छोरीचेली नै बर्बाद बन्न थाले झन्
पटक–पटक मरेर पुनर्जीवन पाएको मान्छे, सोचेको थिएँ नेपाली माटोमै केही गर्छु । मजस्तै पीडामा डुबेकाहरूको उद्धार गर्छु तर लक्ष्य मात्र पवित्र बोकेर के गर्नु ? खुराफातीहरूको दुनियाँमा टिक्न सकिनँ र भासिएँ विदेश ।
लाहुरेकी छोरी । जीवनमा केही कुराको कमी थिएन । जुन कुरा माग्यो बुबा–आमाले पुर्याइदिनुहुन्थ्यो । बुबा ब्रिटिश आर्मी । त्यही कारण जन्मिएँ ब्रुनाईमा । हुर्किएँ काठमाडौँँमा । बच्चाहरूले जे खोज्यो/माग्यो अभिभावकले त्यही कुरा सहजै पुर्याइदिँदा एउटा घर कसरी डढेर खरानी बन्दोरहेछ, त्यसैको उदाहरण हुँ म । सानैदेखि स्वभाव अलि भिन्नै । केटी भए पनि केटाजस्तो हुनुपर्ने, हिरोइज्म देखाउनुपर्ने । नयाँ वस्तु जे देख्यो त्यो प्रयोग गर्न मन लाग्ने । अरूले खाएका/नखाएका चिजको स्वाद चाख्न मन लाग्ने । मनमा एक खालको कौतुहलताले कुतकुत्याइरहन्थ्यो ।
बुबा–आमाकै व्यस्तताका कारण होस्टलमा राख्नुभयो, लाग्दो हो होस्टलमा छोरीले राम्रो पढ्छे । घर परिवारको नाम राख्छे । सनसाइन बोर्डिङ हाइस्कूलमा पढ्दाको पुरानो दिन कोट्याउँदा पछुतो लाग्छ । अब पछुतोमा आँशु चुहाएर पनि केही हुनेवाला छैन । जीवनका १७–१८ वर्ष यसैगरी बेहोसीमा बिताइएछ । अहिले महसुस गर्छु बुबाआमाबाट सन्तानलाई पैसा होइन, माया र चाहको खाँचो हुँदो रहेछ । अनेकन कारणले स्कूल परिवर्तन भइरह्यो । फेरिइरह्यो होस्टल ।
एभरेज थियो पढाइ । पढाइको अलावा नृत्य र करातेलगायत बाह्य विषयमा अगाडि थिएँ । यी विषयमा खुबै सक्रिय भएर लाग्थेँ । तर, होस्टल बसाइ मेरालागि निकै महँगो सावित भयो । म स्वतन्त्रता खोज्थें । तर, त्यहाँ बन्दीकोझैं जीवन थियो । ०५२ सालमा एसएलसी उत्तीर्ण भएँ । एसएलसी दिएपछिको खाली समय थियो त्यो । भर्खरै होस्टलबाट निस्कन पाएको । स्वतन्त्रता खोज्दै हिँडिरहेको । झण्डै १५ वर्षको किशोरी हुँदो हुँ ।
किशोरवय बिग्रने र भत्किने समय । खाली समयमा संगत केटाहरूसँग बाक्लै हुन थाल्यो । संगत गुनाको फल त हुने नै भयो । यो खायो भने के होला ? स्वाद कस्तो होला ? जिज्ञाशा लागिरहन्थ्यो । त्यसमाथि मतवाली जात, जाँडरक्सी चल्थ्यो । तिनैले सिकाए चुरोट तान्नदेखि ड्रग्स लिनसम्म ।
जीवनमा बानी पार्न पो सजिलो हुँदो रहेछ । बानी छुटाउन र पहाडै फोर्न साह्रै कठिन । उच्च शिक्षा आमाले जहाँ मन लाग्छ त्यहीँ पढ भन्नुभयो । युनिभर्सल साइन्स कलेज रोजेँ । तर, पढाइमा ध्यान थिएन । पछि शारदा एकेडेमीमा भर्ना भएँ । पैसा मात्र बर्बाद । पढ्न सकिनँ । दुर्ईवटा कलेजमा भर्ना गरेँ तर उच्च शिक्षा हासिल गर्न सकिनँ । त्यही बीचमा जोसँग ड्रग्स खाइन्थ्यो, तिनैमध्येका एकलाई हिरो देख्न थालेँ । रहरै रहरमा तिनैसँग दिल साँटियो । विवाह भयो । स्वतन्त्र रूपमा आकाशमा उडिरहेको चरालाई सुनको पिँजडामा थन्किएजस्तो भयो ।फिल्मी टाइपले उसलाई हिरो देख्थेँ । पछाडिको वास्तविकताचाहिँ बुझ्न सकिनँ ।
जबसम्म प्रेमसम्बन्धमा थिएँ, विन्दास लाग्थ्यो जीवन । विवाह बन्धनमा बाँधिएपछि स्वतन्त्रता खोसियो । सासू–ससुरालाई रिझाउनुपर्ने, आफन्तको मन राख्नुपर्ने । त्यो बेला इगोले भरिएँ । अहिले सोच्छु मान्छेहरू किन विवाहलाई ‘बन्धन’ भन्दा रहेछन् ! सासू–ससुरा नै लाहुरे । विवाहको केही वर्षपछि श्रीमान् पनि बिदेसिए । पैसा पठाउँथे । मनमौजी गर्थें । बीचमा दुर्ई छोरा भए । तर, मेरो आफ्नै संसार थियो । छोरा मैले जन्माएँ यद्यपि जिम्मेवारी लिएको थिइनँ । ती दुवै बच्चालाई आमाले हुर्काउनुभयो । १६ वर्षको उमेरदेखि ट्याबलेट प्रयोग गर्न थालेँ । शुरुमा त रमाइलै भयो, साथीहरूले नै खुवाउँथे । जब बानी लाग्यो अब साथीहरूलाई खुवाउनुपर्ने भयो । तर एक दिन खुवाइएला, दुर्ई दिन खुवाइएला सदैव ट्याबलेट खुवाउन कठिन थियो । बीचमा सडकमै आइपुगेँ ।
विवाह गरेको १५ वर्षसम्म श्रीमान् विदेश जाने÷आउने गरिरहे । मसँग सबथोक थियो । यद्यपि मन खुशी थिएन । तीन वर्षअघि समझदारीमै सम्बन्धविच्छेद भयो । यहीबीच रिह्याब सेन्टरमा गएँ । सुध्रिएँ पनि । तर, त्यहाँ बसुञ्जेल सुध्रिन्थेँ । फर्किएपछि फेरि उही नशामा डुबिहाल्थेँ । कतिसम्म भने रिह्याब सेन्टरमा एक वर्ष बसेर सुध्रिएपछि आवाज नामक संस्थामा जोडिएँ । त्यो महिलाकै हकहितमा काम गर्ने संस्था थियो ।
तर, पछाडि सो संस्थामा कार्यरत रहँदै गर्दा त्यहाँ आउने क्लाइन्टसँगै गएर खान थालेँ । म जति–जति भाग्थेँ उतिउति ड्रग्सलाई पछ्याइरहन्थेँ वा भनौं म जति ड्रग्सबाट भाग्न खोज्थेँ उति उति ड्रग्सले मलाई पछ्याइरहन्थ्यो । यसरी सुध्रिएको मान्छे फेरि कुलतमा फसेपछि काममा जान लाज लाग्यो । चार वर्ष गोदावरीमा आफ्नै कृषि फार्म चलाएँ । राम्रै पैसा कमाइयो । म फेरि नशामा डुबिसकेको थिएँ । त्यहाँबाट बाहिर आउनुपर्छ भन्नेचाहिँ एक मनमा लागिरहन्थ्यो ।
दुर्ई वर्षअगाडि टिआरजी फिमेल रिह्याब सेन्टरमा बस्न गएँ । यो त्यही सेन्टर हो जसलाई म आफैंले काउन्सिलिङ गरेर सुधारेको थिएँ । यसरी आफैंले सुधारेका बहिनीहरूले नै चलाएको सेन्टरमा बस्दा दिमाग क्लिक भयो । ओहो, रिह्याबमा बस्दैमा कोही पत्रु नै भएको भन्ने होइन रहेछ । परिवर्तन सम्भव रहेछ । त्यो मेरो परिवर्तनको समय थियो ।
त्यहाँ एक वर्ष भोलेन्टियर बसेँ । एक वर्षपछि सत्यम् रिह्याब सेन्टरमा पुगेँ । तर, पुरुष सञ्चालक रहेको रिह्याव सेन्टरमा महिला ड्रगिस्ट आएको भेट्थेँ । लाग्थ्यो, महिलाको समस्या पुरुषले बुझ्न सक्दैनन् । त्यहीँ एक वर्ष रहँदा महिलाका नाममा छुट्टै रिह्याव सेन्टर चाहिन्छ, त्यो म खोल्छु भन्ने मनमनै प्रण गरें । जीवनका १७/१८ वर्ष बेहोसीमा बितेछन् । अब पछुताएर त केही हुनेवाला छैन । आफैंसँगका सहपाठीमध्ये कोही ओभरडोजका कारण बिते । अब जीवन परिवर्तन गर्नुपर्छ भन्ने प्रण गरें ।
भनिन्छ, हरेक मान्छेले जीवनमा एक न एक पटक एउटा न एउटा ठक्कर खाएकै हुन्छ । त्यही ठक्करले ऊ परिवर्तन हुन्छ । हो, मेरो जीवनमा पनि यस्तै हावाहुण्डरी आयो । त्यही झोंक्काले कता हुत्तिएँ । आज आफू मात्र होइन, अरू छोरीचेलीलाई पनि सुधार्न तल्लीन छु । र, वर्ष दिनपछि नारायणस्थानमा पाँच लाख रुपैयाँँ लागतमा रिह्याब सेन्टर खोलेँ । यो सेन्टर खुलेको छोटो अवधिमै ५ सयभन्दा बढी महिला सुध्रने क्रममा छन् । एकपटक रिह्याब सेन्टरमा ल्याइएको छोरीचेलीलाई तिनका अभिभावक र लोग्नेले नै घर लान मान्दैनन् ।
आफ्नो बुबा–आमाले नै इज्जतको डरले छोरी÷चेलीलाई घर लान लाज मान्छन् भने लोग्नेको त परको कुरा भयो । जब आफ्नै बुबा आमाले छोरी÷चेलीलाई बिक्रीको सामानजस्तो व्यवहार गर्छन् भने अरूले झन् के गर्लान् ? पछिल्लो समय ड्रग्स ट्याबलेटको प्रयोग गर्नेमा किशोरी फस्दै गएका छन् । १४ वर्षबाट माथिका किशोर यस्तो सेवामा संलग्न छन् । एकातिर रिह्याब सेन्टर नै बदनाम छन् । रिह्याब सेन्टर नै यातना गृहमा रूपान्तरण हुँदै गएका छन् । गृह मन्त्रालय मातहत उपसचिवकै नेतृत्वमा लागुऔषध नियन्त्रण शाखा खोलिएको छ । यसको काम के हो ?
केही वर्षअघि ललितपुरस्थित महालक्ष्मी नगरपालिका–४ सीतापाखामा रहेको वि केयर लागुऔषध तथा पुनःस्थापना र सुधार केन्द्रमा उपचाररत दुव्र्यसनी सीताराम घिमिरेको मृत्यु भयो । उनलाई कुटपिट गर्ने सञ्चालक र म्यानेजर थिए छिरिङ ग्याल्जेन शेर्पा र सुनील खड्का । यसका अलावा केहीअघि बूढानीलकण्ठकै रिह्याब सेन्टरबाट युवतीहरू भागेर प्रहरीमा पुगेपछि त्यहाँ रहेका ५१ जनाको उद्धार गरिएको थियो ।
२०औं वर्षदेखि सञ्चालित रिह्याब सेन्टरमा समेत चरम मानसिक र शारीरिक यातना दिने गरेको भेटिएको छ । खै कसले गर्ने नियमन, नियन्त्रण ? दुव्र्यसनमा परेका परिवारका आफन्तलाई सुधार्न भन्दै मासिक २५ हजारसम्म शुल्क असुलिन्छ तर सुधारमा पठाइएको व्यक्तिमाथि रिह्याब सेन्टरभित्रै कुटपिट,हातपात र दुव्र्यवहार भइरहेको हुन्छ । यसरी त्यहाँ भोग्ने गरेको दुव्र्यवहारकै कारण एकातिर गएर हात काटिदिने वा अर्काेतिर गएर झुण्डिनेजस्ता घटना बढ्दै छन् । नियन्त्रण, नियमन कतैबाट छैन ।
केहीअघि नमस्ते उपकार सुधार केन्द्रमा झ्यालबाट बाहिर हेरे पनि गल्ती गरिस् भन्दै कुटिएको, गीत गुन्गुनाउँदा पनि चुटिएको घटना बाहिरियो । अनि कसरी सुध्रन्छ, सुधार केन्द्रमा मान्छे ? यस्तै बदनाम संस्थाहरूकै बोलबाला भएपछि इमान्दारीपूर्वक काम गर्न नसकिँदो रहेछ । लक्ष्य मात्र पवित्र भएर के गर्नु ? त्यसमाथि दुर्ई वटा बच्चाको लालनपालनको जिम्मेवारी काँधमा थियो । त्यही कारण चलिरहेको रिह्याब सेन्टर नै बेचेर मचाहिँ भासिएँ युकेतिर ।
– करुणा थापा
टिप्पणीहरू