बिचौलिया पत्रकारले गति छाडेको प्रमाण

बिचौलिया पत्रकारले गति छाडेको प्रमाण

के ऐन–नियम कानुन पैसा बुझाउने मारवाडी तथा व्यापारीलाई एकथरी र पैसा बुझाउने नसक्ने निरीह उपभोक्तालाई अर्काेथरी हुन्छ ? भक्तपुर नापी कार्यालयले कित्ताकाटको क्रममा धनीमानी तथा सर्वसाधारण उपभोक्ताबीच विभेद गर्ने गरेको तथ्य र प्रमाण भेटिएको छ । 

नापी तथा मालपोत कार्यालयमा राखिएका सूचना पाटीमै लेखिएको हुन्छ अनिवार्य २० फिट बाटो छाडिनुपर्ने तर भक्तपुर नापीका कर्मचारीले द्रव्य चढाउन सक्ने व्यापारीलाई नियमविपरीत कित्ताकाट गरेर जग्गा बिक्री तथा नामसारीको काम गरिरहेको भेटिएको छ । एक जना ठूलै बिचौलिया पत्रकारलाई अगाडि सारेर उनीहरूले जिल्लाको छालिङमा बदमासी गरेको प्रमाण जनआस्थाले भेटेको छ। 

छालिङको वडा नम्बर १ देखि ५ सम्मको नक्साअनुसार कित्ता नम्बर ३२७, ३२०, ३१९, ३२८, ३१९७, १००६ जग्गामास्मार्ट सिटी मापदण्डभित्र भूउपयोग निर्देशिकाबमोजिम नयाँ कायम हुने कित्तामा क्षेत्रफल ८ आनाभन्दा कम वा १३१ दशमलव १६ बाट तल झर्न नहुने नियम तोडेका हुन्, कर्मचारीले । मारवाडी तथा व्यापारीको यो काम फत्ते गराइदिन ती बिचौलिया पत्रकारसँग तारन्तार द्वारिका होटलमा नापीका कर्मचारीको भेटवार्ता भएको फोटोसमेत जनआस्थासँग सुरक्षित छ । एटिएम पत्रकारका रुपमा परिचित ती बिचौलियालाई अगाडि सारेर कर्मचारीले बाटो प्रयोजनका लागि १९७७, १९६९, १९६२ मा बाटोको चौडाइ १४ फिट कायम हुने गरी उक्त क्षेत्रफल अन्यलाई बिक्री गरेको भेटिएको हो । 

यो प्रकरणमा हाकिमसहित नापी अधिकृत ध्रुव थापा, अधिकृत बेचैन यादव, सर्वेक्षक हिक्मत कुँवर, भरत दास समेतले ५० लाख बाँडफाँड गरेको बुझिएको छ । मापदण्डभन्दा कम प्लट रजिष्टर कायम गरिदिएबापत कर्मचारीले खरिद गर्ने जग्गाधनीलाई बाटोको चौडाइ २० फिट तर नेलिस नक्सामा १४ फिट मात्रै कित्ताकाट गरेको  भन्दै उपभोक्ताले अख्तियार गुहारेका छन् ।

उपत्याका विकास प्राधिकरणको स्वीकृतिबेगर लोगो र छाप प्रयोग गरी पत्रको बीचमा कन्टेन्ट मात्र फरक पारेर नापी विभागलाई गुमराहमा राखी कित्ताकाट गरिएको स्रोतले जनाएको छ । यसबीच नापी विभागले भक्तपुर जिल्ला हेर्ने गरी दिनेश काफ्लेलाई खटाएको छ । छालिङमा कित्ताकाटको बदमासीबारे जिज्ञासा राख्दा अनुगमनका लागि आफू फिल्डमै रहेकाले अहिल्यै केही भनिहाल्न नसक्ने काफ्लेले प्रतिक्रिया जनाए ।

यस्तै, ललितपुर जिल्ला नापीमा समेत बदमासीको गुनासो चुलिएसँगै अजित कुँवर र विष्णु खत्रीलाई अनुगमनका लागि फिल्डमा खटाइएको छ भने टोखामा खेमलाल गौतम र शिव जोशी पुगेका छन् । यी टोलीलाई पछिल्लो महिना दिनभित्र भएका कित्ताकाटको विवरण खोजी बदमासी भए वा नभएको प्रतिवेदन पेश गर्न भनिएको छ ।

टिप्पणीहरू