दोलन हो, व्यक्तिगत अपराध होइन भनिदिएको भए न्यायालयले फैसला नै गर्ने थिएन नि !

० मंसिर २४ को लोसपा केन्द्रीय समिति बैठक बहिष्कार गर्नुभयो । अध्यक्षसँग चित्त दुखाइ केमा हो ? 

– मधेशका ६ पार्टी मिलेर राष्ट्रि«य जनता पार्टी बन्यो । त्यसमा उपेन्द्र यादवलाई समेटेर जसपा बनाइयो । दुर्भाग्य, जसपा एक हुन सकेन र हामीले महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्माण ग¥र्यौं । केन्द्रीय समिति निर्माण गर्दा हिजो जसपामा जे–जति केन्द्रीय सदस्य थिए । स्वतः केन्द्रीय सदस्य हुने, महिला ३३ प्रतिशत थप्ने सहमति थियो । तर, केन्द्रीय समिति बनाउनै साढे दुई वर्ष लगाउनुभयो । सहमतिलाई ब्रेक गर्नुभयो । जतिखेर महन्थ ठाकुर कांग्रेसमा बसेर सत्ता सुख भोग गरिहनुभएको थियो । त्यतिबेला अर्थात् ३० वर्षभन्दा अघिदेखि मधेशमा अधिकार र पहिचानका लागि लडेका साथीहरू (जो जसपाको केन्द्रीय सदस्य थिए ), ३ दर्जन हाराहारीमा त्यस्ता पुराना कार्यकर्तालाई हटाउनुभयो । त्यो अनैतिक कदम थियो । फेरि अर्काे जगहँसाइ भयो, छुटेका साथीलाई राख्नुपर्छ भनेर ६३ जनाको अर्काे कार्यकारिणी समिति बनाउनुभयो । दुनियाँमा नभएको जात्रा, महन्थले जसपामा गर्दिनुभयो । नमुना कार्यकारिणी समितिमा ६३ जना पदाधिकारी, १६ जना महासचिव, यस्तो अन्यत्र कहीँ हुन्छ ? बैठकमा मैले प्रश्न गरें, सहमतिविपरीत किन काम गर्दै हुनुहुन्छ ? बैठकमै ‘म करेक्सन गर्छु’ भन्नुभएको हो तर केही नसच्याई फेरि त्यही केन्द्रीय समितिको बैठक डाक्नुभयो । चन्द्रप्रसाद राजवंशी, नारायण साह, पनिराम चौधरीलगायत २० जिल्लाका तीन दर्जन बढी नेतालाई पार्टीमा नअटाउनु मधेशवादलाई निष्कासन गरेसरह भयो । साथीलाई बाहिर राखेर म मात्र बैठकमा कसरी जानु ? 

० तर महन्थ ठाकुरका मान्छेचाहिँ राजेन्द्र महतोले राष्ट्रि«य सभाका लागि बार्गेनिङ गरेको हो भन्छन् त !

– कसले के भन्छन् त्यसको पछाडि लाग्नु छैन मलाई । सानो चित्त राख्ने मान्छेहरूले सानै कुरा गर्छन् नि !

० महन्थ ठाकुरका सम्धी उमाकान्त झा वरिष्ठ उपाध्यक्ष र सम्धिनी इन्द्रा झा उपाध्यक्ष, उमाकान्तका भतिज डा. सन्दीप झा पार्टी सचिव, महन्थकी छोरी मीनाक्षी केन्द्रीय सदस्य । यो लोसपा पार्टी हो कि पारिवारिक क्लब ? 

– यस्तो रोग पुराना कांग्रेस, एमाले, माओवादीलगायत पार्टीको पनि हो । परिवारका सदस्यलाई ल्याएर धमाधम पदाधिकारीमा भरेपछि प्रश्न त उठ्ने नै भयो । पार्टीमा कामै नगरेको मान्छे, नेताको नातेदार भएकै कारण अवसर दिइन्छ भने प्रश्न उठ्नु स्वाभाविकै हो ।

० लोसपा पार्टी लोसे भयो भन्दै आउनुभएको छ । मधेशमा फेरि अर्काे पार्टी थपिन लागेको हो ? 

– पुँजीवाद, कम्युनिज्मको कुरा उठाउने कांग्रेस, एमाले, माओवादी हुन् वा पहिचानको राजनीति गर्छु भन्ने उपेन्द्र यादवदेखि महन्थ ठाकुरसम्म, नयाँ दल भनिएका रवि लामिछाने, सिके राउत हुन् वा रेशम चौधरीसम्म, यी सबैको नाडी छामिसकेका छन्, जनताले । जनताले परिवर्तन खोजेका थिए तर कुनै पनि दल त्यसमा पास भएनन् । नेपालमा सात–सातवटा संविधान फेरबदल भयो । के कारण पटक पटक संविधान र व्यवस्था फेरिन्छ तर जनताको जीवनस्तर उठ्न सक्दैन, किन परिवर्तन हुँदैन ? ठुल्ठूला नेताहरूको काण्डै काण्ड आउँछ । उनीहरू रक्षक नै भक्षक भनेझैं हुने । केही कारवाही नहुने ! तर अधिकार र पहिचानका लागि लड्ने सर्वसाधारणलाई चाहिँ जेल चलान गर्ने ? नेपाल बूढापाकाको मात्र देश हुन लागिसक्यो । दुनियाँकै सर्वाेत्कृष्ट संविधान पाइयो भन्छौं । प्रकृतिले अथाह स्रोत दिएको छ । तर, राष्ट्र« दुनियाँकै कंगाल भइसक्यो । ७० वर्षमा के भयो ? त्यसमा चर्चा गर्न जरुरी छ । पृथ्वीनारायण शाहको एकीकरण प्रक्रियामा विवाद होला तर उनकै कारण आज हामी नेपाली भएर स्वाभिमानीपूर्वक बाँचिरहेका छौं । यो देश चार जात, ३६ वर्णको साझा फूलवारी हो भने उनले दुर्भाग्यवश त्यसयताका सबै शासकले एकल फूलवारी बनाइदिए । नेपाल एकल राज्य हुँदै होइन, बहुलराज्य हो । यो हिमाल, पहाड, तराई विविधताले भरिएको देश हो । यहाँ अनेकन राष्ट्रि«यता, जातजाति छन् । तर देशको शासन र संविधान कहिल्यै सबै नेपालीको लागि भएन । ६ वटा संविधान परिवर्तन भइसक्यो । सातौं संविधान पनि कुन दिन बदलिन्छ ठेगान छैन । जब नेपाली बन्दैनन्, तब नेपाल बन्छ कसरी ? ती पार्टीमा एकल नश्लीय बर्चश्व देखिन्छ । अधुरा काम पूरा गर्नका लागि एक पटक सबै मिलेर आन्दोलनमा होमिनुको विकल्प छैन । 

० हिजोसम्म महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादवलाई मधेशको मसिहा भनिन्थ्यो । अहिले सिके राउतले उपाधि खोसे, किन चल्छ यस्तो प्रतिस्पर्धा ?

– कांग्रेस, एमाले, माओवादी पो क्षेत्रीय र जातीय पार्टी भए त । सबैका लागि कामै गरेनन् । लोसपा झन् लोसे पार्टी भइगयो । एक वर्षमा संगठन बनेन, केही कामै भएन । ८५ वर्षको बूढोले के गर्ने ? सकेन । हाम्रो पार्टीप्रति निराशा प्रकट भएको स्वीकार गर्दछु । एक्लै मधेशी, थारु, आदिवासीहरूले आन्दोलन गरेर हुँदैन । होलिवाइन संस्कृतिले नेपालको रक्षा हुन्छ ? हाम्रो पूर्वीय सभ्यता, सनातन सभ्यतालाई भत्काएर पश्चिमा सभ्यताको जगमा शासन र पैसाको गतिविधि चलाएर हुँदैन । पुँजीवाद र समाजवादी व्यवस्था दुनियाँमै असफल भइरहेको छ । नेपालमा पनि असफल हुनु स्वाभाविकै हो । अब नयाँ ढंगले गोलबन्द हुनुपर्छ । 

० कुनै समय भारतीय दूतावासको प्रिय को बन्ने भन्नेमा अमरेशकुमार सिंह र तपाईंहरूबीच तीव्र दौड थियो । अहिले अमरेश जसरी चर्चा र विवादमा आइरहेका छन्, त्यसलाई कसरी हेर्नुहुन्छ ? 

– आइतबार एउटा पार्टीमा भेट भएको थियो उनीसँग । मैले उनलाई प्रचण्ड, उनको परिवार र नेताहरूविरुद्ध ठोस प्रमाण छ भने, सार्वजनिक गर्नुहोस् मिडियाबाजी मात्र नगर्नु भनेको छु ।

० कुनै समय उनी महन्थ ठाकुरको पीए, महन्थ सञ्चारमन्त्री हुँदा उनैले गोरखापत्रमा लगेको र पछि अमरेशले दूतावाससँग नजिक भएर महन्थलाई चुनावमा हराएकै हुन् भनिन्छ, खास कुरा के हो ?

– अमरेशको विगतबारे सबैलाई थाहा छ । तर आजको दिनमा अमरेशले हल्ला मात्र गरेर भएन, प्रमाण छ भने दुनियाँलाई स्पष्टसँग बताउनुप¥यो । 

० अहिले मधेशमै सात आठ वटा दल छन्, को हो खास मधेशको मसिहा ? 

– काम–साम केही गर्नु छैन खालि मसिहा भनेको छ यो त शब्दकै अपमान भयो । आफैँंले आफैँंलाई मसिहा भन्न लाज लाग्नुपर्ने हो । सिन्को नभाँच्ने अनि मसिहा भन्दै हिँड्ने ? आफैँले आह्वान गरेको आन्दोलनमा होमिएका कार्यकर्तालाई आजीवन कारावास हुँदासमेत चुँ नबोल्ने, सत्ताको लिप्सामा रमाउने महन्थ, उपेन्द्र, सिके हुन् वा रेशम चौधरी । यिनैलाई मधेशको मसिहा भन्नु नै बेकार छ । लोसपा लोसे भइसक्यो । जसपाले जनताको विश्वास गुमाइसक्यो । सिके राउतले सप्तरीमा उपेन्द्र यादव हराऊ अभियान चलाएका कारण मत पाएका हुन् । उनलाई पनि समर्पणवादी हो भनिसकेका छन्, जनताले । रेशम चौधरीको रिहाइ अभियान चलेको कारण त्यही मत पाएर जितेका हुन् । उनको रिहाइ पनि अपराधीको रूपमा भएको छ । 

० मधेशको मुद्दा सम्बोधनको सवालमा प्रचण्ड, ओली, देउवालाई को कस्तो पाउनुभयो ?

– केपी ओलीको कुरै छोडौं यी नश्लवादी चिन्तन र सोचका भए । प्रचण्डजी पहिचान, अधिकारको कुरा मात्रै गर्ने । जब अन्तरिम संविधान बनाउन आउनुभयो त्यसपछि उहाँ प्रचण्डबाट दाहालजी हुनुभयो । ओली र प्रचण्डमा तात्विक भिन्नता छैन । देउवा चिन्तनहीन नेता । उनमा परिवर्तनकारी चिन्तन, सोच केही छैन । 

टिप्पणीहरू