प्रचण्ड, माधव, देउवाको गोप्य सहमतिमा के छ ?

प्रचण्ड, माधव, देउवाको गोप्य सहमतिमा के छ ?

सत्ता गठबन्धन टुटाउने दुई पटकको प्रयास असफल भएपछि तेस्रो पटक उपयुक्त मौकाको खोजीमा रहेको एमालेले आउँदो राष्ट्रियसभा निर्वाचनमा कांग्रेसको असन्तुष्ट समूहका नेतालाई बागी उम्मेदवारी दिन सुझाउँदै आफूले सघाउने प्रस्ताव गरेको बुझिएको छ । 

यसअघि कोशी प्रदेशमा शेखर कोइराला पक्षका केदार कार्कीलाई विद्रोह गराएर एमालेको समर्थनमा मुख्यमन्त्री बनाउने खेलका मुख्य खेलाडी मीनेन्द्र रिजाललाई त्यस्तो प्रस्ताव गरिएको विषय बाहिर चुहिएको हो ।

आगामी माघको राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौलालाई गठबन्धनको उम्मेदवार बनाउने तयारी गरिरहँदा एमालेका केही नेताले शेखर पक्षका नेताहरूलाई भेटेर मीनेन्द्र बागी उठे सघाउन तयार रहेको अध्यक्ष केपी शर्मा ओलीको सन्देश सुनाएको स्रोतले बताएको छ । शेखर खेमाले भने सिटौलासँग टसल लिँदा पार्टीमा समस्या निम्तिने भएकाले कोशीको सट्टा बाग्मतीमा सहमति गर्न सकिने प्रतिप्रस्ताव राखेको बताइन्छ । 

तर, बाग्मतीमा एमालेको भोट तुलनात्मक रूपमा कम रहेकाले बागी उठेर जित्न नसकिने हिसाब एमाले नेताहरूको छ । कोशीमा भने शेखर पक्षको पर्याप्त भोट रहेको र पहिलो दल एमालेको सबै भोट पाउँदा मीनेन्द्रले सजिलै जित्ने उनीहरूको दावी छ । अर्कोतिर, गृहजिल्ला झापाका सिटौलालाई रोक्न यसअघि राप्रपाका राजेन्द्र लिङदेनलाई समर्थन गर्नुभएका ओली बाग्मतीमा सघाउन सहमत नभएको पनि एमाले स्रोतले बताएको छ ।

खेलाडीहरू कस्सिएर लागेको यो खेल सफल हुँदा गठबन्धन टुटाउने घोषित नीतिमा रहेको एमाले एकसाथ दुई रणनीतिमा सफल हुने देखिन्छ । मीनेन्द्र बागी उठ्न तयार हुँदा एकातिर प्रतिष्पर्धी दल कांग्रेसभित्र अन्तरविरोध सिर्जना हुन्छ भने त्यसको प्रभाव सत्ता गठबन्धनमा पर्नेछ, जुन प्रतिपक्षमा रहेको एमालेका लागि राजनीतिक सफलता हो । अर्कोतिर एक्लै चुनावमा जाँदा ऊ सबैतिर पराजित हुने स्थिति छ । कांग्रेसको एउटा खेमालाई विद्रोह गराउन सके एक–दुई सीट हात लाग्ने सम्भावना एमाले नेताहरूले देखेका छन् । कोशीको गुन तिर्न पनि मीनेन्द्रलाई माननीय बनाउन ओलीको जोडबल रहेको भनिँदै छ । 

यसअघि कोशी हुँदै केन्द्रसम्म सहकार्य गर्नेगरी मीनेन्द्रकै अगुवाइमा चरण–चरणमा बालकोट वार्ता भएको थियो । तर, शेखर र केदार कार्कीले खुट्टो टेक्न नसकेकाले यो प्रयास सफल नभएको विश्लेषण छ । यसपटक पनि त्यस्तै धोका हुने भएकाले यो खेलमा लाग्न नहुने एमालेकै एकथरी नेताको धारणा छ । केदार कार्कीलाई विद्रोह गराएपछि बाहिर ओलीलाई राजनीतिको स्ट्राइकर भनेर चर्चा गरिएको थियो । तर, त्यसको पर्सिपल्ट बेलुका निकटहरूसँगको कुराकानीमा ओलीले ‘हाम्रो कोशिश मध्यावधि रोक्ने हो अब उनीहरूको गठबन्धन झन् बलियो हुन्छ, शेखर र केदारले प्रेसर थेग्न सक्दैनन्’ भन्नुभएको थियो ।

नभन्दै अर्कोदिन बिहानै बालुवाटार पुगेर शेखरले प्रधानमन्त्री प्रचण्ड र सभापति शेरबहादुर देउवासँगै ‘गठबन्धन बलियो बनाउन सहमत छौँ’ भन्ने व्यहोराको कागजमा हस्ताक्षर गरे । त्यही सन्दर्भ उल्लेख गर्दै एमालेका एक नेताले भने, ‘कोशीमा मध्यावधि रोक्नु थियो, ठीकै भयो । अब पनि त्यस्तो खेलमा एमालेजस्तो पार्टी लाग्नु हुँदैन । यसले राजनीतिक रूपमा हामीलाई नै घाटा हुन्छ ।’ तर, एमालेको अर्को पक्ष भने कांग्रेससँग मिलेर माओवादी, एकीकृत समाजवादीलगायत साना पार्टीलाई साइजमा राख्नुपर्ने लाइनमा देखिन्छ । महासचिव शंकर पोखरेललगायत नेताले सार्वजनिक रूपमै त्यस्तो धारणा राख्दै आएका छन् । 

यता, शेखर र एमालेको सम्भावित सहकार्यलाई देखाएर गठबन्धनमा भएको पूर्वसहमतिविपरीत देउवालाई प्रधानमन्त्री बनाउन गरिएको सुनियोजित खेल ठान्नेहरू पनि छन् । नेताहरूले भनेअनुसार सत्ता गठबन्धनमा पहिलो दुई वर्ष प्रचण्ड, त्यसपछिको डेढ वर्ष माधव नेपाल र अन्तिम डेढ वर्ष देउवा प्रधानमन्त्री हुने लिखित सहमति छ । त्यो सहमतिअनुसार अबको एक वर्ष प्रचण्ड नै प्रधानमन्त्री हुने र माधवको पालो आउनुपर्ने हो । तर, पार्टीभित्र शेखरहरूको दबाब झेल्न नसक्ने अवस्थामा पुगेको बाध्यता देखाएर प्रचण्डपछि आफैँ प्रधानमन्त्री बन्ने देउवाको रणनीति छ भनिँदै छ । त्यसो हुँदा पाँच वर्षे राष्ट्रपति नखाएर एक वर्षको कार्यकारी पदका लागि हौसिनुभएका माधवले खाली हात बस्नुपर्ने हुनसक्छ । 

राष्ट्रपतिको उम्मेदवारी नदिँदा माधवले पार्टीको एउटा बैठकमा भन्नुभएको थियो,  ‘हामीलाई राष्ट्रियसभा अध्यक्ष दिन्छन्, एउटा संवैधानिक पद त चाहियो नि !’ तर, त्यसबेला अध्यक्षले मागेको तर अरूले जवाफ नदिएको एकीकृत समाजवादीका एक नेताले बताए । अहिले सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउने देउवाको तयारी अनुमान गरेका उनले भने, ‘देउवाले धोका दिनुहुन्छ भन्ने लाग्दैन ।’ तर, वस्तुगत अवस्थाले भने एकीकृत समाजवादी प्रत्यक्षमा १० सीट जिते पनि राष्ट्रिय दल हुन नसक्दा संसद्मा कमजोर छ । गगन थापाहरूले सार्वजनिक रूपमै १० सीटको पार्टीलाई प्रधानमन्त्री दिन सकिँदैन भनिसकेका छन् । ३२ सीटको प्रचण्डलाई समेत ‘थाल खाऊँ, कि भात’ बनाइरहेको कांग्रेसलाई विश्वासमा लिएर प्रधानमन्त्री बन्नु माधवका लागि कम चुनौती हुने छैन । 

त्यसो त, माधव प्रधानमन्त्री हुने सम्भावना टरिसकेको भने होइन । त्यसका लागि देउवाले कांग्रेसभित्रको किचलो देखाएर आनाकानी गरेको अवस्थामा शेखरसहितलाई विश्वासमा लिन सक्नुपर्ने हुन्छ । अहिले गठबन्धन कायमै गरेर जाने र आगामी चुनावपछि शेखरलाई प्रधानमन्त्री बनाउन आफूले भूमिका खेल्ने विश्वास दिलाउन सके माधव प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ । त्यसले कांग्रेसको आन्तरिक विवाद समाधानको बाटो पनि दिन सक्छ ।

टिप्पणीहरू