चिनियाँ नेतालाई होटलमै सेकाइएको चर्चा

चिनियाँ नेतालाई होटलमै सेकाइएको चर्चा
सुन्नुहोस्

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस. जयशंकरलाई बढी महत्व दिन सरकारले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूलाई ‘लो प्रोफाइल’मा राखेको विषयले जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठकमा चर्चा पाएको छ ।

जयशंकर नेपाल आएकै दिन युन्नान प्रान्तीय कमिटीका स्थायी समिति उपसचिव सि युगाङ नेतृत्वको टोली सवा ४ बजे काठमाडौँ ओर्लिएको थियो । विश्व राजनीतिमा प्रतिष्पर्धी दुर्ई छिमेकी मुलुकका प्रभावशाली नेताको भ्रमण जुधाएर कूटनीतिक कमजोरी गरेको भन्दै सरकारको आलोचना भैरहँदा सत्तासाझेदार दलको शीर्ष बैठकमा त्यसबारे छलफल भएको हो । 

राष्ट्रिय सभा निर्वाचनका निम्ति उम्मेदवार छान्न आइतबार बसेको बैठकमा पटक–पटक परराष्ट्र मन्त्रीसमेत भैसकेका अध्यक्ष उपेन्द्रले असन्तुष्टी जनाउँदै भने – भ्रमण जुधाउनु सरकारको कूटनीतिक कमजोरी हो । त्यसक्रममा चिनियाँहरूसँग भ्रमण जुधाएकाले शुरुमा जयशंकर नेपाल आउनै आनाकानी गरेको सन्दर्भ पनि उठ्यो । पछि सरकारले एकदिन चिनियाँ टोलीलाई ‘लो प्रोफाइल’मा राखेर होटलमै थान्को लगाउने वचन दिएपछि उनी नेपाल आउन राजी भएको कुरा उपेन्द्रले बैठकमा सुनाए । 

संयोग कस्तो रह्यो भने, जयशंकर नेतृत्वको भारतीय प्रतिनिधिमण्डल र चिनियाँ टोली यौटै होटलमा बसेको थियो । नागपोखरीस्थित मेरियट होटलमा बसेका जयशंकर बिहीबार र शुक्रबार उच्चस्तरीय भेटघाटमा व्यस्त रहँदा चिनियाँहरू भने गोदावरी पार्क र ठमेल बजार घुमेर दिन कटाइरहेका थिए ।

अर्कोतिर आफू बसेकै होटलमा चिनियाँहरूलाई राखेकोमा असन्तुष्टी जनाउँदै जयशंकरले प्रधानमन्त्री प्रचण्डसँग आपत्ति जनाएको चर्चा पनि चलेको थियो । संसदीय समितिमा सांसदहरूले यसबारे प्रश्नसमेत गरे । प्रधानमन्त्रीले त्यसको पूर्णतः खण्डन गरे पनि दक्षिणको पाहुनालाई महत्व दिन सरकारले शनिबार राति नेपाल वायुसेवाको जहाजबाट मलेशिया उड्ने उत्तरको पाहुना टोलीलाई परराष्ट्रमार्फत् पत्र काटेर यात्रा रोकाउन खोजेको र आएपछि पनि उपेक्षा गरेको विषय सत्ता साझेदार दलकै बैठकमा उठ्नुले सामान्य संकेत गर्दैन । 

सरकारले चिनियाँलाई दुई दिन होटलमै थन्काएर राखेपछि शुरुमा नेपाल आउनै आनाकानी गरेका जयशंकर भ्रमणपछि भने खुशी भएर फर्किएको ब्रिफ पनि उपेन्द्रबाट भयो । त्यसमा दुईवटा कारण रहेको जसपाका नेताहरूले बताएका छन् । चिनियाँ टोलीलाई लो प्रोफाइलमा राखिएकोमा खुशी हुने नै भए । अर्कोचाहिँ, भारतले काठमाडौँस्थित दूतावासबाट विभिन्न परियोजनाका नाममा सिधै खर्च गर्दै आएको ५ करोड रकमलाई २० करोड पु¥याउन नेपाल सरकार सहमत भएकोमा हो । पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकाल २०५९ सालबाट शुरु भएको रकम बाँड्ने क्रम पटक–पटक बढ्दै जाँदा ५ करोड पुगेको थियो । आफू अनुकूल खर्च गराउन पाइने सो रकम २० करोड पु¥याउन भारतीयहरूले अलि अगाडिदेखि नै प्रस्ताव गरिरहेका थिए । यसपटक सरकारले त्यसमा सम्झौता गरेपछि जयशंकर प्रसन्न भएर बेंग्लोर हुँदै दिल्ली फर्किएको बताइन्छ । 

‘एउटा कुनै प्रोजेक्टमा २० करोड हाल्न पाउनु भनेको सामान्य कुरा हैन, एउटा वार्ड नै प्रभावित पार्न सक्ने त्यति धेरै रकमका लागि अब सिंहदरबार किन धाउनु प¥यो !, लैनचौर गए भैहाल्यो नि’, जसपाका एक नेता भन्छन्, ‘नेपालको राजनीति आफू अनुकूल बनाउन कसलाई खुशी पार्नुपर्ने हो उसलाई दिने गरेको रकम बढेपछि खुशी हुने नै भए ।’

उपेन्द्र आफैँले जयशंकरसँगको भेटमा भएका कुराकानीबारे भने बैठकमा केही बताएनन् । ‘भेटमा त्यस्तो डिटेल केही कुरा भएन’, उनले बैठकमा संक्षिप्त ब्रिफिङ गरेका थिए । मूलधारका भनिने कांग्रेस, एमाले, माओवादीका प्रमुख नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका जयशंकरले मधेश केन्द्रित जसपा, लोसपा र जनमत पार्टीका अध्यक्षहरू उपेन्द्र, महन्थ ठाकुर र सिके राउतसँग भने सामूहिक भेट गरे ।

राष्ट्रिय सभा चुनावमा सीट भागबण्डाका लागि गठबन्धन बैठकमा भएका गलफत्तीबारे पनि बैठकमा रिपोर्टिङ भएको थियो । ‘तीन दिनसम्म रस्साकस्सी भयो, अन्तिममा कांग्रेस र माओवादीले मात्रै बाँडेर लिए’, उपेन्द्रको भनाई उधृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘माधव नेपालहरू त फन्केर बैठकबाट हिँडेका थिए तर निर्णय यही भएपछि के गर्नु, उनीहरूले मान्लान्, हाम्ले पनि मान्नै प¥यो ।’ गठबन्धन दलको बैठकमा जसपाले ३ सीट दाबी गरेको थियो । तर, मधेश प्रदेशमा महिला कोटाबाट एक सीट मात्रै पाएपछि नेताहरूले अध्यक्षसँग सोधखोज गरेपछिको जवाफ थियो त्यो । भोटको हिसाब गरेर कांग्रेस र माओवादीले भागबण्डा गरेको र वस्तुगत अवस्थाले आफूहरू एक सीटमा चित्त बुझाउनुपर्ने बाध्यतामा रहेको उपेन्द्रको भनाई थियो ।

त्यस्तै, बाहिर चर्चामा आएजस्तो जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई सांसद मनोनीत गर्ने प्रष्ट सहमति नभएको पनि बैठकमा सुनाइयो । राष्ट्रपतिले मनोनीत गर्ने एक सीटमा के गर्ने भन्ने कुरा थियो, जनमोर्चाले हामीलाई चाहिन्छ भनेकोमा अरुले मोहनविक्रम नै आउने भए विचार गर्न सकिन्छ भनेका थिए’, उपेन्द्रले भने, ‘त्यसमा उहाँकी श्रीमती दुर्गाजी भए पनि हुन्छ भन्ने कुरा आउँदा पछि विचार गरौंला भन्ने कुरा भएको छ ।’ 

उम्मेदवार चयनका लागि बोलाइएको बैठकमा लामो समय त्यसैबारे छलफल हुने नै भयो । शुरुमा अध्यक्ष उपेन्द्रले महिला संघको अध्यक्षसमेत रहेकी सिराहाकी निर्मला यादव, जनकपुरकी उर्मिला साहलगायत ९ जनाको नाम आएकाले त्यसैबाट एकजनाको टुंगो लगाउनुपर्ने प्रस्ताव गरेका थिए । तर, पछि बोल्ने क्रममा अरु नेताले पनि नाम टिपाउँदै जाँदा दावेदारको संख्या बढ्यो । 

पूर्वमन्त्रीसमेत रहेकी रेणुकुमारी यादवले आफ्नो नाम आफैले टिपाइन् भने कार्यकारिणी सदस्य गोविन्द चौधरीले छोरी पूजाको नाम थप्न लगाए । गत निर्वाचनमा प्रदेश सभातर्फ लडेकी पूजा थोरै मतले हारेकी थिइन् । अन्तिममा रौतहट ३ (क) बाट पराजित उनलाई नै उम्मेदवार बनाउने उपेन्द्रले निर्णय गरे । 

टिप्पणीहरू