यस्तरी पो बढ्न थाल्यो अभद्र व्यवहार

यस्तरी पो बढ्न थाल्यो अभद्र व्यवहार
सुन्नुहोस्

सामान्यतया अभद्र भन्नाले अशिष्ट, असभ्य र भलादमीपना नभएको बुझिन्छ । कसैमाथि अभद्र व्यवहार गर्नुलाई कानुनतः अपराध मानिन्छ । मुलुकी अपराध संहिता, २०५४ दफा ११८ को उपदफा (१) मा भनिएको छ, ‘कसैले कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गर्न, कसैमाथि अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानीको उद्योग गर्नुहुँदैन ।’ त्यसो गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना हुनसक्छ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी दिनेश राजवंशीसहित चार जनालाई केही दिनअघि प्रहरीले पक्राउ गर्‍यो । अष्ट्रेलियामा बसेर फुटबल खेल्दै आएका उनीसहितलाई अभद्र व्यवहारको कसूरमा कारबाही अघि बढाइएको थियो । 

प्रहरीले गत असारमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरुङ्गलाई पनि यसैगरी समात्यो र स्थानीय अमृत भण्डारीलाई अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धान अघि बढाइयो । यसबीच अभद्र व्यवहार गरेको आरोपमा पक्राउ पर्नेको संख्या ह्वात्तै बढेको छ । एक वर्षमा १० हजार ५१० सार्वजनिक हितविरुद्धको कसूरमा मुद्दा दर्ता भएको नेपाल प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७९–८० मा काठमाडौं उपत्यका प्रहरी कार्यालयमा तीन हजार ३९६ वटा यस्ता मुद्दा दर्ता भएका थिए । त्यस्तै, कोशी प्रदेशमा एक हजार ५६३, मधेश प्रदेशमा दुई हजार ३२९, बागमती प्रदेशमा ६५८, गण्डकी प्रदेशमा ७४५, लुम्बिनी प्रदेशमा ८९९, कर्णाली प्रदेशमा १७१ र सुदूरपश्चिम प्रदेशमा ७४९ वटा मुद्दा दर्ता भएको तथ्यांक छ ।

यता, प्रहरी मात्र नभई अदालतमा समेत अभद्र व्यवहारसम्बन्धी मुद्दाको चाङ छ । सिन्धुलीको दुम्जा गाउँपालिका–२ घर भएर ललितपुर बस्दै आएका रामबहादुर सुर्खेतीले रामेछापको दोरम्बा गाउँपालिका–५ घर भई काठमाडौं बस्दै आएका गणेश गौतम र मनिका गौतमविरुद्ध ललितपुर जिल्ला अदालतमा अभद्र व्यवहारको अभियोगपत्र दायर गरेका छन् । गत कात्तिक १५ गते कुराकानीका लागि बोलाएर जथाभावी गालीगलौज र हातपात गरेको सुर्खेतीको आरोप छ । 

उनीहरूले हिर्काउँदा आफू घाइते भएको र पाटन अस्पतालमा भर्ना हुनुपरेको सुर्खेतीले बताए । यता, गणेशले मादक पदार्थको सुरमा गालीगलौज र हातपात गरेको स्वीकारेका छन् भने मनिकाले सुर्खेतीले आफूमाथि नराम्रो व्यवहार गरेकोले गालीगलौज गरेको बताइन् । सुर्खेतीले जथाभावी बोलेकाले आवेगमा आएर सामान्य हातपातसमेत गरेको मनिकाको बकपत्रमा उल्लेख छ । अदालतले उक्त मुद्दाका प्रतिवादीहरूलाई अभद्र व्यवहारको कसूरमा नौं हजार रुपैयाँ जरिवाना र ३६० रुपैयाँ पीडित राहत कोषमा भराउन आदेश दिएको छ । त्यस्तै, घाइतेको उपचारमा लागेको खर्चसमेत व्यहोर्न भनिएको छ । रेष्टुरेण्टमा काम गर्दै आएका काभ्रेको चौरी देउराली गाउँपालिका–६ का रमेश क्षेत्री (नाम परिवर्तन) विरुद्ध पनि अभद्र व्यवहारको मुद्दा दायर भएको छ । बयानका क्रममा उनले सामान्य विवादलाई अभद्र व्यवहार बनाएर आफूलाई फसाउन खोजिएको बताएका छन् । 

पछिल्लो समय अभद्र व्यवहारसम्बन्धी कसूर बढेको छ । सामान्य वादविवादलाई पनि अभद्र व्यवहारमा फसाउने कार्यसमेत हुने गरेको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई प्रश्न गर्दा एक अभियन्ता थुनामा पुगेकी थिइन् । विद्यालय सुधारको विषयमा प्रश्न गर्दा ईन्दिरा चापागाईंलाई अभद्र व्यवहार गरेको आरोपमा थुन्न लगाइएको थियो । त्यस्तै, डेढ वर्षअघि एक जना भिक्षुमाथि अभद्र व्यवहारको आरोप लगाउँदा नायिका मिरुना मगर आफैंले ‘ट्रोल’ हुनुपरेको थियो । सार्वजनिक स्थलमै भिक्षु फुर्बा लामालाई थप्पड हानेकी नायिकाले विरोधपछि माफी नै माग्नुपर्‍यो । लामाविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसूरमा मुद्दासमेत चलिसकेको थियो । यी घटनाले पनि अभद्र व्यवहारसम्बन्धी कसूरको दुरुपयोग भइरहेको देखाउँछ । 

‘मिसयुज’ बढेको छ : अधिवक्ता तिमल्सिना

अधिवक्ता विष्णु तिमिल्सना भद्रतापूर्वक नभएका सबै व्यवहार अभद्र व्यवहार भएको बताउँछन् । मोसो दल्नु, गालीगलौज गर्नु, हातपात गर्नुलगायतका कार्य अभद्र व्यवहारमा पर्ने उनले जानकारी दिए । शिष्टतापूर्वक नगरिएका व्यवहारलाई अभद्र व्यवहार भनिन्छ । ‘हरेक व्यक्तिको आ–आफ्नो मानमर्यादा हुन्छ । यो राज्यविरुद्धको अपराध हो । अभद्र व्यवहार सिधै समाजसँग जोडिएको हुन्छ । यसले समाजको शान्तिसुरक्षामा खलल पार्ने भएकाले सरकारले गम्भीरतापूर्वक लिन जरुरी छ’, उनले भने । केही समययता अभद्र व्यवहारसम्बन्धी कसूरको ‘मिसयुज’ भइरहेको उनले बताए । अन्य अपराधमा पक्राउ परेकालाई पनि हिरासतमा राख्न प्रहरीले अभद्र व्यवहारकै सहारा लिइरहेको तिमिल्सनाको भनाइ छ । प्रतिशोध साँध्न पनि अभद्र व्यवहार गरेको भनी आरोप लगाउने गरिएको छ ।

टिप्पणीहरू