बालकुमारी काण्डमा प्रचण्डसँग देउवा बम्कँदा

बालकुमारी काण्डमा प्रचण्डसँग देउवा बम्कँदा

शेरबहादुर देउवा प्रचण्डसँग झोक्किँदै हुनुहुन्थ्यो, ‘पुलिसलाई किन निलम्बन गरेको ? त्यसरी कहाँ हुन्छ !’ राष्ट्रियसभा निर्वाचन सम्बन्धमा छलफल गर्न भनी शनिबार बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू जम्मा भइसकेका थिए । कांग्रेस सभापति देउवा पुग्नुहुँदा जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पहिल्यै उपस्थित हुनुहुन्थ्यो ।

देउवा पुग्नु र प्रचण्डले गृहसचिवलाई फोन गर्नु एउटै समय हुँदा छिर्नेबित्तिकै देउवा रन्किनुभएको हो । किनभने, फोनमा प्रचण्डले बालकुमारी घटनाका दोषी भन्दै केही प्रहरीलाई कारवाही गर्न आदेश दिइरहनुभएको थियो । त्यसमध्ये कतिपयलाई निलम्बन र कतिपयलाई जिम्मेवारीबाट फिर्ता गर्न उहाँको निर्देशन थियो । जानेबित्तिकै त देउवाले केही भन्नुभएन, आदेश सुनिरहनुभयो । फोन राख्नासाथ कराउन थाल्नुभयो, ‘यो के गरेको....!’ प्रचण्डले बालकुमारी घटनामा लापरवाही गरेका कारण उनीहरूलाई विभिन्न किसिमको कारवाही गर्नुपर्ने कुरा सुनाउनुभयो ।

देउवाले सोध्नुभयो, ‘क–कसलाई ?’ त्यसक्रममा ललितपुरका एसएसपी सिद्धिविक्रम शाहको नाम पनि आएपछि देउवाको हाउभाउ नै फेरियो । उनी सल्यानी शाह, देउवा परिवारसँग राम्रो सम्बन्ध भएका पूर्वएआइजी सुरेन्द्रविक्रमका भाइ, पूर्वआइजी धीरजप्रताप सिंहका नातेदार पनि । प्रहरीमा अहिले ०५१ र ०५२ मा भर्ना भएको टोलीले संगठन चलाएपछि राष्ट्रिय अनुसन्धान विभागबाट सेवा परिवर्तन भई प्रहरीमा भित्रिएको टोलीले आइजिपीसहित संगठनको नेतृत्व गर्ने क्रममा हालसम्मको वरियताअनुसार सिद्धिविक्रम मुख्य दावेदार हुन् ।

तर, उनलाई अहिल्यै बिगार्न खोजिँदा देउवालाई त्यो कुरा सहिसक्नु भएन । किनभने, अहिले उनी कारवाहीमा पर्नु भनेको अब फागुन–चैतबाट खुल्ने डिआइजी बढुवामा छुट्नु हो । त्यो बढुवामा छुट्नु भनेको अहिलेसम्मको वरिष्ठतामाथि आँच पुग्नु हो । देउवाको जिकिर थियो, ‘अराजकहरूले मन्त्रीको गाडी जलाउँछन्, कारवाहीचाहिँ पुलिसलाई गरेर हुन्छ ?’

प्रचण्डले प्रहरी सतर्कताको अभावमा उक्त घट्ना भएको र समयमै प्रहरी पुगेको भए केही पनि नहुने कुरा सुनाउनुभयो । तर, देउवा मुडमा हुनुहुन्थेन । ‘कारवाही नहोस् है...!’ भन्दै कुरा टुंग्याउनुभयो । फलतः ललितपुर परिसरका डिएसपी उमेश लम्साल र मन्त्री प्रकाश ज्वालाका पिएसओलाई निलम्बन गरिए पनि निलम्बनको तयारी गरिएका सिद्धिविक्रममाथि जिम्मेवारीबाट हटाउनेबाहेकको काम भएन ।

उता, गठबन्धनका शीर्ष नेताबीच राष्ट्रियसभा निर्वाचनमा सीट बाँडफाँडका सम्बन्धमा अहिलेसम्म कुरा मिलिसकेको छैन । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच सीट भागबण्डा हुनुपर्ने हो । त्यसमध्ये जनमोर्चाले दावी गर्ने एउटा सांसद पक्कापक्की गरिएको छ । आगामी फागुनमा रिक्त हुने राष्ट्रियसभा सदस्य पदका लागि एक महिनाअगावै, अर्थात् माघ ११ गतेको निर्वाचनमा १९ उम्मेदवार उक्त गठबन्धनले टुंग्याउनुपर्ने छ । त्यसमध्ये पदावधि सकिने सांसद विमला पौडेल राईको ठाउँमा अर्की पौडेललाई पठाउने गरी शीर्ष नेतृत्वले सल्लाह टुंग्याएको छ ।

त्यो नामको अनुमोदन भने अहिलेकी सांसद विमलाको पद सकिएपछि मात्रै, अर्थात् माघमा हैन, फागुनमा हुने छ । बयोबृद्ध वामपन्थी नेता मोहनविक्रम सिंहकी पत्नी एवं जनमोर्चा नेतृ दुर्गा पौडेललाई विमलाको ठाउँमा पठाइने सहमति भएको हो । उनी ०७४ को निर्वाचनमा प्युठानबाट तत्कालिन वामगठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य भएकी थिइन् । गत वर्षको निर्वाचनमा पनि त्यहीँबाट उठिन् तर एमालेले जित्यो । चुनाव हारेको डेढ वर्षमै उनी फेरि संघीय सांसदका रुपमा राष्ट्रियसभा सदस्य बन्ने भएकी छन् । 

यसबाहेक अन्य विषयमा सहमति जुटेको छैन । संख्या टुंगो लगाउनका निम्ति माओवादीबाट वर्षमान पुन, समाजवादीबाट प्रमेश हमालसहितको बैठक त बसेको छ । तर, निश्कर्षमा पुगेको छैन । कतै शीर्ष नेताका बीचमा संख्या टुंगो लाग्यो कि भन्ने अनुमानसम्म दोस्रो तहका नेताहरूले लगाएका छन् । 

 

टिप्पणीहरू