सयौँ राजाहरू

सयौँ राजाहरू

यतिबेला राजा आऊ, देश बचाऊवालाहरूको चर्तिकला अलि चर्केरै आएको हो कि जस्तो लाग्छ । किनभने भारतमा चुनाव जो शुरु भइसकेको छ । राजा आऊवालाहरू चाहन्छन् कि देशमा राजा आइदेऊ । राजा आएपछि सबै ठीक हुन्छ । ठीकै छ । यदि उहाँहरूको विश्वासै यही छ भने यही बोल्नोस् । 

तर राजावादीको एउटा कुरा भने बुझ्न सकिरहेको छैन । उनीहरू भन्छन्– देशमा एउटा राजा फालेर के भयो ? अरू सयौँ राजा आए । उहाँहरूको यो तर्क म अलि बुझ्न सकिरहेको छैन । किनभने राजावादीले भने जस्तो देशबाट एउटा राजा फालिएर अर्को सयौँ राजा आएको भए पनि समस्या के भयो ? आखिर आएको त राजा नै हो नि ! पहिले एउटा राजा थिए, अहिले सयौँ राजा भए ।

भएको त राजा नै हो । अर्थोक होइन । यदि एउटा राजा फालेर अरू सयौँ अराजाहरू आएको भए त्यो गलत हुन्थ्यो । आखिर गएको राजा भए पनि आएको पनि त राजा नै हो नि ! राजावादीहरू भए त यसमा खुशी पो हुनुपर्ने । किनभने उनीहरू एउटा राजाको खोजीमा थिए, तर सयौँ राजा आइदिए । ढुंगा खोज्दा देउता भेटिनु भनेको यही त हो नि ! एउटा राजा आऊ भनिरहेको ठाउँमा सयौँ राजाहरू आइदिएपछि त राजावादी उधुमै खुशी हुनुपर्ने हो ।

आखिर राजा आऊ भनिरहेको हो, आइदियो । अब आइसकेपछि फेरि हामीले त एउटा मागेका थियौँ सयौँ किन आएको भन्न पाइन्छ ?
 

टिप्पणीहरू