एक वर्षे उपलब्धि

एक वर्षे उपलब्धि

कमरेड पुष्पकमल दाहाल प्रचण्डको सरकारले एक वर्ष पूरा गरेछ । यस उपलक्ष्यमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा एउटा सन्देश जारी गर्नुभएको छ । त्यसलाई सन्देश के भनौँ, आफ्नो एक वर्षे कार्यकालमा हासिल गरेका उपलब्धिहरूको सँगालो भन्नुपर्ला । तर, साँच्चै भनौं भने प्रधानमन्त्रीज्यूले त्यो सँगालो पनि त्यसरी वाचन गरिरहनु आवश्यक थिएन । किनभने सरकारले यो एक वर्षे कार्यकालमा के के उपलब्धि हासिल ग¥यो भन्ने कुरा त छर्लङ्गै छ नि ! सरकार विक्रम संवत् २०७९ साल पुस १० गते गठन भएको थियो । आज विक्रम संवत् २०८० साल पुस १० गते भइसक्यो । एक वर्ष भयो । सरकार ढलेको छैन । के सानो उपलब्धि हो ? म त भन्छु, सरकार यसरी एक वर्ष खुरुखुरु चलाउन सक्नु नै प्रधानमन्त्री प्रचण्डको ठूलो उपलब्धि हो । एक वर्ष त हेर्नोस्, अहिले सरकारले सडकमा गरेको पीच पनि टिक्दैन । बाटो बनाउँछ एक वर्ष चल्दैन । पोखरा र भैरहवामा त्यत्रो विमानस्थल बन्यो, त्यो अहिलेसम्म चल्न सकेको छैन । पुल बनाउँछ, त्यो एक वर्ष चल्दैन । ए बाबा, तपाईंले आफ्नै शरीरमा लगाउने भनेर किनेर ल्याएको कट्टु र गञ्जीसमेत एक वर्ष चल्न गाह्रो छ । यस्तो अवस्थामा कमरेड प्रचण्डले सरकार एक वर्ष चलाउनुभएको छ । उहाँले यो देश र जनतालाई एक वर्ष केही नभएको स्थिर सरकार दिनुभएको छ । अब योभन्दा बढी उपलब्धि के चाहियो ?
 

टिप्पणीहरू