जनयुद्ध सम्झिँदै बस्ने यी मन्त्री

जनयुद्ध सम्झिँदै बस्ने यी मन्त्री
सुन्नुहोस्

२०७४ र २०७९ मा निर्वाचित सिन्धुपाल्चोक जिल्लाका युवराज दुलाल बागमती प्रदेशमा पटक–पटक मन्त्री भए । कहिले स्वास्थ्य, कहिले अर्थ, कहिले भौतिक पूर्वाधार सम्हालेका दुलाल काभ्रेको विकट पालिका खानीखोला र महाभारतमा अलिक धेरै जाने–आउने गरिरहे । जनयुद्ध सकिएको १५ वर्षपछि आएर भने दुलालले भिडन्तका सबै घटना सम्झिएका छन् । 

०८० पुस ५ गते बिहीबार खानीखोला र महाभारत गाउँपालिकाको विभिन्न क्षेत्रमा पुगेका दुलालले जनयुद्ध सम्झिए । महाभारतको सोलाभञ्ज्याङमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै उक्त क्षेत्रमा आफूले जीवन–मरणको संघर्ष गरेको बताए ।

२०५२ फागुन १ गतेबाट शुरु भएको १० वर्षे जनयुद्धको क्रममा महाभारतको घर्तीछापमा भएको लडाइँको कमाण्डर थिए उनी । सो भिडन्तमा सेनाले नाइटभिजन हेलिकप्टरबाट फायर गरेको थियो । महाभारत, खानीखोलाका अलावा काभ्रे पनौतीको भिडन्तलाई पनि दुलालले स्मरण गरे । मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक जिल्ला माओवादी जनमुक्ति सेनाका लागि परेड खेल्ने र सुरक्षित ठाउँ मानिन्थ्यो । 

जनयुद्धलाई स्मरण गर्दै उनले भने, ‘तत्कालीन शाही सेनासँग नार्केमा लडाइँ परेको थियो । हामीले आंशिक रूपमा जित्यौँ । त्यहाँबाट आधार क्षेत्र बनखु, छोटेसानमा बस्न भनेर फर्कंदै गर्दा यही घर्तीछापमा हेलिकोप्टरले आएर बाटो छेक्यो ।

दोहोरो भिडन्तमा केही हताहती भयो, हामीले केही थान हतियार कब्जा गर्‍राैँ । यहाँबाट फेरि केही अगाडि बढेर सिन्धुली पुग्यौँ । सिरहाको बन्दीपुरमा चैत÷वैशाखको समयमा ठूलो लडाइँ भयो र फर्कने क्रममा सुनकोशीको किनारै किनार आउँदाखेरी सान्नानी भन्ने ठाउँमा पनि लडाइँ भयो । ठूलो लडाइँपछि आराम गर्नुपर्ने हुन्छ । त्यो तयारी र आरामको लागि सिरहाको बन्दिपुरदेखि आफ्नो आधार क्षेत्र ठानेर महाभारत आइपुगेका थियौँ ।’

उनले थपे– ‘व्यवस्था परिवर्तन भएको हुन्थेन भने आज हामी यसरी सोलाभञ्ज्याङमा बसेर यति ठुल्ठूला, करोडौं करोडका पुल शिलान्यास गर्ने र महाभारतमा पक्की बाटो बनाउने सपना देख्न पनि सक्ने थिएनौं ।’ त्यसअघि खानीखोलामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पनौतीको लडाइँमा घाइते भएर कामीडाँडा–तालढुंगा हुँदै उपचार गर्न छिमेकी देश गएको थिएँ । नार्के घर्तीछापको लडाइँ म आफैँले कमाण्ड गरेको हुँ ।

मकवानपुर बागमती गाउँपालिका झुर्झुरेको लडाइँमा पनि म घाइते भएको थिएँ । डाँडापारी बनखुदेखि तालढुंगासम्मको यो भूगोल त्यतिबेला छापामार, जनमुक्तिसेना धेरै बस्ने क्षेत्र हो । त्यसैले काभ्रेको रोशी गाउँपालिकामा पर्ने बिपी राजमार्गदेखि महाभारत, खानीखोला हुँदै मकवानपुरको झुर्झुरेस्थित मदन भण्डारी राजमार्गको नाम जोड्ने प्रमुख राजमार्गको नाम जनमुक्ति मार्ग राखिएको हो । 

– मोतीराम तिमल्सिना

 

टिप्पणीहरू