मन्त्रीले बजेटको टेबल बजारेपछि

मन्त्रीले बजेटको टेबल बजारेपछि

राष्ट्रियसभा निर्वाचनपछि मन्त्रिपरिषद् हेरफेर हुने हल्ला छ र त्यसको बाछिटा सिंहदरबारमा देखिन थालिसक्यो, मन्त्रीले उपसचिवलाई शाखामै छिरेर टेबुल ठोकेसँगै।

स्वास्थ्य मन्त्रालयको बजेट निकासा ढिलो भयो, फाइल उठेन र समयमा पैसा गएन भनेर गत बुधबार अर्थमन्त्री डा.प्रकाशशरण महतले उपसचिव टिका भुसालको टेबुल ठेकेका हुन् । अनुमान छ, हाट्टहुट्टे स्वभावका स्वास्थ्य मन्त्री मोहन बस्नेतले डा.महतलाई त्यही शैलीमा थर्काए होलान् । अनि, जसरी आफूले थर्काई भेटेको हो, त्यसरी नै उपसचिवलाई तह लगाउन खोजेका होलान् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको संकेत गर्नु र गृह मन्त्रालय कांग्रेसलाई दिएर अर्थ लिने हल्लासँगै जाने बेलामा कुरा मिलाउन पनि डा.महतले त्यसो गरेको अनुमान कर्मचारीबीच छ । 

जबकि, मन्त्रीको मातहतमा सचिव, सहसचिवहरू हुन्छन् । सचिवलाई भन्न अनुकूल भएन भने मन्त्रीले तलका कर्मचारीलाई आफ्नै कोठामा बोलाएर हप्काए पनि हुन्थ्यो । तर, सीधै भुइँ तलाको शाखामा छिरेर थर्काए । ती उपसचिव सशांक कोइरालानिकट मानिन्छन्, कांग्रेस निकट कर्मचारीहरू भन्दै थिए, ‘कांग्रेसकै सरकार, कांग्रेसकै मान्छे, कांग्रेसकै मन्त्रीले किन यस्तो गरेको होला ?’ 

अर्कातिर, बिचौलिया दीपक भट्टहरूको विशेष चासोमा नेप्से– २ लाई अगाडि बढाइने भएको छ । उनीहरूले बित्तीय क्षेत्र, अर्थात् बैंक, बीमा, धितोपत्रतिर चासो बढाएका छन् । भर्खरै नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयलाई बनाइयो । यसमा देउवापत्नी आरजु राणाको विशेष चासो रहेको बुझिन्छ । नेप्से– २ ल्याइँदा नेप्से १ ले अहिले गरिरहेका कामलाई बाडफाँड गरिन्छ । त्यसो गर्दा आम्दानी चौपट हुन्छ भन्ने कर्मचारीहरूको भनाइ छ । तर, गिरोहले त्यो काम नगरी नहुने भनी अत्तो थापेको छ । त्यसका निम्ति १६ अर्बको खेल चलिरहेको छ । 

अर्थसचिव कृष्णहरि पुष्करलाई प्रकाशशरण महतले ‘एकोहोरो ग¥यो, भ्यायो कि क्या हो, खायो कि क्या हो भनेर’ गुप्तचरी गर्न आरजुले पठाएको भन्ने छ  । उता, धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको कार्यकाल २० गते सकिँदैछ । उनको ठाउँमा बजारमा मान्छेहरूको खोजी हुँदैछ  । अर्कातिर, निर्जीवन बीमा समितिको विषयमा गरेको निर्णयमा पनि संसदीय समितिले अख्तियारले छानबिन गर्नुपर्ने भनेर लेखिदिएको छ ।

त्यसैले बेलैमा बीमा प्राधिकरणबाट सूर्य सिलवाललाई हटाएर आफ्नो मान्छे राख्न पाए हुन्थ्यो भन्ने गिरोहको चलखेल छ । पुनर्वीमाको मुद्दामा संसदीय समितिले अख्यिारलाई पत्र लेखेपछि बोर्डका सदस्यहरूलाई बोलाइने भएको छ । त्यसबेला पनि बोर्डका अध्यक्ष सूर्य सिलवाल नै थिए । अर्थ मन्त्रालयबाट झक्क आचार्य, कानुन मन्त्रालयबाट फणीन्द्र गौतम, वीमकबाट एकजना ओली थरका व्यक्ति र बीमा गर्ने कम्पनीमध्येबाट बाणिज्य बैंकका प्रमुख कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ थिए । 

यति चासो राखेपछि गिरोहले बजेटमा आँखा लाउने नै भयो । निर्वाचन क्षेत्रमा बजेट रकम दिने, बहुवर्षीय ठेक्कामा स्वीकृति दिने, आफ्नो मन्त्रीहरूको काम र आफ्ना मान्छेहरू भर्ती गर्नका लागि चासो राख्ने क्रम बढेको छ । राजश्वतिर पनि त्यस्तै छ । त्यसका लागि मन्त्राणी वीना महतलाई नभेटिकन सरुवा नै हुँदैन भन्ने गाइँगुइँ छ । पछिल्लो समय मन्त्री र परिवारका मान्छेहरूको ‘खानपिन’ को क्रम बढेको बताइन्छ । 

सचिव कृष्णहरि ‘सपोर्टिभ छु’ भन्ने, तर कलम नचोप्ने कुराले मन्त्री हैरान छन् । उनी ‘आफू फस्छु कि’ भनेर सही नगर्ने, तराईको कायस्थ शैलीको मान्छे रहेछन् भन्ने गुनासो बेलाबेला मन्त्रीबाट सुनिन्छ । उनी आफूलाई हुनेबाहेक अरु कुरामा कलम नचोप्ने बानीका छन् । अरुको अगाडि ‘सहसचिवले ढिला गरेछ कि क्या हो, म भन्दिहाल्छु नि’ भन्ने गर्दछन् । 

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको कार्यकाल चैतमा सकिँदै छ । अर्कातिर, अर्थ मन्त्री साँटियो भने ज्ञानेन्द्रबहादुर कार्कीलाई गृह मन्त्री बनाएर थप नक्कली भुटानी प्रकरणमा आरजु, मञ्जुका विरुद्ध पक्राउ पुर्जी काटिनबाट जोगाउने खेलो छ । त्यसबापत  माओवादीलाई अर्थ मन्त्रालय दिइने भएको भनिन्छ ।

उता, माओवादीलाई पनि शक्ति सन्तुलन मिलाउन मुस्किल छ । जनार्दन शर्मालाई च्याप्ने, वर्षमानलाई पेल्ने क्रम चलिरहेको छ । भनिन्छ, फेरि वर्षमानलाई च्याप्ने, जनार्दनलाई पेल्ने क्रम शुरु हुन सक्छ । यो काम माघमा राष्ट्रियसभाको चुनावपछि हुने बुझिन्छ । किनभने, त्यसअघि क्याबिनेट चलाउँदा गठबन्धनमा असर पर्छ । उपेन्द्र यादव पनि रिसाइरहेका छन् । गठबन्धन बिग्रियो भने राष्ट्रियसभाको चुनाव पनि बिग्रिने खतराका कारण अहिले सबै चूपचाप देखिन्छन् । पुस २३ उम्मेदवारी दर्ता गर्ने दिन हो । माघ ११ मा चुनाव हुन्छ । त्यसपछि सरकार हेरफेर हुने सल्लाह छ ।

टिप्पणीहरू