सहकारीमा शंकास्पद साँठगाँठ

सहकारीमा शंकास्पद साँठगाँठ
सुन्नुहोस्

सहकारी क्षेत्रमा पछिल्ला केही समय आर्थिक अनियमितता, हिनामिना, कर्जा दुरूपयोगजस्ता कारणले संकट सिर्जना भइरहेको खबर आइरहेको छ । राजनीतिक दलका प्रभावशाली नेताहरू आफैं सहकारीको रकम दुरूपयोगमा संलग्न छन् । थुप्रै अनियमिततालाई जोगाएको आरोप पनि लागिरहेको छ । सहकारी क्षेत्रले यसरी गहिरो संकट झेल्दै गरेको अवस्थामा सहकारी निकायमा पुसमा धमाधम निर्वाचन चलिरहेको छ । नियमित रूपमा नेतृत्व हस्तान्तरण हुनुपर्ने सहकारी संघहरूमा निर्वाचन हुने क्रममा भने सहकारीका समस्या समाधानभन्दा नेतृत्व हत्याउन मोर्चाबन्दी र प्रतिस्पर्धा जारी छ । सहकारी पीडितहरूले घेर्लान् भन्ने समेत नडराई पार्टी कार्यालयबाट उम्मेदवार तोकेर प्यानल प्यानलबीच प्रतिस्पर्धा भएको छ । हालै सम्पन्न बचत तथा ऋण सहकारीको छाता संगठन नेफ्स्कुनमा त सरकार समर्थित गठबन्धन र प्रमुख प्रतिपक्षी दलबीच प्रतिस्पर्धा भयो ।

गठबन्धनको साझा उम्मेदवार बनेका चन्द्र ढकालको प्यानलबाट एक तिहाइजस्तो उम्मेदवार विजयी भए भने एमाले समर्थित टिमका वरिष्ठ उपाध्यक्ष, महासचिवसहित बहुमत उम्मेदवार छानिए । बहुमत उम्मेदवार विजयी भइरहेको एमालेभित्र गुटबन्दीका कारण पराजय व्यहोर्नुपरेको निश्कर्ष निकालिएको छ । एमालेको सहकारी विभाग हेर्ने जिम्मेवारी पाएका खगराज अधिकारीले पार्टीभित्र सहकारीको नाममा हुने गरेको क्रियाकलापलाई गम्भीर ढंगले हेरिरहेको भन्दै त्यसलाई परिपक्व नेतृत्व दिन आवश्यक भनेर अध्यक्ष कार्यकाल पूरा गरेका परितोषलाई नै उम्मेदवार तोकियो । विभागका सदस्यहरू अधिकांशले घनश्याम अधिकारी वा अरु कोहीलाई उम्मेदवार बनाएर सर्वसम्मत गर्न सुझाव पनि दिए तर बालकोटको सन्देश सुनाउँदै घोषणा गरिएका उम्मेदवारको रूपमा पौडेल नै तोकिए । 

पुस ७ र ८ गते हुने निर्वाचनका लागि विभागले मंसिर अन्तिम साता नै अध्यक्षमा परितोषको उम्मेदवारी निर्णय गरिसकेको थियो । यद्यपि, वरिष्ठ उपाध्यक्ष, सञ्चालकलगायत पदमा उम्मेदवारी दर्ता गरुञ्जेल पनि विवाद नै थियो । सहकारी विभाग नै विभाजित भएर निर्वाचनको तयारीमा लागेको आरोप लागिरहेको छ । सहकारी विभागका पूर्व प्रमुख केशव बडालसँग निकट बताउने पौडेल धेरै बोलेर र ओलीको खास मान्छे बताएकै कारण निशानामा परे भन्ने निश्कर्ष निकालिएको छ । एमालेको सहकारी विभागमा सुरेन्द्र पाण्डेसँग निकटहरूको बोलवाला छ । सहकारी अभियानको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल र सहकारी अभियानको पावरफुल निकायको रूपमा रहेको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती दुबैको चाहना परितोषलाई दोहोर्‍याउने थिएन । कँडेल र उप्रेतीको टिमलाई पटक पटक बोकेर जिताएको दाबी गर्दै नेपाली कांग्रेसका चन्द्र ढकालले उप्रेतीलाई कसम नै खुवाएको चर्चा सहकारी वृत्तमा व्याप्त छ । 

उप्रेतीले ढकाललाई जित्ने कुरामा ढुक्क भएर लाग्नु भनेरै पठाएका थिए । बैंकका शाखा प्रमुख तथा केही विभागीय प्रमुखहरूले तलैसम्म सहकारीलाई समन्वय गरेर रिजिट मान्छेले सहकारी मुभमेन्ट चलाउन सक्दैनन्, फ्लेक्जिबल चाहिन्छ भन्दै ढकालतर्फ माहौल सोझ्याएका थिए । एमालेभित्रको ओली इतर गुटले छानीछानी कोर ओली गुटलाई हराएको छ । यो निर्वाचनबाट सबैभन्दा बढी फाइदा एकीकृत समाजवादीका उम्मेदवारलाई भयो । कोषाध्यक्ष दीपक थापाको नेतृत्वमा उसका सतप्रतिशत उम्मेदवार विजयी भए । यो गुटबन्दी यतिमा सीमित हुने छैन । नेफ्स्कुनको निर्वाचनको परिणामलाई सहकारी क्षेत्रको मिनी जनमत संग्रह मानिएको छ । यसको असर राष्ट्रिय सहकारी महासंघमा देखिने स्पष्ट भएको छ ।

बालकोटको उम्मेदवार भनेर आउने जोकोहीले महासंघमा पत्तासाफ व्यहोर्ने हो, मतमा एमाले नै पहिलो हो, ढंग पुग्दा एमालेलाई मान्न सकिन्छ, दम्भ देखाए भने पत्तासाफ हुने हो एमालेको सहकारी विभागका एक सदस्यले प्रज्ञा भवनको चौरमै सुनाइदिए । विभाग सदस्यका कुरा नसुनेर बालकोटको नाममा उम्मेदवार लाद्नेलाई धुलो चटाउने हो घाँटीमा परितोष पौडेलको उम्मेदवारीको प्रचार सामग्रीको माला झुण्ड्याएका विभाग सदस्यले परितोष हार्ने निश्चित र अर्को चुनावको समेत प्रक्षेपण दिउँसै सुनाइरहेका थिए । यतिबेला देशभर विकृति विसंगतिमा जोडिएका सहकारीहरू एमाले प्रवेश गर्दै बैंक र नेफ्स्कुनसंग नजिकिने र मिलेर लाभ लिने गरेको आरोप छ । छानीछानी अनुकूल व्यक्ति नेतृत्वमा नटिक्ने र यो संकट गहिरिँदै जाने हो भने धेरैको भागाभाग हुने भएकाले पनि उम्मेदवार जिताउन भन्दा हराउनतिर गुटबन्दी भएको चर्चा छ ।

टिप्पणीहरू