सवाल सिंहदरबारमा कुटाइको

सवाल सिंहदरबारमा कुटाइको
सुन्नुहोस्

एउटा बहुलठ्ठी उपसचिवको हर्कतले संसद सचिवालय अझै तरंगित छ । मामिला हो, महिला शाखा अधिकृतमाथि पुरुष उपसचिवले झापड हान्दाको । 

गत मंसिरको तेस्रो साता एउटा प्रतिवेदनमा आफ्नो नाम छुटाएकोबारे कुरा हुँदाहुँदै एमाले कर्मचारी संगठनको पूर्वनेतासमेत रहेका उपसचिव रामप्रसाद गैरेले छेउमै रहेकी शाखा अधिकृत (महिला) को गाला चड्काएका थिए । यसपछि गैरेमाथि विभागीय कारवाही चलाउने कि फौजदारी अभियोग लगाउने भन्ने बहसले आजसम्म संसद सचिवालय निश्कर्ष विहीन छ । महिलामाथि कार्यस्थलमै भएको हिंसाको कसुरमा कारवाही अगाडि बढाइँदा गैरे जेलसम्म जान सक्ने अवस्था हुन्छ । तर, संसद सचिवालय ऐन २०६४ को दफा ८३ बमोजिम गर्न खोजिएको कारवाहीले उनलाई जेल पुर्‍याउँदैन, जागिरमा पनि दखल गर्र्दैन ।

एमाले पृष्ठभूमि भएका कारण अहिले सभामुखको सचिवालय गैरेलाई जोगाउन तल्लिन रहेको काँग्रेस, माओवादीनिकट कर्मचारीको गुनासो छ । विशेषतः महिला कर्मचारी बढी नै क्रुद्ध छिन् । यदि सचिवालय ऐन आकर्षित भयो भने गैरेको बढीमा पाँच ग्रेड रोक्का वा पाँच वर्ष बढुवा जाम हुनसक्छ । तर कसुरका आधारमा बढुवा नै रोक्का हुनुपर्ने स्थिति नभएको अर्काथरि कर्मचारी बताउँछन् । किनभने, उनी भर्खरै शाखा अधिकृतबाट बढुवा भएका हुन् र सहसचिव बन्ने समय नै पुगेको छैन । बरु महिला हिंसाको मुद्दाबाट बचाउनका निम्ति अहिले उनी मानसिक समस्याले ग्रस्त भएको भन्ने पार्न खोजिँदैछ । त्यसका लागि पुरानो मितिमा विभिन्न अस्पतालका रिपोर्ट बनाउने, औषधी किनेको र सेवन गरेको देखाउनेजस्ता काम भइरहेका छन् । गैरे पहिल्यैदेखि सन्की स्वभावका हुन् । कर्मचारी युनियनले सचेत गराउन खोज्दा ‘त्यस्ता युनियनको के अर्थ छ ? मैले नै बनाएको युनियन त हो’ भन्ने गरेको सुनिन्छ । 

संसदका हाकिमहरु चाहिँ गैरेलाई महिलासँग माफ मगाउने र कुरा मिलाउनेमा अग्रसर छन् । उनीहरुले एउटा कागज गरेर मिलौं, नत्र प्रहरीमा बुझाइन्छ भनेर तर्साउने र कुरा मिलाउने सुरसार गरेका थिए । तर, कुरा अन्यत्र मोडिएर वातावरण अर्कै बन्यो । अहिले त महिला पक्ष त्यसो गर्न पनि तयार छैन । यस्तै घटना धेरै वर्षअघि तत्कालिन शाही नेपाल वायुसेवा निगममा पनि भएको थियो । एक महिलाले त्यहाँका मुखिया (पुरुष) लाई कुटिन् । अनि, बदलामा मुखियाले पनि हात हाले । यसपछि महिलाको तर्क थियो, ‘एउटी महिलाले पुरुषलाई कुटिसकेपछि पुरुषले फर्काउन पाइँदैन ।’ त्यसपछि ठूलो कचहरी बसेर ‘शुरुमा महिलाले हात छोडेको, पछि पुरुषले हात फर्काएको कारण गम्भीर गल्तिचाहिँ भएन । ‘कुटाईलाई लैंगिक हिसाबले परिभाषा नगरौं । कुटेको हो, कुट्नु गल्ती हो’ भन्दै थामथुम पारिएको थियो । तर, अहिले समय फरक छ । भएजतिका कानुन महिलामैत्री छन् । हातपातको विषय अर्कै हो, तर बनाउन चाहँदा महिला हिंसाको पनि केस बन्छ । केही कर्मचारी तर्क गर्दैछन्, ‘त्यस्तो त गर्नुहुँदैन ।’

उता, महोत्तरीका एमाले सांसद लक्ष्मी महतो कोइरीले असई थमन बिक हत्याको मुद्दामा जिल्ला अदालतबाट सफाई पाएपछि संसदीय गतिविधिमा निर्वाध सहभागी हुन पाउने भए । संसद सचिवालयमा चर्चा छ, अब एमालेकै टोपबहादुर रायमाझी र कांग्रेसका टेकबहादुर गुरुङले पनि यसरी नै मुद्दा जिते भने फर्किन्छन् । भन्छन्, ‘अनि त रमाइलो देख्न पाइन्छ नि !’
 

टिप्पणीहरू