आकाशसँग जोडिने किस्सा अचम्म अचम्मका

आकाशसँग जोडिने किस्सा अचम्म अचम्मका

जहाज चढेर आकाशमा सरर उड्न त मज्जा छ, तर जमिनमै हुने लापरवाही सुन्दा कहालिलाग्दो छ ।

कुनै पनि जहाजको प्राविधिक पक्ष, उपकरणदेखि चालक (पाइलट) सम्मको अवस्थालाई नागरिक उड्डयन प्राधिकरण आफैंले गम्भीरताका साथ अनुगमन गर्नुपर्ने हो । तर, एउटा नाममात्रैको कम्पनीबाट पैसा बुझेर सबै कुरा सदर गर्न पल्किएका छन् । हामी भन्छौं, ‘उड्डयन सुरक्षाको अभाव देखाउँदै युरोपेली आकाशमा नेपाली जहाज उड्न पाएनन् ।’ खासमा नेपालको आकाश असुरक्षित हैन, उड्डयन अनुगमन संयन्त्र जिम्मेवार छैन । जस्तो कि, नागरिक उड्डयन प्राधिकरणले स्याम्रो नामक कम्पनीलाई एमआरओको जिम्मा दिएको छ । त्यो भनेको मेन्टिनेन्स रिपेयर ओभरल (:च्इ) हो, जुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र अवस्थित छ । स्याम्रोको काम हो, जहाजको जाँच गर्ने, बिग्रिएको छ भने मर्मत गर्ने । कम्पनीका मालिक उनै अरुण मल्ल हुन्, जसले वर्षौंअघि ग्रेहाउण्ड इलेक्ट्रोनिक्स नामक कम्पनीमार्फत नेपालमा पहिलोपटक निजी क्षेत्रबाट वाकिटाकीको व्यापार गरे । सो व्यापार पनि विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ (जमिनतर्फको व्यवस्थापन) का निम्ति निजी विमान कम्पनीहरुलाई बिक्री गरेर शुरु गरेका थिए । त्यही मुनाफाबाट इमेज रेडियो र टेलिभिजन चलाए, जुन अहिले पनि चालु छ । त्यही समूह अहिले एमआरओका निम्ति विमानस्थल छिरेको छ । जहाजको रिपेयर र मेन्टिनेन्स गर्ने कुरा ख्यालख्याल हैन । एउटा सानो नटमात्रै यताउता हुँदा जहाजको उडान र अवतरण जोखिमयुक्त हुनसक्छ । यति महत्त्वपूर्ण कामका निम्ति इजाजत पाएको कम्पनीसँग आफ्नै इञ्जिनियर, प्राविधिकसहितका काम गर्ने संयन्त्र छैन । त्यस्तो कम्पनीसँग आफ्नै स्पेयर पार्टस् र जडान गर्ने सीप हुनुपर्छ । त्यस्ता कुनै पूर्वाधारबिना एउटा सामान्य अफिस खोलेको भरमा विमानस्थलभित्र जाँच र मर्मतको जिम्मेवारी दिइएको छ । भनिन्छ, आर्थिक चलखेलबिना यस्तो हुन सम्भव नै छैन ।

त्यस्तै, अर्का दुई कम्पनी छन्, ‘एरो सिष्टम’ र ‘मर्करी’ । ‘एरो सिष्टम’ का मालिक सचितकुमार श्रेष्ठ हुन् । जहाजको पार्टपुर्जा बेच्ने नामुद व्यापारी विजयकृष्ण श्रेष्ठका छोरा  । मर्करीचाहिँ सुरेशलाल श्रेष्ठको हो । उनीहरुले नागरिक उड्डयन प्राधिकरणबाट जहाजका उपकरण बिक्री गर्ने इजाजत पाएका छन् । जबकि, आफ्नै कुनै पूर्वाधार, इञ्जिनियर, प्राविधिक सीप नभई त्यस्तो काम गर्न पाइँदैन । उनीहरुको त अफिससम्म पनि अत्तोपत्तो छैन । यस्तो काम गर्न अन्तर्राष्ट्रिय उड्डयन संस्था आइकाओको मापदण्ड पूरा गरेको हुनुपर्छ । यदि त्यस्तो मापदण्ड पूरा गरेको छैन भने उसले कुनै पनि देशको आकाशमा नेपाली जहाजलाई प्रतिबन्ध लगाउन सक्छ । तर, पैसाको खेलोमा गम्भीर त्रुटी भइरहेको चर्चा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले निकटस्थसँग गर्ने  गरेका छन् । 

त्यसमाथि नागरिक उड्डयन प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्याण्डर्ड डिपार्टमेन्ट (उड्डयन सुरक्षा विभाग) का प्रमुख राजु श्रेष्ठ र निर्देशक प्रभाकरशंकर मल्लिककै कार्यशैली गतिलो छैन भनिन्छ । मन्त्रालयका हाकिमहरुसँग कुनै निजी विमान कम्पनीका कर्मचारीले भनेका छन्, ‘यी दुईजनालाई मात्रै त्यहाँबाट हटाउने हो भने आइकाओ र युरोपेली कालोसूचीबाट हटाउने ५० प्रतिशत काम हुन्छ ।’ उनीहरुको काम हो, विभिन्न एयरलाइन्सको अनुगमन गर्ने । कुन इञ्जिनियर, पाइलट राम्रो, अफिस कस्तो छ भन्ने कुरा उनीहरुको अन्तर्गत हुन्छ । तर, अनुगमनका नाममा खल्ती भर्ने काममात्रै भइरहेको आरोप छ । त्यसैले कतिपय एयरलाइन्स कम्पनीले मापदण्ड पूरा नगरी उडान इजाजत पाएका छन् । मन्त्री किरातीसँग सुरक्षित सूचीमा उल्लेख भएअनुसार, विशेषतः दुई हेलिकोप्टर कम्पनी मापदण्ड पूरा नगरेका छन् । ईश्वर लामिछानेको मुस्ताङ एयर र ‘बाबा’ भनिने गजेन्द्रबहादुर श्रेष्ठको अन्नपूर्ण हेलिकोप्टर्सले मापदण्ड पूरा नगरी यस्तो इजाजत पाएका हुन् । त्यसमध्ये मुस्ताङसँग एउटा हेलिकोप्टर छ । उसको निलम्बित एनओसी भर्खरै नवीकरण भएको छ । उडान इजाजत पाएको तीन वर्ष भयो । तर, कार्यालय कहाँ छ, पत्तो छैन । अन्नपूर्ण हेलिकोप्टर्सका मालिक बाबाको खास व्यवसाय हो, क्यासिनो । विराटनगर, नेपालगञ्जतिरका क्यासिनोमा लगानी गरेका छन् । श्रीलंकामा पनि क्यासिनो खोलेका उनका व्यापारिक साझेदार उतैका हुन् । नेपालमा हेलिकोप्टरको उडान इजाजत पाएको दुई वर्ष भयो ।

युरोपेली युनियनले आफ्नो आकाशमा नेपाली जहाज उड्न दिनका निम्ति राखेका शर्तमध्येको महत्त्वपूर्ण बुँदा हो, अडिट, अर्थात् सुक्ष्म अनुगमन । त्यसनिम्ति उनीहरुको अलग्गै मापदण्ड छन् । बिरामीले रोग जाँच गराएपछि डाक्टरकै प्रेसक्रिप्सनअनुसार औषधी खानुपर्छ भनिएझैं युरोपेली आकाशमा विमान उडाउन उसको मापदण्ड पूरा गर्नुपर्ने सुझाव मन्त्री किराँतीलाई उड्डयनविद्हरुले दिएका छन् । ‘डाक्टरको औषधी नखानेले सञ्चो भएन भन्न पाइएन नि !’ उनलाई भनिएको छ । इयुले नेपालको उड्डयन अनुगमनमा सन् २०१० देखि प्रश्न उठाउँदै आएको हो । तर, समस्या पहिचान गर्नुपर्ने निकायका राजु र प्रभाकरहरु कोशेली खाँदै बेफुर्सदिला छन् । उनीहरु अन्तर्गतको अर्को संवेदनशील निकाय छ, पर्सनल इन्स्पेक्सन अफ एयर (पिआइए) । जस्तो कि यति एयरलाइन्सलाई हेर्ने कर्मचारी अलग्गै हुन्छन्, श्री र बुद्धहरुलाई हेर्ने पनि अलग–अलग हुन्छन् । उनीहरुले ती जहाज, त्यसका चालक र परिचालक मापदण्डभित्र छन्छै/नन्, जहाजको प्राविधिक स्थिति ठीक छ कि छैन भन्ने कुराको निरीक्षण गर्ने हो । जसरी राष्ट्र बैंकले निजीक्षेत्रका बैंकको अनुगमन गर्न पठाउँदा होस् या महालेखा परीक्षकको कार्यालयले विभिन्न सरकारी कार्यालयको लेखा परीक्षण गर्न कर्मचारी खटाउँदा नै होस्, सब बिकाऊ हुने र त्यहीअनुसार रिपोर्ट बन्ने लापरवाही विमानस्थलमा व्याप्त छ । प्राधिकरणमा प्रहरीको सुडान घोटाला प्रकरणजस्तै कहालिलाग्दो आर्थिक अपराध चलिरहेको रिपोर्ट मन्त्रीसमक्ष पुगेको छ । 

अर्कातिर, पर्यटक आउने समय शुरु भइसक्यो, निर्माणकालबाटै लापरवाही गरिँदै आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा आइएलएस अवतरण प्रणाली लागु हुन सकेको छैन । त्यसो गर्न भारतसँग एडिसी गर्नुपर्छ, जुन काम लामो समयदेखि हुन नसक्दा त्यहाँ विदेशी पर्यटकको ओइरो लाग्ने अक्टोबरदेखि मार्चसम्मको समय फेरि पनि खेर जाने सम्भावना छ । जाडो महिनामा बाक्लो हुस्सुका कारण उक्त विमानस्थलमा जहाज अवतरण गर्न आवश्यक पर्ने न्युनतम भिजिबिलिटीको अभाव हुने गरेको छ । त्यहाँ प्रायः जाडो महिनामा जरुरी न्युनतम १५ सय मिटरको भिजिबिलिटी पाउन गाह्रो हुने कारण यान्त्रिक अवतरण प्रणाली (आइएलएस) अपनाउनुपर्छ । तर, भारतीय भूमिसँगको सघनताका कारण समस्या आएको छ । यन्त्रको माध्यमबाट जहाज अवतरण गर्ने क्रममा नेपाली जहाजले भारतीय आकाशको सेरोफेरो भेट्छ । त्यस्तो अवस्थामा दुई देशका बीच एयर डिफेन्स क्यारेज (एडिसी) सम्झौता हुनुपर्छ । उक्त सम्झौताको अभावमा अझै पनि यान्त्रिक प्रणाली लागु हुने अवस्था छैन । एउटा देशको जहाजले अर्को देशको आकाशमा प्रवेश पाएपछि रेडियो फ्रिक्वेन्सी पनि अर्को देशले टिप्न सक्छ । त्यसमाथि अर्को देशको उड्डयन सञ्जालले आफ्नो आकाशमा अर्काको देशबाट आएको जहाज छिरेको र त्यसअनुसार उडानमार्ग सुरक्षा गर्नुपर्ने कामका निम्ति एडिसी सम्झौता अनिवार्य मानिन्छ । बनाउँदैमा भैरहवा विमानस्थललाई २५ देखि ३० किलोमीटर उत्तरतर्फ लगिएको भए यो समस्या आउने थिएन । पोखरा विमानस्थलको हालत पनि यही छ । विदेशी वाइडबडी तथा बोइङ अवतरण गर्नका निम्ति निश्चित तौलको मापदण्ड पूरा गरेको हुनुपर्छ । उक्त विमानस्थलमा जहाज अवतरण गर्नका निम्ति पाइलटले अलग्गै तालिम गरेको हुनुपर्ने कारण विदेशी उडान सम्भव भएको छैन । यी दुबै त्रुटीपूर्ण परियोजनाका प्रमुख अहिले नागरिक उड्डयनका हाकिम छन्, प्रदीप अधिकारी । 

टिप्पणीहरू