नास्तिक कम्युनिष्टको आस्तिकतातर्फ उडान

नास्तिक कम्युनिष्टको आस्तिकतातर्फ उडान
सुन्नुहोस्

एक जना रुसी विद्वान्ले भनेका थिए– अति उग्रपन्थीहरू अन्ततः अति दक्षिणपन्थमा रूपान्तरित हुन्छन् । केही पात्रको चरित्रलाई विश्लेषण गर्दै ती विद्वानले धेरै अगाडि गरेको यो व्याख्या नेपालको कम्युनिष्ट आन्दोलनमा ठ्याक्कै मेल खान्छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा प्रारम्भिककालमा वाम विचारधाराप्रति बढी उग्र पात्र र प्रवृत्ति नै दक्षिणपन्थी विचारमा छिटो रूपान्तरण भएको देखिन्छ । भारतको नक्सालवादी आन्दोलनबाट प्रभावित भएर ०२८ सालतिर झापामा ‘सामन्त सफाया’ को अभियान चलाउने तत्कालीन को–अर्डिनेशन केन्द्रका नेताहरू आज कहाँ छन्, दीर्घकालीन जनयुद्धबाट जनवादी सत्ता स्थापना गर्ने घोषणा गरेर हजारौँको बलिदानको जगमा उभिएको माओवादीका नेताहरू कहाँ पुगे ! अति उग्रवादी विचार कसरी अति दक्षिणपन्थी धारमा रूपान्तरित हुन्छ भन्ने बुझ्न कम्युनिष्ट आन्दोलनका यी दुर्ई धारको विगत र वर्तमान विश्लेषण गरे छ्यांगै हुन्छ ।

झापा विद्रोहको जगमा उठेको एमाले मदन भण्डारीले जबजमार्फत खुला र प्रतिस्पर्धाको राजनीति खुल्ला गरिदिएपछि आज संसदीय राजनीतिको पर्याय बनिसकेको छ । राजासहितको संसदीय राजनीति स्वीकार गर्ने अनौठो कम्युनिष्ट पार्टी पनि हो एमाले । बन्दुकको बलमा राज्यसत्ता कब्जा गर्न सशस्त्र युद्ध गरेको माओवादीको बैचारिक स्खलन झन तीव्र बेगमा भैरहेको देखिन्छ । विचार, सिद्धान्त र व्यावहारिक हिसाबले कतै मेल नखाने तहमा ऊ आज आफैँले दक्षिणपन्थी करार गरेको कांग्रेससँग दोस्ती कसेर सत्ताको स्वाद लिइरहेको छ । 

त्यसो त, समयक्रमसँगै राजनीतिक पार्टीहरूका दृष्टिकोण बदलिनुलाई सामान्य रूपमा लिनुपर्छ भन्ने तर्क पनि गर्न सकिएला । हो, निश्चय नै कुनै पनि राजनीतिक दर्शन धर्मशास्त्रको ठेली होइन, जो परिवर्तन गर्न नसकियोस् । तर, कतिपय आधारभूत मान्यता हुन्छन्, जसलाई सिद्धान्तबाट झिकिदिने हो भने मूल विशेषता नै रहँदैन । अब प्रश्न उठ्छ– सिद्धान्त त्यागेको हो भने पार्टी कार्यालयमा हँसिया–हथौडा अंकित झण्डा र ब्यानर किन राखेको ? पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद किन मानेको ? होइन भने त्यसअनुसारको व्यवहार किन नभएको ?

त्यसो त, नेपालका कम्युनिष्ट नेता वैचारिक मात्र नभई व्यावहारिक हिसाबले पनि तीब्र बिचलनमा छन् । पार्टी सञ्चालनदेखि निजी जीवनका दैनिक क्रियाकलापमा उनीहरूले बोकेको विचार र व्यवहार मिल्दो देखिँदैन । धर्मलाई अफिम भन्ने कम्युनिष्ट नेताहरू गेरुबस्त्र लगाएर मन्दिर छिर्छन् । प्रधानमन्त्री हुँदा विद्यालयको छानो हाल्ने, स्वास्थ्य चौकीको जग खन्ने कुराले भन्दा पशुपतिमा जलहरी चढाउने विषयले प्राथमिकता पाउँछ । 

पहिला वामदेव गौतमको आलोचना गर्दा शुरुमा ‘वाम’, त्यसपछि ‘देव’ अनि गौतम भएर बनबास लागेको भनी व्यंग्य गरिन्थ्यो । कम्युनिष्ट आन्दोलनको शुरुआती चरणमा विचारमा कट्टर रहेका गौतमको सत्तामा पुगेपछि कसरी बिचलन भयो भन्ने सन्दर्भमा गरिएको व्यंग थियो त्यो । गणतन्त्रका लागि १४ वर्ष जेल बस्नुभएका केपी ओलीले त माक्र्सवादभन्दा धर्मशास्त्रकै कुरा बढी गर्नुहुन्छ । दिउँसो पार्टीको बैठकमा मुठ्ठी उठाएर लालसलाम गर्ने उहाँ साँझ आरतीका लागि पशुपति पुग्नुहुन्छ । अहिले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सबैलाई माथ खुवाउने गरी धार्मिक हुनुभएको छ । 

प्रचण्डकै नेतृत्वमा भएको जनयुद्धका बेला सामान्य मान्छेले परम्परा, धर्मकर्ममा विश्वास ग¥यो भने कारबाही हुन्थ्यो । आज उहाँ आफैँ छिमेकी देशको औपचारिक भ्रमणमा गएका बेला गेरुबस्त्र लगाएर पूजापाठ गर्नुहुन्छ । राज्यको धर्म हुँदैन भन्ने प्रधानमन्त्री नै यसरी प्रस्तुत हुन थालेपछि धर्मको विकृति ल्याउने नै माओवादी हुन पुग्यो भन्न थालेका छन् मानिसहरू ।

हिजो धर्मप्रति नकारात्मक धारणा बाँड्ने कम्युनिष्ट नेताहरू नै उग्र धार्मिक बनेर निस्किएपछि देशमा इसाईकरण बढेको टिप्पणी पनि हुने गरेको छ । राष्ट्रियताको प्रश्नमा पनि कम्युनिष्ट नेताहरूको सत्तामा र सडकमा हुँदा दोहोरो चरित्र देखिने गरेको छ । नाकाबन्दी अगाडिसम्म दक्षिणको रोजाइको पात्र भनिएका केपी ओलीहरूको त कुरै छाडौँ, भारतविरुद्ध सुरुङ युद्धको घोषणा गरेका प्रचण्डसमेत दिल्ली खुशी भए मात्र ‘कम्फरटेबल’ सरकार चलाउन सकिन्छ भन्ने मानसिकतामा अघि बढेको देखिन्छ ।

टिप्पणीहरू