केपी रहँदासम्म यस्तो कुरै नल्याउनोस्

एमालेसँग १३ र ६ सीट बाँड्न अस्वीकार गर्दै देउवाले भन्नुभयो–

केपी रहँदासम्म यस्तो कुरै नल्याउनोस्

पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भन्नुभयो– अरु सबै कुरा गर्नुस् तर केपी ओली रहुञ्जेल एमालेसित मिल्ने कुराचाहिँ लिएर नआउनुस् ।

गठबन्धनबाट भन्दा एमालेसँग मिलेर जाँदा राष्ट्रियसभा चुनावमा चार सिट बढी अर्थात् १३ सिट जितिने हिसाब लिएर गएका दोस्रो तहका नेतालाई देउवाले गत हप्ता यसो भन्नुभएको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माभन्दा आफूनिकट सुदूरपश्चिमे नेताहरुको तर्फबाट लगिएको उक्त प्रस्ताव उहाँले अस्वीकार मात्र गर्नुभएन, भविष्यमा समेत एमाले अध्यक्षसँग सहकार्यको सम्भावना नरहेको जवाफ दिएर फर्काउनुभयो ।

संसदीय राजनीतिका चतुर खेलाडी मानिने देउवाको अर्को पनि परिचय छ– बोलीको पक्का । पार्टीभित्र प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने मत बढिरहँदा पनि उहाँको त्यही विशेषताका कारण एमाले अध्यक्ष ओलीको अनेक प्रयासका बाबजुद सत्ता गठबन्धनले निरन्तरता पाइरहेको सहजै बुझ्न सकिन्छ । गठबन्धनप्रति उहाँ इमान्दार नभएको भए कोशी प्रकरणपछि केन्द्रमा पनि अर्कै समीकरण बन्न सक्थ्यो । सम्भवतः एमालेसँग मिल्ने प्रस्ताव देउवाले ‘आउटराइट रिजेक्ट’ गर्नुको यौटा कारण यही होला । 

अर्कोतिर, गत वर्ष पुस १० गते ओलीबाट खाएको धोकाको चोटले देउवालाई अझै पीडा दिइरहेको हुनुपर्छ । चुनावपछि गठबन्धनकै सरकार बनाउन सहमत भए पनि देउवा र प्रचण्डबीच पहिलो कार्यकाल को प्रधानमन्त्री भन्ने विवाद थियो । गठबन्धन टुटाउने उपयुक्त मौका खोजेर बस्नुभएका ओलीले दुबैलाई भित्रभित्रै प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभयो । बालुवाटारमा प्रचण्डसँग कुरा नमिलिरहेका बेला ओलीले आफैँ फोन गरेर ढुक्क रहन भनेपछि उहाँ शीतल निवास जाने तयारीमा हुनुहुन्थ्यो । तर, ओलीकै प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री हुनुभयो । यो घटनालाई देउवाले आफ्नो राजनीतिक जीवनकै सबैभन्दा ठूलो धोका ठानेको उहाँ निकट नेता बताउँछन् । अहिले पनि एमालेका तर्फबाट गरिने ‘मिलेर जाने’ प्रस्तावले सायद झस्काइरहन्छ ।

१९ सिटका लागि माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीबीच तालमेल गरेर जाने अनौपचारिक सहमति जुटेको छ । अहिलेकै गठबन्धन मिलेर चुनाव लड्दा कांग्रेसले ९ सिट पाउने अवस्था छ । तर, यसअघि कोशी प्रदेशमा एमालेसँग मिलेर सरकार बनाएको कांग्रेसको संस्थापनइतर खेमा त्यसमा सहमत छैन । एमालेलाई ६ सिट छाडेर १३ सिट लिन सकिने हिसाब निकालेको सो समूहका नेता भने पार्टीलाई अधिकतम फाइदा हुनेगरी प्रदेश कमिटीलाई निर्णयको अधिकार दिनुपर्ने पक्षमा छन् । त्यही कुरा सुनाउन गएका नेतालाई देउवाले एमालेसँग तालमेल गर्न नसकिने प्रष्टसँग भन्नुभएको हो । यसले एकातिर राष्ट्रियसभा निर्वाचनमा अहिलेकै गठबन्धन कायम रहने भएको छ भने प्रचण्ड नेतृत्वको सरकारले पनि निरन्तरता पाउने सम्भावना अझै बलियो भएर गएको छ । 

यसपटक निर्वाचित हुने राष्ट्रियसभाका सांसदहरूको कार्यकाल ६ वर्षको हुन्छ । एउटा मान्छेलाई ६ वर्ष सांसद बनाउँदा पार्टीलाई ठूलो फाइदा पुग्ने हुँदा बढी सिट लिनुपर्ने इतर खेमाको तर्कप्रति भने देउवाको असहमति छैन । ती नेतालाई उहाँले भन्नुभयो– धेरै लिने कुरा ठीक छ तर ओलीसँग मिल्ने कुरा नगर्नू । त्यसमा देउवाको तर्क छ– गठबन्धनका पार्टीहरू चिढिनेबित्तिकै उनीहरू एमालेसँग मिल्छन् । 

बाह्य राजनीतिमा गगन थापाहरूको प्रभाव देखिए पनि कांग्रेसको आन्तरिक गणित भने देउवा अनुकूल छ । मौजुदा केन्द्रीय समितिको गणित हेर्दा शेखर–गगन पक्ष संस्थापनलाई चुनौती दिने हैसियतमा देखिँदैन । भनिँदै छ, अहिलेको सरकारलाई एक वर्ष लैजाने र त्यसपछि आफू प्रधानमन्त्री बन्ने देउवाको रणनीति छ । त्यस्तै, पार्टीमा पनि आफूपक्षीय नेतालाई मिलाएर भावी नेतृत्वइतर खेमामा पुग्न नदिने तयारी भइरहेको छ । विशेष स्रोतका अनुसार आउँदो महासमितिपछि आरजु राणालाई उपसभापति बनाउने सोच छ । नीति अधिवेशन बनाउने भनिएको महासमिति बैठकबाट ‘महिला उपसभापति’ पद सिर्जना गरिनेछ ।

विधानअनुसार दुर्ई कार्यकालभन्दा बढी पार्टी नेतृत्व लिन नपाउने भएकाले आउँदो महाधिवेशनमा आरजुलाई सभापतिको उम्मेदवार बनाउने गरी त्यो तयारी थालिएको उक्त स्रोतको दाबी छ । इतर खेमाका नेतासमेत तलैबाट मिहिनेत गरे आरजु सभापति हुने सम्भावना अस्वीकार गर्दैनन् । किनभने सभापतिको रहर गरेका उपसभापति पूर्णबहादुर खड्का संस्थापन पक्षको पहिलो दावेदार हुन् । अर्को सम्भावित दाबेदार ठानिएका बालकृष्ण खाँणलाई नक्कली भुटानी शरणार्थी काण्डले तह लगाइहाल्यो । कृष्ण सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाएर थान्को लगाउने रणनीति छ । खड्कालाई ‘सेकेण्डम्यान’ मा मनाउन सक्दा संस्थापन पक्षबाट बलियो उम्मेदवार देखिंदैन । देउवाकै समर्थनमा राष्ट्रपति पाएकाले रामचन्द्र पौडेल पनि संस्थापनतिरै ढल्किने हिसाब निकालिएको छ ।

अहिलेको गणितले संस्थापन समूह एकजुट हुँदा शेखर र गगन मिलेर उठे पनि जित्ने अवस्था छैन । तत्काल गठबन्धन नटुट्ने अवस्थाले एमालेका लागि भने राष्ट्रियसभा चुनाव चुनौती बनेर उभिने निश्चित छ । १९ सिटका लागि हुने चुनावमा पार्टीले एक सिट पनि नजित्ने स्थिति बनिरहँदा एमालेमा भित्रभित्रै नेतृत्वप्रति असन्तुष्टि बढेको देखिन्छ ।

विगतमा ‘आई लभ यु केपी बा’ भनेर सडकमा नारा लगाउनेहरू समेत ओली नेतृत्वमा रहँदासम्म पार्टी उँभो लाग्दैन भन्ने स्थितिमा पुगेको भनिँदै छ । गोकुल बाँस्कोटा जो कट्टर ओली समर्थक थिए, उनीसमेत नेतृत्वको विकल्प खोज्नुपर्ने तहमा असन्तुष्ट रहेको बुझिएको छ । सिन्धुपाल्चोक जिल्लाको इञ्चार्ज रहेका उनी संकल्प यात्रामा आफ्नै वडा काभ्रेको मण्डनदेउपुर बाहेक कतै देखिएनन् ।

टिप्पणीहरू