ग्यालेक्सी टेलिभिजनलाई यसरी डुबाइयो गल्र्यामगुर्लुम

ग्यालेक्सी टेलिभिजनलाई यसरी डुबाइयो गल्र्यामगुर्लुम
सुन्नुहोस्

तामझामसाथ खोलिएको ‘ग्यालेक्सी फोर–के’ टेलिभिजन अहिले भताभुंग बनेको छ । टेलिभिजन स्थापनाको तेस्रो वार्षिकोत्सव मनाउन नपाउँदै बन्द हुने अवस्थामा पुगेको छ । लामो समयदेखि तलब नपाएका पत्रकारले प्रशारण रोकेका छन् भने गीत मात्रै बजिरहेको छ । पाँच तारे होटल म्यारियटमा भव्य सम्मेलन गरेर २०७७ फागुनमा शुभारम्भ गरिएको टेलिभिजन केही व्यक्तिका लागि ‘लुटको स्वर्ग’ बन्दा चल्नै नसक्ने अवस्थामा पुगेको प्रष्टै छ । टेलिभिजन खोल्नका लागि अध्यक्ष गितेन्द्रबाबु राई अर्थात् जिबीले सहकारीबाट ल्याएको हजारौं सर्वसाधारणको पसिनाको कमाइ डुबेको छ । 

टेलिभिजनबाट चर्चा बटुलेपछि रंगीन दुनियाँ छोडेर राजनीतिमा होमिएका रवि लामिछानेमाथि विश्वास गर्दा जिबी कहीँ–कतैको बाँकी रहेनन् । ओखलढुंगाका जिबीले रविसँग साझेदारी गरेर खोलेको टेलिभिजन कसरी डुब्यो ? टिभी बन्द हुने अवस्थामा पुग्दासमेत रवि किन बोलिरहेका छैनन् ? टेलिभिजन सञ्चालनमा ल्याउँदा रवि नै प्रबन्ध–निर्देशक थिए । उनकै पछाडि लागेर जिबीले सहकारीको पैसा धमाधम टेलिभिजनमा ल्याएर खन्याए ।

जिबी सहकारी ठगीको मुद्दामा फरार भएपछि त्यहाँ कार्यरत पत्रकार भोकभोकै परेका छन् । तिनका अनुसार जिबीले पाँच वर्ष टेलिभिजन सञ्चालनका लागि एक अर्ब रूपैयाँ बजेट छुट्याएका थिए । त्यो पैसा एक वर्षमै झ्वाम्म भयो । ती पत्रकारले भने, ‘जिबीले पाँच वर्षका लागि पुग्ने बजेट छुट्याएका थिए । पाँच वर्ष नधाने पनि तीन वर्ष त धान्छ भन्ने थियो । टेलिभिजनले पनि अलिअलि इन्कम जेनेरेट गर्छ भन्ने सोचेका थिए । तर, एक वर्ष पनि धानेन । तीन वर्षलाई भनेको पैसा एक वर्षमै झारपझुरूप पारेर रवि निस्किहाले । त्यसपछि देखि नै ग्यालेक्सी टिभीमा समस्या देखिन थालिसकेको थियो ।’

त्यस्तै, टेलिभिजनको ‘स्ट्रक्चर’ निर्माणमा समेत रवि निकटले धेरै कमिसन खाएको पत्रकार बताउँछन् । ‘इस्ट्याब्लिस्मेन्ट कस्ट’ नै दोब्बर लागेको उनीहरूको भनाइ छ । नयाँ–नयाँ प्रविधिको नाममा समेत तिनले ठूलै चलखेल गरेका हुन् । दुर्ई लाखमा हुने कामका लागि आठ लाख रूपैयाँसम्म खर्च गरियो । रविको भर परेर ग्यालेक्सीमा आएका पत्रकारको यतिबेला बिल्लीबाठ भएको छ ।

ग्यालेक्सीमा न्यूज २४, एभिन्यूज, कान्तिपुर, हिमालय टेलिभिजनका पत्रकार भेला भएका थिए । स्रोतले भन्यो, ‘रविले जिबीलाई घर न घाटको बनाए । रविकै अनुहार हेरेर ठूल्ठूला टेलिभिजनमा काम गरिरहेकाहरू जागिर छोडेर आए । अहिले तिनको बिल्लीबाठ भएको छ ।’ ग्यालेक्सीले सातै प्रदेश र सबै जिल्लामा कर्मचारी राखेको छ । केन्द्रमा मात्रै १२६ जना कार्यरत छन् । सबैको लामो समयदेखिको तलब बाँकी छ । जिल्लामा नियमित तलब खानेभन्दा स्ट्रिञ्जरको रूपमा काम गर्ने धेरै छन् । उनीहरूको पनि पुरानो हिसाबकिताब बाँकी छ । सुदूरपश्चिम प्रदेशको जिम्मा हिक्मत रावल, कर्णालीको सुदिप पुरी, लुम्बिनीको रोशनमान श्रेष्ठ, पूर्वको राजु पौडेलले सम्हाल्दै आएका थिए ।

अधिकांशलाई रविले आफ्नै पार्टीमा लगिसकेका छन् । ग्यालेक्सीमा कार्यरत उत्तम पौडेल, विनिता कठायतलगायत राष्ट्रिय स्वतन्त्र पार्टीमा छन् । जिबीका अर्का साझेदार कुमार रम्तेल बाहिर हुञ्जेल जसोतसो तलब दिइरहेका थिए । सहकारी ठगीको आरोपमा उनी पक्राउ परेपछि पत्रकारहरूले भुक्तानी पाउन छोडेका हुन् । जिल्ला अदालत, कास्कीले पक्राउ पुर्जी जारी गरेपछि भूमिगत भएका जिबीको भने खोजी भइरहेको छ ।

उनको लगानी रहेको नेचर हब र नेचर नेस्टका प्रतिनिधिहरूले कहिलेकाहीँ सम्पर्क गर्ने गरेको पत्रकारहरूले बताए । जिबीले टेलिभिजनमा समस्या हुँदा आफ्नो विभिन्न कम्पनीबाट पैसा ‘ट्रान्सफर’ गरिदिन्थे । अहिले तलबका लागि पत्रकारहरूले गुहार्न सक्ने सम्बन्धित व्यक्ति कोही छैनन् । ‘पहिले यता समस्या हुँदा उताबाट पैसा हालिदिन्थे । हामीले पैसा नपाएपछि दबाब दिन्थ्यौं । उनीहरूले जताबाट भए पनि पैसा म्यानेज गरिदिन्थे । कुमारभित्र परेपछि धेरै समस्या भएको छ’, एक जना पत्रकारले सुनाए । 

टेलिभिजन डुबाउनमा यी दुईको भूमिका कति ? 

रविको पार्टीमा एकदमै चर्चामा आएको विषय हो, कोर टिम । त्यसैगरी, ग्यालेक्सीमा पनि कोर टिम रहेको पाइएको छ । उक्त टिममा रविकी पत्नी निकिता पौडेल, दीपक बोहोरा र विपिनकुमार आचार्य छन् । टेक्नोलोजीको विषयमा राम्रो जानकारी भएका विपिन र दीपकले सामान खरिदमा धेरै कमिसन खाएको पत्रकारको दाबी छ ।

 

लाख पर्ने सामान करोडमा र एक करोड पर्ने सामान १० करोडमा खरिद गरिएको उनैले बताए । विपिन ग्यालेक्सीमा क्रियटिभ डाइरेक्टर थिए । उनको आफ्नै छुट्टै प्रोडक्सन हाउस पनि छ । त्यससँगै उनको अन्य थुप्रै कम्पनी छ । विपिनले ग्यालेक्सीमा ‘फ्रयान्चाइज प्रोग्राम’ गर्ने भनेर करोडौं खल्तीमा हाले । न प्रोगाम शुरु भयो न उनले त्यो पैसाको हिसाबकिताब नै देखाए । खर्च गर्थे जिबी, कमाउँथे उनी । उनले ग्यालेक्सीको कर्मचारी परिचालन गरेर आफ्नो प्रोडक्सन हाउस चलाइराखेका थिए । जुन जिबीले पत्तो नै पाएनन् । खर्च ग्यालेक्सीको नाममा हुन्थ्यो, आम्दानी उनको खातामा जान्थ्यो ।

स्रोतका अनुसार जिबीले खुरुखुरु पैसा दिन्थे । उनी आफ्नो अन्य व्यवसायमा व्यस्त हुने भएकाले टेलिभिजनको आर्थिक हिसाबकिताब हेर्न भ्याउँदैनथे । उनले पैसा हाल्दै गए, त्यो पैसामा केहीको मोजमस्ती चल्यो । ग्यालेक्सीमा पानीजस्तै पैसा बगाइयो तर अन्तिममा बन्द भयो ।’ ग्यालेक्सी टेलिभिजनमा ‘द लिडर’ नामक रियालिटी शो सञ्चालन गर्ने नाममा करोडौं रूपैयाँ कुम्ल्याइयो । सञ्चालन नहुँदै विवादमा आएको कार्यक्रमका लागि विपिनमार्फत उठाइएको एक–एक हजार रूपैयाँको कुनै लेखाजोखा छैन । यता, विपिनले भने आफूमाथि लागेको सबै आरोप नकारेका छन् । 

उनले आर्थिकसँग जोडिएको विषयमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरे । क्रियटिभिटीबाहेकका क्रियाकलापमा आफ्नो कुनै लेनदेन नभएको उनले सुनाए । उनी भन्छन्, ‘क्रियटिभिटीसँग जोडिएको क्रियाकलाप मात्र मैले गर्दै आएको थिएँ । प्रोग्राम बनाउने व्यक्ति कसरी आर्थिक मामिलासँग जोडिन्छ ? त्यहीमाथि पनि मैले जागिर छोडेकै एक वर्ष भइसकेको छ ।’
 

टिप्पणीहरू