भ्रष्टाचारी जोगाउन चन्दा संकलन

भ्रष्टाचारी जोगाउन चन्दा संकलन

प्रधानमन्त्री प्रचण्डलगायत वर्तमान सरकारको खोइरो खनेर चर्चामा आइरहने केएमसी र नोबेल हस्पिटलका साहुजी तथा मोरङ क्षेत्र नम्बर ३ बाट कांग्रेस निर्वाचित प्रतिनिधि सभा सांसद सुनिल शर्माको गाउँमा एउटा भ्रष्टाचारी केटोलाई कांग्रेसीले नै पुरस्कृत गरेको पाइएको छ ।

मोरङ बेलबारी १० को सिर्जना सामुदायिक वनमा अध्यक्ष छँदा पदाधिकारी तथा सदस्यहरूलाई थाहै नदिई गुपचुप १८ लाखभन्दा बढीको काठ बिक्री गर्ने बेलबारीका सभापति छत्र लिम्बूलाई कांग्रेसीले चन्दा उठाएर झन्डै भ्रष्टाचार गरेबराबर थप पुरस्कार दिएपछि सो क्षेत्रमा कांग्रेस बदनाम भएको हो ।

विभिन्न उपभोक्ता तथा स्थानीय एक माविसहित केही संस्थालाई दिएको किर्ते कागजात बनाएर लिम्बूले ४ सय २८ दशमलव २१ क्युबिक फिट सखुवाको लकडी, २ सय ३२ दशमलव १७ किबी बोट धगेरो र ३ सय २८ दशमलव १७ क्युबिक फिट गरी कूल ९ सय ८७ दशमलव ५५ किबी लकडी बिक्री गरेको पुष्टि भएको थियो । 

दुई/चार महिनाअघि कार्यकाल सकिएर चुनावी साधारणसभा आउनै लाग्दा लिम्बूले सामुदायिक वनको घाटगद्दीबाटै ती काठ बिक्री गरेका थिए । विभिन्न उपभोक्ता तथा केही संस्थालाई दिएको किर्ते रसिद तथा कागजात बनाएर मिलतिर लगी १८ लाखभन्दा बढीको काठ बिक्री गरेको खुलेपछि उपभोक्ताले अख्तियारमा उजुर हालेका थिए । अख्तियारले डिभिजन वन कार्यालय मोरङलाई छानबिनका लागि पत्राचार गरेपछि वन अधिकृत अलाउद्दिन अन्सारीलाई खटाएर कार्यालयले कागजात नियन्त्रणमा लिई छानबिन गरेको थियो । कार्यकाल सकिन लाग्दा अध्यक्ष भ्रष्टाचारी निस्केपछि आपसमा भिडेका कांग्रेसका २ उम्मेदवारलाई उछिन्दै मोरङ ३ का संघीय सांसद सुनिल शर्मालाई चुनावमा सघाएका जनता समाजवादीका देउमान लिम्बू वनको अध्यक्ष बने ।

छानबिनबाट लिम्बूले भ्रष्टाचार गरेको ठहरियो । पक्राउ पुर्जी जारी भयो । पुर्जी जारी भएको ३५ दिने म्याद नगुज्रिएसम्म लिम्बू काठमाडौँँ गई एक नेताको घरमा लुकेर बसे । म्याद गुजारेपछि ५ लाख धरौटी तिरे जेल जानु नपर्ने त भयो तर लिम्बूले धरौटी तिर्ने पैसा निकाल्न सकेनन् । अन्त्यमा कांग्रेसी नेता कार्यकर्ताले जोगाउन चन्दा अभियान नै चलाए ।

कोइरालापक्षीय एउटा अल्लारे पालिका सभापतिलाई चोख्याउन कांग्रेसले नगर कार्यसमिति, क्षेत्रीय कार्यसमिति,जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि लगायतबाट जनही पाँच– दश हजारदेखि ४०/५० हजारसम्म उठाएको छ । ठ्याक्कै कतिजनाबाट कति पैसा उठ्यो भन्ने यकिन त भएको छैन तर पाँच लाख उठाउने चक्करमा पन्ध्र लाखभन्दा बढी उठेको तर बे–हिसाब सो रकम लिम्बूलाई बुझाइएको कांग्रेसी नेताले नै खुलासा गरेका छन् । सुनिल शर्माले भने चन्दा दिन इन्कार गरेको चर्चा छ । तर भ्रष्टाचारी पुष्टि भइसकेको आफ्नै निर्वाचन क्षेत्रको छिमेकी एउटा अविवाहित सभापतिलाई कारबाही गरी हटाउनुको सट्टा सोही पदमै कायम राखी उल्टै पुरस्कृत गरिएपछि सुनिल शर्मा पनि चिया पसलदेखि टोलटोल र एकथरी कांग्रेसीहरू बीचमा पनि आलोचित भएका छन् ।

 

टिप्पणीहरू