गोली हैन गाँजा, यही होला ताजा

गोली हैन गाँजा, यही होला ताजा
सुन्नुहोस्

‘रोजगारी भएन, विदेश जान पनि पाइएन’ भन्दै युवाहरू गोली खान तयार छन् । यता, सम्भावना भएका र आयमूलक कारोबारसँगै जनतालाई रोजगारी दिन सरकार हिच्किचाइरहेको छ ।

नेपालमा पर्यटन, जलविद्युत, भौतिक पूर्वाधारसहित अनगिन्ती क्षेत्रमा रोजगारी छन् । भौतिक पूर्वाधारतर्फ सडक, पुल र भवन निर्माणका लागि कामदार नपाएर भारतीय कामदारमा भर पर्नुपर्ने अवस्था छ । नेपाली युवा त्यही काम गर्न दिनहुँ खाडीतर्फ लागिरहेका छन् । ‘पढेको छ व्याचलर, काम गर्ने भरिया र सिकर्मीको ?’ भन्दै गोली खान तयार भएका युवालाई समेत आकर्षित गर्न सकिने एउटा क्षेत्र हो, गाँजाको वैधानिकता।

विभिन्न प्रजातिका जडिबुटीमध्ये गाँजा नेपालका निम्ति त्यस्तो उपयोगी फल हो, जसको प्रचुर उत्पादन हुने गर्दछ । हो, त्यसको सेवन गर्ने, कुलतमा लाग्ने र नशाको तालमा अपराधमा संलग्न हुने विसंगति पनि छन् । मदिरा बिक्रिमा कुनै रोकतोक नभएको देशमा नरोप्दा पनि उम्रिने फलमाथि किन यतिविघ्न कडाइ ? यस्तो प्रश्न पनि उठ्ने गरेका छन् । गाँजाका राम्रा पक्ष छन् । कतिपय रोग निको पार्ने औषधी हो । त्यसबाट कपडाको उत्पादन हुने, खानामा प्रयोग गरिने स्वास्थ्यवद्र्धक तत्वको उपलब्धतासहित राम्रो पक्षको उपयोग गर्दा राज्यको केही जाँदैन । बरु, मनग्यै आम्दानीको बाटो खुल्छ । रोजगारी पनि सिर्जना गर्छ ।

भनिन्छ, नेपालमा अमेरिकी, युरोपेली देशको दबाबमा गाँजासहितका विभिन्न लागुऔषधको बिक्रि, उत्पादन र निर्यातमा प्रतिबन्ध लगाइएको हो । तर, अहिले त्यही अमेरिकाले आफ्नो बजारमा छिमेकी देश मेक्सिकोबाट अत्यधिक गाँजा आयात गरिरहेको छ । औषधीजन्य उपयोगका लागि युरोपेली मुलुकमा पनि यसको प्रयोग बढेको छ । नेपालमा यसै पनि सीमा–सीमामा फेन्सिडिलसहित अनेकौं लागुऔषधको कारोबार भइरहेको छ ।

तर, बारीका कान्ला कान्लामा फल्ने गाँजा प्रतिबन्धित छ । यस्तो खेतीमा खासै लगानी लाग्दैन । सरकारले उयदपुरको एउटा गाउँमा मात्रै वर्षेनी १५ करोडको गाँजा फँडानी गर्छ । बचेको गाँजा बेच्दा पनि किसानले ६० लाख रुपैयाँ कमाइरहेका छन् । १०–१५ लाख लगानीमा १५ करोड आम्दानी हुने यस्तो उत्पादनमाथिको प्रतिबन्ध तर्कसंगत छैन । भारतीय बजारमा किलोको दुई लाखसम्मले बिक्रि हुन्छ । कुखुरा पालेरभन्दा गाँजाले हुने कमाई र दिने रोजगारी बढी छ ।

गाँजा प्रतिबन्ध खोल्नुपर्ने मनशायसहित पूर्वकानुन मन्त्री शेरबहादुर तामाङले संसदमा विधेयकसम्म पु¥याए । गैरसरकारी विधेयकका रुपमा दर्ता भएको त्यसलाई कसैले वास्ता गरेका छैनन् । सरकारले एकातिर प्रतिबन्ध लगाउने, तर धार्मिक र सांस्कृतिक कारणले पनि त्यसको प्रयोग बढ्ने स्थिति छ । शिवरात्रिमा संसारभरका साधु–सन्त नेपाल आउँछन्, गाँजाका लागि । यहीँ पनि विभिन्न मठ, मन्दिर, देवल, सत्तलहरूमा भजन–कीर्तनका क्रममा गाँजाको प्रयोग हुँदै आएको छ ।

युवालाई दुव्र्यसनको रफ्तार बढ्यो भनेर रिह्याब सेन्टरमा हालिएको छ । विदेशबाट अनुदान ल्याएरसमेत रिह्याब सेन्टर खुलेका छन् । त्यहाँबाट सबै सुध्रिएर फर्किएका कोही पनि छैनन् । कतिपयले ज्यान नै गुमाएका छन् । दबाएर भन्दा खुला पारे, नियमनमा कडाइ गरे गाँजाले गर्ने हानी खासै छैन भनिन्छ । बिग्रनै परेपछि गाँजा किन, रक्सी र सिगरेटले नै थुप्रै ज्यान लगेकै छ ।

 

टिप्पणीहरू