सेनाका जनावरलाई पनि कोर्ट अफ इन्क्वायरी

सेनाका जनावरलाई पनि कोर्ट अफ इन्क्वायरी

नेपाली सेनाले विभिन्न कारणबस मृत्यु भएका सैनिक जनावरहरुको रासन लगतकट्टाका लागि नयाँ कार्यविधि बनाएको छ । हालै जारी ‘नेपाली सेनामा रहेका जनावरहरुको लगतकट्टा गर्नेसम्बन्धी कार्यविधि–२०८०’ मा कोर्ट अफ इन्क्वायरीको व्यवस्था गरिएको छ ।

सेनाको व्यवस्था,नीति तथा योजना विभागले पेश गरेको कार्यविधि प्रधानसेनापति प्रभुराम शर्माले स्वीकृत गरेसँगै कार्यान्वयनमा आएको जानकारी दिइएको छ । जनावर मरेपछि पनि तिनका रासनमा हुने गरेको ब्रम्हलुट रोक्न कार्यविधि बनाइएको आकलन छ ।

सेनाले अपरेशनल,पारवहन र विभिन्न सेरेमोनियल ड्युटी तथा समारोहका लागि कुकुर,घोडा र खच्चड पाल्ने गरेको छ । बूढो भएपछि र विभिन्न रोग लागेर जनावरहरु मर्ने भएकाले नियमानुसार कोर्ट अफ इन्क्वायरी गठन गरी तिनले खाँदै आएको रासनको लगतकट्टा गर्न कार्यविधि बनाइएको सेनाले जनाएको छ । 

कार्यविधिले कोर्ट अफ इन्क्वायरी प्रक्रियालाई थप सहज,सरल र व्यवस्थित बनाउने सैनिक अधिकारीहरुको बुझाई छ । कार्यविधिमा लेखिएको छ, ‘सेनाका विभिन्न शिक्षालय तथा युनिटमा रहेका जनावरहरुको मृत्यु भएमा मृत्यु दर्तासहित सम्बन्धित अड्डामा कोर्ट अफ इन्क्वायरी प्रक्रियाका लागि स्वीकृति माग गर्नुपर्नेछ ।’ 

सैनिक जनावरहरुको मृत्यु दर्ताको प्रमाणपत्र प्राप्त हुनासाथ रासन स्वतः मृत्यु भएको मितिबाट कट्टा गरी तालुक अड्डा तथा महाशाखालाई जानकारी गराउनुपर्ने कानुनी व्यवस्था गरिएको हो । महाशाखाअन्तर्गत रहेका युनिटहरुले कोर्ट अफ इन्क्वायरी बोर्ड गठन गरी महाशाखा प्रमुखबाट अनुमति लिनुपर्ने र थप प्रक्रिया अघि बढाउनुपर्ने कार्यविधिमा उल्लेख छ । 

सेनाका विभिन्न युनिटको हकमा बाहिनी अड्डाको अनुमति तथा पृतना हेडक्वार्टरबाट ठहर गराउनुपर्ने जनाइएको छ । त्यस्तै, शिक्षालयहरुले सैनिक तालिम महानिर्देशनालयको समर्थन तथा श्री प्रबन्धरथी विभागका विभागीय प्रमुखबाट ठहर गराई थप प्रक्रियाका लागि महाशाखा पठाउनुपर्नेछ । 

कोर्ट अफ इन्क्वायरी बोर्डमा जनावरको मृत्यु भएको भनी सम्बन्धित अड्डामा जानकारी गराएको पत्र,मृत्यु भएको सैनिक कुकुरको हकमा डग ह्याण्डलरको स्पष्टीकरण,केनल–तबेला ड्युटी, ड्युटी बिल्लादार र ड्युटी पदिकले दिएको बयान र मृत्यु दर्ता प्रमाणपत्र पेश गर्नुपर्नेछ । 

कारबाही सकिएपछि महाशाखाअन्तर्गतका युनिट, शिक्षालय तथा युनिटले कोर्ट अफ इन्क्वायरीको निर्णय महाशाखालाई जानकारी गराउनुपर्नेछ । उक्त निर्णय महाशाखा प्रमुखबाट सही गराएर श्री प्रबन्धरथी विभागका विभागीय प्रमुखकोमा पठाइनेछ । 

प्रमुखले त्यसलाई ठहर गरी कोर्ट अफ इन्क्वायरीपश्चात् प्राडमा पत्राचार गर्ने छन् । विवाकले महाशाखालाई उक्त पत्र फिर्ता पठाएपश्चात् प्रबन्धरथी विभागले प्रधानसेनापतिसमक्ष लगतकट्टाका लागि जाहेरी पेश गर्नुपर्ने प्रक्रिया तोकिएको छ । 

जाहेरी स्वीकृत भएपछि जनावरको संख्या कट्टा भएको भनी सैनिक आदेशमा प्रकाशनका लागि विभागले सैनिक संगठन निर्देशनालयमा पत्राचार गर्नेछ । सैनिक आदेशमा प्रकाशन भएसँगै जनावर संख्या स्वतः कट्टा हुनेछ ।

टिप्पणीहरू